Skip This
जनप्रतिनिधिमाथि एसएसबीको दुर्व्यवहार, तीन दिनभित्र भारतले जवाफ नदिए पुल निर्माणमा अवरोध गर्ने चेतावनी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २५ सोमबार १७:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जनप्रतिनिधिमाथि एसएसबीको दुर्व्यवहार, तीन दिनभित्र भारतले जवाफ नदिए पुल निर्माणमा अवरोध गर्ने चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १७:३३:oo

भारतीय बाटो हुँदै व्याँस गाउँपालिका–१ छांगरु तिंकर जाने क्रममा जनप्रतिनिधिमाथि भारतीय सीमा सुरक्षा बल एसएसबीले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाइएको छ।

महाकाली नगर प्रमुख नरसिंह चैसिर र व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले भारतीय एसएसबीको दुर्व्यवहार गर्नुको कारण माग गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ध्यानाकर्षण-पत्र बुझाएका हुन्।

गत २० भदौमा व्याँस गाउँपालिका –१ को तिंकरमा निर्माण गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापनाको उद्घाटन गर्ने जाने क्रममा महाकाली नगर प्रमुख नरसिंह चैसिर, व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, विद्यार्थी नेता दीपक खातीलाई भारतले व्याँस जान रोक लगाएको थियो। 

भारतीय प्रशासनबाट बहुयात्रा अनुमति लिएर जाँदा पनि धारचुलाबाट १४ किलोमिटरमाथि तिगरमबाट फर्काइयो। सशस्त्र प्रहरी नायब अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी एसपीद्धय वीरसिंह साहु, डम्मरबहादुर विष्ट, अनुसन्धान अधिकृतलगायत दर्जनाैँ सुरक्षाकर्मीसमेत टोलीमा सहभागी थिए। 

सुरक्षाकर्मीसँगै जाँदा जनप्रतिनिधिको अपमान भएको भन्दै धापको काकडामा निर्माण भइरहेको मोटेरबल पुल निर्माणमा रोक लगाउने जनप्रतिनिधिले चेतावनी दिएका छन्।

महाकाली नगर प्रमुख नरसिंह चैसिरले भने, ‘नेपालीमाथि भारतीय बाटो प्रयोग गर्दा अपमान, दुर्व्यवहार हुन्छ भने पुल निर्माण गर्नुको अर्थ छैन। पुल निर्माणपछि पनि जनताले भारतीयबाट दुर्व्यवहार नहोला भनेर के ग्यारेन्टी छ?’ 

‘आफूहरूलाई व्याँस गाउँपालिका–१ छांगरु तिंकर जान रोक लगाउनुको कारण भारतले दिनुपर्छ। यो प्रशासनले खोजीको विषय बनाउनुपर्छ। हामी जनप्रतिनिधि मात्र होइन, यहाँका स्थानीय पनि हौँ। हामीमाथि भारतीय सशस्त्र सीमा बल एसएसबीबाट भएको दुर्व्यवहारबारे स्पष्ट जवाफ नआएसम्म पुल निर्माणमा अवरोध गर्छाैँ,’ उनले प्रमुख जिल्ला अधिकारी किरण जोशीसामु भने। 

जिल्ला प्रशासन कार्यालय दार्चुलालाई ध्यानाकर्षण-पत्र बुझाउँदै नगर प्रमुख चैसिर र अध्यक्ष धामीले तीन दिनभित्र आफूहरूमाथि भएको दुर्व्यवहारको भारतले जवाफ नदिएर पुल निर्माण कार्य अघि नबढ्ने उल्लेख गरेका छन्। 

ध्यानकर्षण-पत्रमा भनिएको छ, ‘यो दुर्व्यवहार हामीमाथि मात्र भएको छैन, समग्र नेपालको प्रशासन र नेपाली जनतामाथि भएको छ। यसको घोर भर्त्सना गर्छौँ।’ 

प्रमुख जिल्ला अधिकारी किरण जोशीले भने यो विषयमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासमार्फत जवाफ माग्ने बताएकी छिन्।

दोहोरो नागरिकता छानबिन गर्न माग

व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले सीमा क्षेत्रमा बसेर दोहोरो नागरिकता लिएकाहरूको छानबिन गर्न माग गरेका छन्। दार्चुलामा भारत घर भएका केही व्यक्तिहरूको दोहोरो नागरिता भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई भेट गरी उनले दोहोरो नागरिकताको छानबिन हुनुपर्ने बताए। ‘नेपालमा काम गर्ने, राजनीति गर्ने, जागिर गर्ने तर भारतकोसमेत नागरिकता लिएकाहरूको छानबिन जरुरी छ,’ उनले भने, ‘जिल्लामा दोहोरो नागरिकता लिएकाहरूबाट राष्ट्रियता खतरामा छ।’

आफूलाई व्याँस गाउँपालिका–१ को तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट उद्घाटन गर्न जाने क्रममा रोकिएकोप्रति आपत्ति जनाए। 

‘नेपालकै केही व्यक्तिले मलाई रोक्न भनेका रहेछन्। आफ्नो बारेमा भारतीय दूतावाससम्मै कुरा पुर्‍याएको रहेछ,’ उनले भने, ‘मैले मेरो वडा, मेरो पालिकामा जान पाउनुपर्छ। भारतले एकातिर रोटीबेटीको सम्बन्ध भन्ने तर अर्कोतिर सीमा क्षेत्रमा हामीमाथि दुर्व्यवहार गर्दै जानु हामीप्रतिको अपहेलना हो।’