१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:११:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आयुर्वेद चिकित्सा : नागरिकमा आशा, सरकारी बेवास्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:११:oo

पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको आशा बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७९/८० मा ४१ हजार तीन सय ५० बिरामीले आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरूबाट उपचार तथा औषधि सेवन गरेका छन्। 

आर्थिक वर्ष ०७८/७९ मा ३७ हजार पाँच सय ६ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष ०७८/७९ मा भन्दा आर्थिक वर्ष ०७९/८० मा तीन हजार आठ सय ४४ जनाभन्दा बढी बिरामीले सेवा लिएको स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक चन्द्रप्रसाद भुसालले जानकारी दिए।

जिल्लामा एक आयुर्वेद स्वास्थ्य केन्द्र, पाँच औषधालय, चार नागरिक आरोग्य सेवा केन्द्र र एउटा विस्तारित सेवा छन्। 

आयुर्वेदमा नागरिकको आकर्षण बढ्दै गए पनि सरकारको बेवास्ताका कारण आयुर्वेद स्वास्थ्य केन्द्र, औषधालय र आरोग्य केन्द्रको अवस्था बिजोग बन्दै गएको छ। सरकारले स्राेत र साधनविना गाउँपिच्छे औषधालय र आरोग्य केन्द्रहरू स्थापना गरेकाले व्यवस्थापनमा निकै मुस्किल देखिएको छ। इस्मामा केन्द्र स्थापना गरेका दुई वर्ष पुग्याे।

विद्यालयको कोठामा केन्द्र छ। खानीपानीको राम्रो प्रबन्ध छैन। कम्प्युटर र इन्टरनेटको सुविधा नहुँदा राम्रो कार्यसम्पादन गर्न नसकिरहेको निमित्त प्रमुख बस्यालले गुनासो गरे। 

नसर्ने रोगहरूको समस्या बढ्दै गएपछि समाजमा योगध्यान, खानपान, स्वास्थ्य परीक्षण र वातावरणीय सरसफाइको क्षेत्रमा काम गर्न सरकारले आरोग्य केन्द्र स्थापना गरेको हो। गत वर्ष एकजना सहयोगी र एकजना प्राविधिकको व्यवस्था थियो। तर, अहिले सहयोगी हटे। प्राविधिकले समेत स्केलअनुसार पारिश्रमिक पाउँदैनन्। 

आयुर्वेद केन्द्रका निमित्त प्रमुख बस्यालका अनुसार दरबन्दीअनुसार कर्मचारी छैनन्। जिल्लाकै स्वास्थ्य केन्द्रमा सातजनाको दरबन्दीमा तीनजना मात्रै स्थायी छन्। जिल्लाकै दरबन्दी पुनरावलोकन गर्नुपर्ने अवस्था छ। 

आयुर्वेद स्वास्थ्य केन्द्रसँगै स्थापना भएका अस्पताल स्तरवृद्धि भएर ५० शय्याका हुँदा आफूहरूको अवस्था फेरिन नसकेको बस्यालले बताए। आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि चिकित्सक छैनन्। केन्द्रमा सरुवा भएका अर्जुराज शर्मा अध्ययन बिदामा छन्। 

दरबन्दीअनुसारको चिकित्सक र अप्रेसन थिएटर नभएका कारण पायल्सका बिरामीहरूलाई जिल्लाबाहिर रेफर गर्ने गरिएको केन्द्रले जनाएको छ। क्षारसूत्र विधिबाट पायल्सको उपचार गर्न सकिने अवस्था भए पनि जनशक्ति र उपकरण नभएका कारण नागरिकले ४० देखि ६० हजार खर्च गरेर बाहिर उपचार गर्ने गरेका छन्। 

केन्द्रमा समेत योगहाउस छैन। १२ देखि १५ जनाको क्षमता भएको कार्यालयको हलमा योग हुँदै आएको छ। त्यस्तै आयुर्वेदिक औषधि चूर्ण उत्पादन गर्न वार्षिक ७५ हजार मात्रै बजेट छ। नागरिकस्तरमा सबैभन्दा बढी माग चूर्णमा छ। तर, बजेटअनुसार चार महिनालाई थेग्ने औषधि पनि हुँदैन। गत वर्षभन्दा अहिले ४० प्रतिशत बजेट सबै शीर्षकमा घटेर आएकाले व्यवस्थापनमा निकै समस्या छ। 

आयुर्वेद केन्द्रमार्फत पूर्वपञ्चकर्म, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, प्रयोगशाला जाँच, औषधि वितरण तथा स्वास्थ्य शिक्षा प्रवर्द्धनतर्फ योग तथा जीवनशैली परिवर्तनसम्बन्धी तालिम र गृहणीहरूका लागि भान्सा सुधार कार्यक्रम गर्दै आएको छ। 

केन्द्रले आर्थिक वर्ष ०७९/८० मा भौतिक प्रगति शतप्रतिशत र आर्थिक प्रगति ९३.७ प्रतिशत गरेको छ। जिल्लाभरमा औषधालयतर्फ रिडी आयुर्वेद औषधालय र आरोग्य केन्द्रतर्फ छत्रकोट नागरिक आरोग्य सेवा केन्द्र उत्कृष्ट भएका छन्। 

स्वास्थ्य कार्यालय गुल्मीमा निमित्त प्रमुख पशुपति आचार्यले सबै स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनको बाटाहरू फरक भए पनि उद्देश्य एउटै भएकाले समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष धर्मराज पाण्डेयले तीनै तहबाट आयुर्वेदको क्षेत्र उपेक्षामा परेकाले थप व्यवस्थापनका लागि स्थानीय तहहरूको भूमिका र सहयोग वृद्धि गर्ने गरेर योजना बनाइएको बताए। 

जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले स्थानीय तहमा सर्वपक्षीय समन्वय नभएका कारण परिणाम राम्रो आउन नसकेको बताए। उनले माथिल्ला सरकार र निकायले केन्द्रहरू मात्रै स्थापना नगरेर नहुने भएकाले स्राेत र साधन आवश्यक रहेको बताए। 

ad
ad