१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

दार्चुलाका जनप्रतिनिधिकाे चेतावनीपछि वार्तामा बस्याे भारतीय पक्ष, एसएसबीबाट गल्ती भएको स्वीकार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

नेपालका जनप्रतिनिधिले भारतले निर्माण गरिरहेको नेपाल–भारत जोड्ने महाकाली पुल निर्माणकार्य अवरोध गर्ने चेतावनी दिएसँगै भारतीय पक्ष दार्चुला प्रशासन र जनप्रतिनिधिसँग वार्ता गर्न आएको छ। 

भारत उत्तराखण्डअन्तर्गत धारचुला उपजिल्ला अधिकारी (एसडिएम) दीपेश शासनीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा आएर वार्ता गरेका हुन्।

महाकाली नगर प्रमुख नरसिंह चैसिर र व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले आफूहरूलाई व्याँस प्रवेशमा रोक लगाउनुको कारण माग गर्दै भदौ २४ गते प्रशासनलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। ध्यानाकर्षणपत्रमा भारतले तीन दिनभित्र उचित जवाफ नदिए मोटरबेल पुल निर्माणमा अवरोध गर्ने चेतावनी दिएका थिए। 

नगर प्रमुख चैसिरले बुधबार सांकेतिक रूपमा पुल निर्माण कार्य रोक्न निर्माण कम्पनीसँग आग्रह गरेका थिए। पुल निर्माणकार्य रोकिएको एक घन्टापछि भारतीय प्रशासन वार्ता गर्न तयार भएको हो। भारतले सुरुमा धारचुलामा बैठक बस्नुपर्ने प्रस्ताव गरेकाे थियाे । तर, नेपालका जनप्रतिनिधिले अस्वीकार गरेपछि एसडिएम दार्चुला प्रशासनमा आएका हुन्।

गत भदौ २० गते सशस्त्र प्रहरीको तिंकर छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्टको उद्घाटनमा जाने क्रममा नगर प्रमुख चैसिर, व्याँस गाउँपालिका अध्यक्ष धामी र विद्यार्थी नेता दीपक खातीलाई भारतीय एसएसबीले तिगरमबाट फर्काएको थियो। 

भारतीय एसडिएम कार्यालयकै अनुमति लिएर गएका उनीहरू फर्काएपछि जनप्रतिनिधिले आफूहरू रोकिनुको कारण भारतीय प्रशासनसँग माग गरेका हुन्।

बैठकमा भारतीय एसडिएम शासनीले त्यो दिन सञ्चारमा समस्या भएकै कारण एसएसबीबाट गल्ती हुन पुगेको स्वीकार गरेका छन्। ‘मिस कम्युनिकेसनको कारण त्यो समस्या भयो, नहुनुपर्ने भयो,’ बैठकमा भारतीय अधिकारीले भनेका कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले भनिन्, ‘अब यस्ता समस्या हुन दिँदैनौँ भनेर बैठकमा भनेका छन्। बैठक सौहार्द रूपमा सकिएको छ। आगामी दिनमा यस्ता गल्ती हुन दिदैनौँ भनेर उनले भनेका छन् ।’

बैठकमा सहभागी जनप्रतिनिधिका अनुसार एसडिएम शासनीले त्यो दिन आफूहरू कार्यालयमा नभएको र बाहिर भएको अवस्थामा सञ्चार नहुँदा समस्या भएको बताएका थिए। 

‘पास जारी गर्ने वेला अरू कर्मचारीले पनि गरेका हुन सक्छन्, त्यो ठूलो विषय होइन्,’ बैठकमा भारतीय पक्षले भन्यो । तर, फोन सम्पर्क नहुँदा रोकिनुपरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त भएको छ।

व्याँस गाउँपालिका– १ तिंकर छायालेकमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट उद्घाटनको क्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, जिल्लास्थित सुरक्षा अधिकारीलगायतलाई भने व्याँस जान रोकेकाे थिए।