१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कोरियन एयरलाई नेपाल उडानमा प्रतिबन्ध लगाइँदै

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२२:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई कोरिया उडानको अनुमति नदिए कोरियन एयरलाई काठमाडौं उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कोरियाको नागरिक उड्डयन निकायले नेपाली वायुसेवालाई कोरिया उडानको अनुमति दिन आनकानी गरेपछि क्यानले विन्टर सेड्युलदेखि कोरियन एयरलाई उडानमा रोक लगाउने निर्णय गरेको हो । 

कोरियन एयरको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएस) युनिभर्सल ट्राभल्सलाई हिउँदको सिजनलाई टिकट बिक्री नगर्न मौखिक जानकारी गराइसकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । अहिले कोरियन एयरले नेपालमा साताको चारवटा उडान गर्दै आइरहेको छ । निगमले काठमाडौं–कोरिया–काठमाडौं उडानको प्रक्रिया अगाडि बढाएपछि कोरियाको उड्डयन निकायले पटक–पटक कहिले नेपालको सेफ्टी अडिट गर्नुपर्ने, कहिले निगमको अडिट गर्नुपर्ने, कहिले क्यानको अडिट गर्नुपर्ने भन्दै झुलाइरहेको छ । कोरिया–काठमाडौं उडानमा एकाधिकार कायम राखेर कोरियन एयरले यात्रुसँग महँगो भाडा उठाउँदै आइरहेको छ । अहिले कोरियन एयरले डेढ लाखसम्म टिकटको भाडा लिने गरेको छ ।

२९ अक्टोबर २०२३ देखि कोरियन एयरको काठमाडौं उडान रद्द हुन सक्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘बीचमा केही नयाँ निर्णय भए फ्लाइट नियमित हुन पनि सक्छ, अहिलेलाई कोरियन एयरको उडानमा रोक लगाउने निर्णय भएको छ,’ उनले भने, ‘आगामी सिजनका लागि अहिले टिकट बुकिङ नगर्न जिएसए कम्पनीलाई जानकारी गराइसकेका छौँ, एक–दुई दिनमा पत्राचार पनि गर्छौँ ।’ अडिटको नाममा कोरियाको उड्डयन निकायले पटक–पटक ब्ल्याकमेलिङ गरिरहेको क्यानको ठहर छ ।

निगमले पाँच वर्षअघि कोरिया उडानका लागि प्रक्रिया अगाडि बढाएको हो । तर, कोभिडको समयमा उद्धार उडान गर्नसमेत निगमलाई अनुमति नदिएको बताइएको छ । कोरियाले एयर सर्भिस एग्रिमेन्ट पालना नगरी एकाधिकार कायम गर्न खोजेको देखिन्छ । कोरियाले अडिट गर्न आउँछौँ भनेपछि १५ मे २०२३ पछि आउनु भनेर निगमले पर्यटन मन्त्रालयमार्फत पत्राचार पनि गरेको थियो । तर, अहिलेसम्म कहिले आउने भनेर मितिसमेत तोकेको छैन । निगमले सातामा तीनवटा फ्लाइट उडान गर्ने योजना बनाएको छ ।

कोरियन एयरले मनोमानी ढंगले महँगो भाडा लिएपछि पर्यटनमन्त्री सुदन किराँती आफैँ भाडा घटाउन कस्सिएका थिए । उनले नेपाली जिएसएमार्फत हवाई भाडा घटाउनका लागि पहल गर्न निर्देशन पनि दिएका थिए । तर, उनीहरूले अटेर गरेको मन्त्रालय स्रोत बताउँछ ।

नेपाल र कोरियन सरकारबीच सन् २००१ मा दुईपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सन् २००४ मा हवाई सेवा सम्झौता ‘रिभाइज’ भएको थियो । अहिले पनि त्यही सम्झौता कायम रहेको सूचना अधिकारी भुलले बताए । ‘सम्झौतामा नेपाली र कोरियन वायुसेवा कम्पनीले सातामा चार–चारवटा उडान गर्ने उल्लेख छ,’ उनले भने, ‘तर, सम्झौताअनुसार कोरियन उड्डयन निकायले नेपाली वायुसेवालाई उडानको अनुमति दिएको छैन ।’ 

निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीबाट दुईवटा वाइडबडी जहाज खरिद गरेपछि कोरिया, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा उडानको तयारी गरेको थियो । निगमले काठमाडौं–जापान सीधा उडान सुरु गरिसकेको छ । अस्ट्रेलिया उडानको तयारी भइरहेको छ ।

दुईपक्षीय हवाई सम्झौतापछि कोरियाको तर्फबाट कोरियन एयर र निजी वायुसेवा कम्पनी एसियाना एयरलाइन्स नेपाल उडानका लागि सिफारिस भएका थिए । एसियानाले सेड्युल उडान गर्न पाएन । बीचमा केही चार्टर उडानहरू गरेको थियो । नेपालको तर्फबाट क्यानले काठमाडौं–कोरिया उडानका लागि निगमलाई लेटर अफ डेजिनेसन पठाएको थियो । कोरियाले हवाई सम्झौताअनुसार निगमलाई लेटर अफ अथोराइजेसन दिनुपर्नेमा कहिले के, कहिले के भनेर आलटाल गरिरहेको भुलले बताए । ‘दुईपक्षीय हवाई सम्झौता पालना गरेको देखिएन, उडान अनुमति आज दिन्छौँ, भोलि दिन्छौँ भन्दै झुलाइरहेको देखियो,’ उनले भने । 

कोरियाबाट लेटर अफ अथोराइजेसन नपाएपछि निगमले काठमाडौंबाट कोरिया उडान गर्न पाएको छैन, जसले कोरियन एयरको एकाधिकार कायम रह्यो । ‘अन्तर्राष्ट्रिय हवाई भाडादर माग र आपूर्तिले निर्धारण गर्ने हो, दुवैतर्फबाट उडान भइदिएको भए बजारको मागअनुसार उचित भाडादर निर्धारण हुने थियो,’ उनले भने, ‘तर, कोरियन एयरले एकलौटी रूपमा मनपरी ढंगले यात्रुसँग महँगो भाडा असुल गर्दै आइरहेको छ ।’ निगमले काठमाडौं–कोरिया उडानको अनुमति नपाएसम्म कोरियन एयरको उडान पनि रोक्ने क्यानले जानकारी गराएको हो ।

उडानमा रोक लगाउने निर्णय भएको छ
ज्ञानेन्द्र भुल, सूचना अधिकारी, क्यान

२९ अक्टोबर २०२३ देखि कोरियन एयरको काठमाडौं उडान रद्द हुन सक्छ । बीचमा केही नयाँ निर्णय भए फ्लाइट नियमित हुन पनि सक्छ, अहिलेलाई कोरियन एयरको उडानमा रोक लगाउने निर्णय भएको छ । आगामी सिजनका लागि अहिले टिकट बुकिङ नगर्न जिएसए कम्पनीलाई जानकारी गराइसकेका छौँ, एक–दुई दिनमा पत्राचार पनि गर्छौँ ।

ad
ad