
असल पत्रकारिताले सत्ताको कामकारबाहीमाथि प्रश्न उठाउँछ, उनीहरूलाई थप हिंसाका लागि उक्साउँदैन
युद्धमा सधैँ सत्य पहिलो निसानामा पर्ने गर्छ । इसापूर्व छैटौँ शताब्दीमा ग्रिक वियोगान्त नाटककार एस्किलसले यो उद्धरण व्यक्त गर्दा सम्भवतः उनको संकेत त्यसवेला लेखनको मुख्य माध्यम रहेको ‘स्क्रोल’ र मौखिक रूपमा राज्यबाट फैलाइने प्रोपोगान्डाप्रति हुन सक्छ । तर, त्यसवेला एकदमै सरल समय थियो । कतिपय अवस्थामा राज्यले फैलाएका असत्य र झुटलक्षित समूहले नबुझ्ने अवस्थासमेत हुन्थ्यो ।
तर, २१औँ शताब्दीको अवस्था फरक छ । अहिले सूचना प्रणाली कुनै भौगोलिक सीमाभित्र कैद गर्न सकिँदैन । विशेषगरी ७ मेपछिको समयमा भारतीय सूचना प्रणालीबाट जुन खालको मिथ्या सूचना बाहिरियो, त्यो अविश्वसनीय मात्र होइन पागलपनपूर्णसमेत देखियो ।
२२ अप्रिलमा कस्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा २६ जनाको ज्यान गएपछि भारतीय सेनाले पाकिस्तानी भूमिमा हवाई हमला गर्यो । जवाफमा पाकिस्तानले पनि हवाई फायर गर्यो । यसले दुई आणविक अस्त्र सम्पन्न एसियाली देश युद्धको सँघारमा पुगे । तर, अति संवेदनशील अवस्थामा भारतीय मिडिया त्यसमा पनि भारतीय न्युज टिभीहरू भने युद्धको ढोल बजाउन उद्यत भए । तिनले पाकिस्तानमाथि थप बदलापूर्ण आक्रमणको माग गरिरहे । केही टेलिभिजनका न्युज एंकरले २५ करोड जनसंख्या भएको पूरै देश (पाकिस्तान)को समूल विनाशको आह्वानसमेत गरेको सुनियो । आणविक अस्त्र भएको दुई देशबिचको युद्धलाई प्रोत्साहन गर्न आखिर कस्तो दिमाग चाहिन्छ ? कल्पना मात्र गर्न सकिन्छ ।
विवेकलाई उग्रवादको बर्कोले नढाकेको भए समाचारवाचकले युद्धको पक्षमा ढोल पिट्ने थिएनन् । बरु, सीमाको दुवै छेउका मिडियाले पहिले नै अस्थिर रहेको परिस्थितिलाई मत्थर पार्ने प्रयासमा सञ्चार पुलको काम गर्ने थिए । पत्रकारिता तथ्यहरूमा निर्भर हुन्छ, कल्पनामा होइन । वास्तविक पत्रकारिताले सत्ताको कामकारबाहीमाथि प्रश्न उठाउँछ, उनीहरूलाई हिंसाका लागि थप उक्साउँदैन । सही पत्रकारिताले राज्यले पेस गरेको तथ्यलाई खुरुखुरु प्रसारप्रचार गर्दैन, बरु त्यसमाथि अनुसन्धान गर्न खोज्छ । सबैभन्दा महत्वपूर्ण कुरा असल पत्रकारिता भनेको सत्य बोल्नु र अर्को पक्षको विचार बुझ्ने प्रयास गर्नु हो । विशेषगरी द्वन्द्वको समयमा यो झन् महत्वपूर्ण हुन्छ, किनकि यस्तो समयमा सानोभन्दा सानो गलत बुझाइले ठुलो मूल्य चुकाउनुपर्ने अवस्था निम्त्याउन सक्छ ।
गलत रिपोर्टिङले आतंक पनि सिर्जना गर्न सक्छ । यसले तत्काल कारबाहीमा अघि बढ्न दबाब सिर्जना गर्छ । परिणामस्वरूप प्रतिद्वन्द्वी पक्ष गलत कदम चाल्नुअघि सोचविचार गर्नतर्फ नलागी प्रतिक्रिया जनाउन उद्यत हुन सक्छ । यसले थप गम्भीर परिणाम निम्त्याउन सक्छ । त्यसबाहेक आफ्नो पक्षका मानिसलाई आवश्यक रूपमा सूचित राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसले तिनलाई आफ्नो सुरक्षाबारे उचित निर्णय लिन सघाउँछ ।
जर्मनीमा मुख्यालय रहेको ‘फ्रेडरिक नोम्यान फाउन्डेसन फर फ्रिडम’द्वारा प्रकाशित द्वन्द्व–संवेदनशील रिपोर्टिङसम्बन्धी पुस्तिकाअनुसार द्वन्द्वको समयमा मिडियाले सहमति निर्माण, बाहिर फैलिएका गलत धारणाबारे सही तथ्य पस्किने र अर्को पक्षलाई मानवका रूपमा प्रस्तुत गर्नेलगायत अन्य भूमिका खेल्नुपर्छ । विश्वसनीय, प्रमाणित जानकारी अभाव, गलत सूचनाको बिगबिगीले द्वन्द्वलाई बढाउँछ । वास्तविक समयमा के भइरहेको छ भनेर जान्न गाह्रो पर्नेछ ।
सत्य प्रसार गर्नु त परको कुरा भारतीय मिडियाले पछिल्लो केही दिन पूर्ण रूपमा कल्पित र बनिबनाउ घटनामाथि समेत रिपोर्टिङ गरेको देखियो । मूलधारका प्रसारण मिडिया सरकारले प्रस्तुत गरेका तथ्यलाई थप बढाइचढाइ गरेर अर्को पक्षलाई अमानवीकरण गर्नेमा केन्द्रित देखियो । सबैभन्दा अविश्वसनीय कुरा यसबिच कैयौँ प्रगतिशील देखिने आवाज पनि युद्ध र बदलाको नारा उराल्ने भिडमा मिसिन र उही झुटलाई अगाडि बढाउन उत्सुक देखिए ।
यी सबैले प्रश्न उठाउँछ– के यो सबै रिपोर्टिङ टेलिभिजन रेटिङ (टिआरपी) बढाउने होडले निम्त्याएको परिणाम हो ? यो हुन पनि सक्छ । तर, सम्भवतः यो आमजनताको ध्यान सरकारका कमीकमजोरीबाट अन्यत्र मोड्ने कुराले पनि प्रेरित हुन सक्छ । सायद मिडियाहरू आफ्ना देशवासीमाझ आफ्नो देशले जितिरहेको छ भन्ने छाप सिर्जना गर्ने मनोवैज्ञानिक अभियानमा जोडिए कि ? पछिल्लो प्रकरणपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकका नजरमा भारतीय मिडियाको विश्वसनीयता र नैतिक वैधतामा पनि दाग लागेको छ ।
मूलधारका पत्रकारहरूले सत्तारूढ दलको प्रचार शाखा बनेर सीमापारिका मानिसप्रति घृणा फैलाउने कार्यले तिनलाई अहिलेको स्थितिमा ल्याइपुर्याएको छ, जहाँ एकातिर तिनले विश्वसनीयता गुमाएका छन्, अर्कोतर्फ तिनको सत्य बाहिर ल्याउने र त्यसलाई व्यक्त गर्ने साहसमा क्षय भएको छ । यस्तोमा पत्रकार केवल कलम चलाउने पात्रमा सीमित हुनेछन् । ।
– साहजेब अहमद इस्न्टिच्युट अफ बिजनेस एडमिनिस्ट्रेसनका लेक्चरर हुन् ।
द डनबाट