१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भावस्थामा मानसिक समस्या र समाधानका उपाय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

महिलाका लागि गर्भावस्था अत्यन्त महत्वपूर्ण हुन्छ । विवाहपछि गर्भ रहँदा प्रायः महिला उत्साहित र खुसी हुन्छन् । तर, गर्भावस्थामा उनीहरू विभिन्न प्रकारका तनावबाट समेत गुज्रेका हुन्छन् । यस्तो वेलामा हर्माेन परिवर्तन हुने हुँदा महिलामा सबैभन्दा बढी मानसिक समस्या देखिन्छ । मानसिक समस्याले गर्दा कतिपय महिला आत्महत्या गर्ने अवस्थासम्म पुग्ने जोखिमसमेत रहन्छ । यो अवस्था निकै संवेदनशील पनि हुन्छ । त्यसैले यस्तो अवस्थामा महिलाले आफ्नो स्वास्थ्यमा विशेष सावधानी अपनाउन जरुरी हुन्छ । सामान्यतया मानिसहरूले गर्भावस्थामा महिलामा डिप्रेसन हुनुको पहिलो कारण उनीहरूमा विकसित हुने हर्मोनलाई लिने गर्छन् । तर, यससँगै जीवन जिउने शैली र आफू आमा बन्दै छु भन्नेमा डर, उत्सुकता, उदासीनता, निराशा, तनावजस्ता कुराले पनि भूमिका खेलिरहेको हुन्छ । त्यस्तै, महिलामा बच्चा जन्माएपछि पोस्टपार्टम डिप्रेसन पनि देखा पर्ने गरेको पाइएको छ ।

कारण
- कसैको जीवनसाथी गैरजिम्मेवार पनि हुन सक्छन् । उनीहरू असहयोगी वा अपमान गर्ने खालको भएमा गर्भावस्थामा यस्तो समस्या देखा पर्ने गर्छ ।
- समाजको उचित सहयता र सहयोग नभएको अर्थात् विभिन्न शारीरिक रोगबाट ग्रसित भएका महिलामा पनि यस्तो समस्या हुने सम्भावना हुन्छ ।
- विनायोजना गर्भ रहेमा आमामा मानसिक समस्या देखिन सक्छ । 
- मानिसलाई उसको आर्थिक अवस्थाले पनि ठूलो भूमिका निर्वाह गर्छ । अर्काे, आर्थिक रूपमा सक्षम नभई गर्भ रहेको अवस्थामा यस्तो समस्या देखा पर्न सक्छ ।
- परिवारका कोही सदस्यलाई डिप्रेसन भएमा पनि यस्तो समस्या देखिन्छ । 
- बाँझोपनको उपचार गराएको अवस्थामा वा पहिलो गर्भ तुहिएमा वा विभिन्न तनावयुक्त घटनाका कारण पनि मानसिक समस्या हुन्छ । 
- पेटभित्र रहेको शिशुको अवस्था जटिल भएमा पनि यस्तो समस्या देखिन्छ । 
- महिलाहिंसा वा मानसिक आघात पार्ने घटना घटेको अवस्थामा पनि उनीहरू मानसिक समस्याबाट ग्रसित हुन सक्छन् ।

लक्षण
- धेरै थकित हुने, जिउ भारी भइरहने, दिक्क लागिरहने र सधैँ उदास रहने । 
- कहिलेकाहीँ आफ्नो पेटमा गर्भ नै नरहेको भए हुन्थ्यो भन्नेजस्ता भावना मनमा खेल्ने ।
- खाने शैलीमा परिवर्तन हुनु, खानाप्रति रुचि हराउँदै जाने । 
- मुड स्थिर नहुने, अकस्मात् मुड परिवर्तन भइरहने । 
- दिमागमा नकारात्मक सोच मात्र आइरहने । 
- निद्रामा असन्तुलन हुनु, निद्रा निकै बढी वा निकै कम लाग्ने । 
- दुःखी भइरहनु, आफूलाई नै आफ्नो वशमा राख्न नसक्ने । 
- निर्णय लिन अप्ठ्यारो हुनु, बच्चाको जन्मपछि हेरविचारमा समस्या देखिने ।
- आफ्नो इच्छाको काममा समेत ध्यान कम जाने । 
- कहिलेकाहीँ आत्महत्याको विचारसमेत आउने । 
- आफ्नो जिन्दगीलाई बेकाम महसुस गर्नु वा जन्मिएकोमा पश्चाताप लाग्ने । 

समाधान
- यसबाट बच्न सकारात्मक समूहमा आफ्नो कुरालाई खुलेर व्यक्त गर्न सक्ने बानीको विकास गर्नुपर्छ ।
- परिवारमा विशेष गरी श्रीमान्ले राम्रोसँग हेरचाह गर्न आवश्यक हुन्छ । 
- मानसिक तथा आर्थिक रूपमा तयार भएर मात्र गर्भधारण गर्नुपर्छ ।
- यस्तो समस्या आएमा मनोचिकित्सकसँग परामर्श लिने र आवश्यक परेमा औषधिकै सेवन गर्नुपर्छ । विभिन्न थेरापी गरेर पनि यस्तो समस्याबाट टाढा रहन सकिन्छ ।
- प्रशस्त मात्रामा पानीको सेवन गर्न जरुरी हुन्छ ।
- सन्तुलित भोजनमा पनि ख्याल गर्नुपर्छ । र, दैनिक योग ध्यान गर्ने, शारीरिक अवस्थाअनुसार व्यायाम गर्नेजस्ता गतिविधिलाई निरन्तरता दिनुपर्छ ।
- गर्भावस्थामा आमाले गर्ने हरेक व्यवहारको प्रत्यक्ष प्रभाव पेटमा हुर्कंदै गरेको शिशुमा पर्ने गर्छ । यतिसम्म कि आमाले कस्तो सोच राखेको हुन्छ, त्यसको समेत प्रभाव शिशुमा परिरहेको हुन्छ । त्यसैले यस्तो अवस्थामा आमा शारीरिक, मानसिक र भावनात्मक रूपमा समेत स्वस्थ रहन आवश्यक हुन्छ । यसको वातावरण परिवारले पनि मिलाउनुपर्छ । सकेसम्म गर्भावस्थाका महिलालाई कुनै प्रकारको तनाव दिनुहुँदैन । 
- यस्तो अवस्थामा संगीत सुन्ने, उत्प्रेरणामूलक र आध्यात्मिक पुस्तक पढ्ने बानी गर्नुपर्छ ।

ad
ad