१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीका गुम्बामा होटेलसरहको सुविधा दिएको भन्दै होटेल व्यवसायीको विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३६:oo

लुम्बिनी विकास कोषभित्रका गुम्बाहरूमा होटेलसरहको सुविधा दिएर सञ्चालन गर्ने वातावरण नबनाउन लुम्बिनी क्षेत्रका होटेल व्यवसायीले आग्रह गरेका छन् । करोडौँ लगानी गरेर सञ्चालन गरिएका पर्याप्त होटेल हुँदाहुँदै गुम्बाको नाममा व्यवसाय गर्न नपाइने भन्दै उनीहरूले विरोध गरेका हुन् ।  

लुम्बिनी होटेल संघ नेपालको पाँचाैँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कुनै पनि हालतमा कोषभित्र गुम्बाको नाममा होटेल सञ्चालन गर्न नहुने बताए । कोषले गलत काम गरे आन्दोलनमा जाने उनले चेतावनी दिए । लुम्बिनी विकास कोषभित्रका गुम्बाहरूमा होटेलसरहको सुविधा दिएर सञ्चालन गर्ने र व्यवसायीजस्तै करको दायरामा ल्याउने भए सबै होटेल व्यवसायीलाई विकास कोषले ठाउँ दिनुपर्ने उनको भनाइ थियो ।  

अध्यक्ष ज्ञवालीले बैंकको ज्यादतीका कारण होटेल व्यवसाय डुब्ने स्थितिमा गएको बताए ।  देशमा आर्थिक संकट हुँदा पनि बैंकको ज्यादती कायम रहेकाले होटेल लिलाम भएको र हुने क्रममा रहेको उनको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले देशको अवस्था जर्जर रहेकाले समस्या समाधान गर्न हरेस नखाई आर्थिक विषयमा संवाद गर्न जरुरी रहेको बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सपना देखाएर निजी क्षेत्रले धेरै लगानी गरकोमा अहिले लगानी डुब्ने स्थितिमा रहेको उनको भनाइ थियो । सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निजी क्षेत्रले पर्यटन व्यवसायमा गरेको लगानीबाट अहिलेसम्म प्रतिफल प्राप्त नभएको बताए । 

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके)ले देशलाई उद्योगी–व्यवसायीले जोगाएको बताउँदै उनीहरूको संरक्षण गर्नु सरकारको दायित्व रहेको बताए । लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराईले लुम्बिनीमा पर्यटकको आगमन बढेकाले पर्यटन क्षेत्रमा सुधार देखिएको बताए । 

होटेल संघको अध्यक्षमा पुनः ज्ञवाली
लुम्बिनी होटेल संघको अध्यक्षमा दोस्रो कार्यकालका लागि गोविन्दप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । दुईवर्षे कार्यकालका लागि संघको वरिष्ठ उपाध्यक्षमा लीलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरणप्रसाद कँडेल, सचिव भूपेन्द्र गुरुङ र सहकोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएका छन् । यस्तै, सदस्यमा टीकाकुमारी कट्टेल, पदमा न्यौपाने, दीपक पंगेनी, एकराज कँडेल (सागर), कृष्णबहादुर, जगत थापा, धीरज भण्डारी र प्रदीप भट्टराई निर्वाचित भएका छन् ।

ad
ad