१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस कटारी
२o८१ बैशाख २३ आइतबार १३:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनसान कटारी बजार

Read Time : > 1 मिनेट
रासस, कटारी
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o२:oo

ढाकरै बोकी, टेकुवा टेकी ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै 
ओखलढुंगा रुम्जाटारदेखि ठ्याक्कै, ठ्याक्कै, ठ्याक्कै
पसिना झार्दै तरर, चार दिनको बाटो कटारी बजार...

तीन दशकअघि रेडियो नेपालमा यो गीत प्रशस्तै बज्थ्यो । यस गीतले चिनाएको उदयपुरको कटारी बजार एउटा ऐतिहासिक बजार थियो । पहाडका तीन जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको एक मात्र नुनतेल, भाँडावर्तन, अन्नपात,  मरमसला किन्ने थलो थियो कटारी बजार ।

सडक थिएन, यी तीन जिल्लासम्म कटारी बजारबाट ढाकरमा सामग्री ढुवानी हुन्थे । पहाडी जिल्लाका आलु ढाकरमै कटारी आइपुग्थ्यो, फर्किँदा ढाक्रेहरूले साहुका सामान बोकेर जान्थे । ‘त्यतिवेलाको कटारी बजार त गुल्जार थियो,’ ०२९ सालदेखि कटारी बजारमा व्यापार गर्दै आएका ज्योतिकुमार साह भन्छन्, ‘अहिले त चरोमुसो पसलमा आउँदैनन् ।’

साह सिराहाको बन्दीपुर हुँदै कमलाखोलाको बाटो अभिभावकहरूसँग कटारी बजार आइपुगेका थिए। ‘बाटो थिएन, मधेसका व्यापारी कमला खोलैखोला कटारी व्यापार गर्न आएका थिए,’ साह भन्छन्, ‘धनुषा, सिराहा, सप्तरीबाट कटारीमा ठूलो व्यापार हुन्छ भनेर व्यापारीहरू आउँथे।’ कटारी बजार सगरमाथाको द्वारको रूपमा पनि परिचित बजार थियो । सगरमाथा चढ्नका लागि तेन्जिङ शेर्पा र एडमन्ड हिलारी कटारी बजारकै बाटो गएको भनाइ रहेको बुढापाकाहरू बताउँछन् ।

०५० सम्म कटारी बजार एउटा ऐतिहासिक बजार थियो । बिस्तारै सडक निर्माण सुरु भयो । मिर्चैया–कटारी हुँदै ०५४ सालमा कटारी, घुर्मी, ओखलढुंगा सडकको ट्रयाक खुल्यो । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व. बलबहादुर राईको पहलमा यो सडक नेपाली सेनाले निर्माण गरेको थियो ।

सडक निर्माणसँगै पहाडी जिल्लाहरूमा सामग्री ढुवानी सहज त भयो, तर त्यसपछि यो सडकले स्तरोन्नति हुन पाएन । मिर्चैया–कटारी २६ किलाेमिटर र कटारी–घुर्मी ४४ किलाेमिटर सडक जीर्ण भएका कारण मानिस हिँड्न नै डराउन थालेको ओखलढुंगा स्थायी घर भई कटारीमा रोजगारी गर्दै आएका शुभराज राई भन्छन्, ‘बीचबाटोबाट फर्किनुभन्दा सिन्धुलीबाट घुमेर जानु सजिलो ठानी मानिस त्यतैबाट हिँड्न थाले।’

सडक विस्तारले फड्को मारेसँगै सिन्धुलीको खुर्कोट–घुर्मी बजार हुँदै पहाडी तीन जिल्ला आउजाउ गर्न सडक राम्रो भएपछि कटारीबाट आउजाउ कमी हुन थाल्यो । गाईघाटबाट खोटाङ पनि जोडिएपछि कटारी बिस्तारै टोलेबजारमा परिणत भयो ।

तराईका जिल्लाबाट कटारी हुँदै पहाडी जिल्ला जानुपर्ने बाध्यता हट्यो । बाटो छोटो भए पनि स्तरोन्नति नहुँदा आउजाउ नै कष्टकर हुने भएपछि मानिस सिन्धुलीबाट घुमेर जान थाले । कटारीका होटेल व्यवसायी प्रताप राई भन्छन्, ‘मदन भण्डारी राजमार्ग जोडिएकाले झिनो आशा मात्रै कायम छ, नत्र बजार सुकिसक्यो।’

कुनै समयको गुल्जार बजारमा अहिले ग्राहक नै नभएको उदयपुर उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अरुण साह बताउँछन्। उनी भन्छन्, ‘व्यापारीहरू अन्यत्र पलायन हुन थालिसके। बजारमा किनमेल छैन। ग्राहक नै नभएपछि बजार सुनसान हुने नै भयो।’

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित हाट थियो । अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन् । बजारको पहिचान कायम राख्न नगरपालिकाले कार्यविधि बनाएर कृषि उपज केन्द्रमा शुक्रबार हाट लगाउन थाले पनि हाटमा ग्राहक र व्यापारीले चासो नदेखाएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ बताउँछन्।

ad
ad