१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

स्थानीयको अवरोधले निर्माण सुरु हुन सकेन लप्सीफेदी सबस्टेसन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:५o:oo

माग सम्बोधन गरेरै निर्माण सुरु गर्छौँ : ऊर्जामन्त्री बस्नेत

स्थानीयहरूको अवरोधका कारण काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा प्रस्तावित ४००/२२०/१३२/११ केभी सबस्टेसनको निर्माण अझै सुरु हुन सकेको छैन । आयोजनाका लागि जग्गा प्राप्ति, स्रोत सुनिश्चितता तथा ठेक्का सम्झौताको काम भइसकेको छ । तर, स्थानीयको अवरोधका कारण उक्त सबस्टेसन निर्माणमा जान नसकेको हो । 

सबस्टेसनका लागि ५० जना जग्गाधनीको एक सय ७२ रोपनी जग्गा अधिग्रहण गर्न ०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एकजनाबाहेक सबैले मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड राजीखुसीले बुझिसकेका छन् । तर, केही वर्षदेखि परियाजना निर्माणमा स्थानीयले अवरोध गर्दै आएका छन् । उक्त अवरोध हटाउन सरकार र नेपाल विद्युत् प्राधिकरणले पटक–पटक प्रयास गरे पनि स्थानीयहरू छलफलमै आउन चाहेका छैनन् ।   

स्थानीयहरूले आयोजना नै स्थान्तरण गर्नुपर्ने माग राख्दै आएका छन् । तर, प्राधिकरणले यसअघि नै आयोजनाको निर्माणस्थलको जग्गा प्राप्ति गरिसकेको छ । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको, प्रारम्भिक वातावरणीय परीक्षण (आइई) तथा पूरक आइआईलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको, उपलब्ध विकल्पहरूमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेको प्राधिकरणको भनाइ छ ।

सोहीअनुसार प्रसारणलाइन र सबस्टेसन निर्माणका लागि बोलपत्र स्वीकृत भई ठेक्का सम्झौता गरी काम भइरहेकाले अहिले आएर सबस्टेसन अन्यत्र सार्न नसकिने प्राधिकरणले प्रस्ट पारेको छ । स्थानीयले राखेका सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतका जायज माग सम्बोधन गर्दै जाने प्राधिकरणको योजना छ ।  

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने आयोजनाको विद्युत् काठमाडौंमा ल्याउन र स्थानीय रूपमा आपूर्ति लप्सीफेदीमा ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गरिँदै छ । सबस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको चार सय केभी प्रसारणलाइन जोडिनेछ । नयाँ खिम्ती–बाह्रबिसे–लप्सीफेदी चार सय केभी प्रसारणलाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको एक सय ३२ केभी प्रसारणलाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण एक सय ३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ । 

नयाँ खिम्ती–काठमाडौं चार सय केभी तथा लम्सीफेदी–चाँगुनारायण एक सय ३२ केभी प्रसारणलाइन र चारवटा सबस्टेसन गरी अनुमानित लागत करिब १८ अर्ब छ । आयोजना निर्माणका लागि  एडिबीसँग  १० चैत ०६८ (२३ मार्च २०१२) मा पहिलो र ऋण एसियाली विकास बैंकसँग मार्च २०१२ मा र २५ भदौ ०७४ (१० सेप्टेम्बर २०१७) मा दोस्रो ऋण सम्झौता भएको थियो ।

पहिलो ठेकेदारले काम गर्दा लप्सीफेदीमा कुनै विरोध भएको थिएन । तर, दोस्रो ठेकेदार काम गर्न गएपछि काममा अवरोध भइरहेको छ । अवरोधका कारण हालसम्म सबस्टेसन निर्माणस्थलमा कुनै पनि कार्य प्रगति हुन सकेको छैन । लप्सीफेदी सबस्टेसनको काम हालसम्म हुन नसकेका कारणले ठेक्का सम्झौताको म्याद १५ पुस ०८० (३१ डिसेम्बर २०२३) सम्म कायम गरिएको छ । 

जायज माग सम्बोधन गर्ने प्रतिबद्धता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले स्थानीय प्रभावितहरूको जायज माग सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने बताएका छन् । बिहीबार सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै सो सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने बताएका छन् । उनले स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास गर्ने विश्वास दिलाए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइनको मार्गाधिकारमा पर्ने जग्गाको क्षतिपूर्ति निर्धारण अधिकतम लचकता अपनाएर गरिने भएकाले अवरोध नगर्न आग्रह गरे । काठमाडौं उपत्यकाको विद्युत् माग सन् २०५० सम्ममा तीन हजार दुई सय मेगावाट पुग्ने प्रक्षेपण छ । सोही कारण काठमाडौंवरिपरि र भित्री सडकमा दुई सय २० केभी प्रसारण तथा वितरण प्रणाली विस्तार गरिरहेको छ । 

कहाँ छ अवरोध ? 
तामाकोशी–काठमाडौं चार सय केभी प्रसारणलाइनअन्तर्गत शंखरापुर नगरपालिका–३ मा चारवटा टावर निर्माणमा अवरोध छ । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत् काठमाडौंमा प्रवाह गर्न तामाकोसी–काठमाडौं चार सय केभी प्रसारणलाइन निर्माणाधीन छ । यसैगरी, लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत् छिराउन चाँगुनारायण सबस्टेसनसम्म एक सय ३२ केभी प्रसारणलाइन निर्माण हुँदै छ । चाँगुनारायणमा एक सय ३२ केभी सबस्टेसन निर्माणाधीन छ । 

तामाकोसी–काठमाडौं चार सय केभी प्रसारणलाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डमा नयाँ खिम्ती–बाह्रबिसेसम्मको ४४ किलोमिटर प्रसारणलाइनमा एक सय १८ वटा टावर पर्छन् । दोस्रो खण्डमा बाह्रबिसे–लप्सीफेदीसम्मको ४६ किलोमिटर प्रसारणलाइनमा एक सय २२ वटा टावर पर्छन् ।  

ad
ad