
मोक्षदा स्कुल र साबिक विजेता सैनिक आवसीय महाविद्यालय जयकुमारनाथ शाह मेमोरियल यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यस्तै, गेटवे एकेडेमी र देव सुशील केडिया विश्व भारती स्कुल ‘ए’ ले अन्तिम चारको यात्रा तय गरे । अब, सेमिफाइनलमा मोक्षदाले गेटवेको सामना गर्नेछ । शनिबारै माथिल्लो मूलपानी मैदानमा सम्पन्न क्वार्टरफाइनलमा मोक्षदा स्कुलले नेपाल पुलिस स्कुललाई चार विकेटले हरायो ।
पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मोक्षदाले दुई बलअघि ६ विकेट गुमाउँदै जित निकालेको हो ।
मोक्षदाका प्लेअफ अफ दी म्याच ईशान साह सुवेदीले ९५ रन बनाए । ओपनर ईशानले ७० बलमा १० चौका प्रहार गरेका थिए । अर्का ओपनर नितेश बुढाथोकीले ४४ रनको योगदान गरेका थिए ।
यसअघि पुलिसका लागि ओपनर श्यामबाबु थाकुरले ३१, राजप्रताप यादवले २१ तथा कृष्ण यादवले २० रनको योगदान गरेका थिए । मोक्षदाका नितेश र आलोककुमार साहले समान दुई तथा अभिकुमार सिंह राजपुत, ईशान र रिसु साह सुवेदीले समान एक विकेट लिएका थिए ।