१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Friday, 09 May, 2025
२o८o असोज ३ बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाडी चलेपछि मनाङकाे अर्गानिक आलुले पायो बजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार o९:o५:oo

मनाङमा गाडी चलेसँगै आलुले बजार पाउन थालेको छ । आफन्तलाई कोसेलीका रूपमा पठाइने आलु हिजोआज बिक्री हुन थालेकोमा मनाङका बासिन्दाहरू चकित परेका छन् । आफूलाई चाहिने आलु राखेर अरू आलु जिल्लामा कार्यरत कर्मचारी, पाहुना र आफ्ना आफन्तलाई कोसेली दिँदै आएका तिनै मनाङवासीलाई अहिले आलु बिक्री गर्दैमा फुर्सद छैन । 

कृषि ज्ञानकेन्द्र मनाङका अनुसार हरेक वर्ष मनाङमा आलु उत्पादनमा उत्साहजनक वृद्धि भइरहेको छ । यतिवेला मनाङमा आलु किन्नका लागि चितवन, पोखरा, लमजुङलगायतका स्थानका व्यापारीहरू मनाङ पुगेका छन् ।मनाङका किसानले विगतका वर्षहरूमा कुल उत्पादनको ४० प्रतिशत मात्रै आलु निर्यात गर्ने गरे पनि बेँसीसहर–मनाङ सीधा यातायात चल्न थालेपछि ९० प्रतिशत आलु निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ‘अघिल्ला वर्षहरूमा हामीले उत्पादन गरेको आलु बाहिरी जिल्लाहरूमा पठाउने सम्भावना नै थिएन्,’ मनाङकी स्थानीय मनकुमारी गुरुङ भन्छिन्, ‘विगतका वर्षभन्दा अहिले आलु उत्पादन राम्रो भएको छ । बाहिरी जिल्लाका व्यापारीहरू आलु किन्नका लागि घरमै आइपुगेका छन् ।’ 

मनाङमा उत्पादन भएको आलुलाई किसानले प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । सजिलैसँग पाक्ने र स्वादिलो हुने हुँदा बाहिरी जिल्लाहरूमा मनाङको आलुले स्थान पाएको कृषकले बताएका छन् । 

मनाङका चारवटै गाउँपालिकामा आलु उत्पादनले गति लिन थालेको छ । साबिकको जिल्ला कृषि विकास कार्यालय मनाङले ठाउँ–ठाउँमा भण्डारगृहको स्थापनासमेत गरिदिएको छ । ‘कार्यालयले आलु भण्डार गर्ने घर बनाइदिएपछि सजिलो भएको छ’ कृषक गुरुङले भनिन्, ‘गाउँसम्म मोटर आएको छ । उत्पादन भएको आलु मोटरमा राखेपछि सीधै बँेसीसहर पुग्छ ।’ मनाङ नासो गाउँपालिका धारापानीकी कृषक विष्णु गुरुङ भन्छिन्, ‘हामीले समूह बनाएर आलुखेतीदेखि बिउबिजन उत्पादनसमेत गर्दै आएका छौँ ।’