१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
दीपक बोहरा तुलसीपुर
२o८१ जेठ २ बुधबार १६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आफैँले उत्पादन गरेको तरकारी ‘बार्गेनिङ’ गरी-गरी बेच्छन् विद्यार्थी  

Read Time : > 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१६:oo

केही विद्यार्थी तरकारी तौलिरहेका छन् भने केही ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैँले उत्पादन गरेका तरकारी आफैँ बिक्री–वितरण गर्दै आएका हुन्। 

तुलसीपुर उपमहानगरपालिका– ४ स्थित गुरुजजुर माविमा कृषि बालीविज्ञान अध्ययनरत विद्यार्थीले चार बिघाभन्दा बढी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका र उत्पादन भएको तरकारी बजारमा लगेर बेच्ने गरेका छन्। 

कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने भएकाले पनि सबै विद्यार्थी मिलेर यसरी कृषि खेती गरिएको र उत्पादित तरकारी आफैँले बिक्री गर्ने गरेको एक विद्यार्थी रेशम विश्वकर्माले बताए। ‘हाम्रो विषय पनि कृषि भएकाले कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ भन्ने पनि थाहा हुन्छ,’ उनले भने, ‘खोज–अनुसन्धान गर्न सहज पनि भएको छ।’ 

विद्यालयले बिउलगायत अन्य प्राविधिक सहयोगका साथै आवश्यकताअनुसार ऋण पनि दिने गरेकामा विद्यार्थीले त्यो ऋण त्यहीँ उत्पादित वस्तु बिक्री गरेर तिर्नुका साथै बाँकी रहेको रकम कोषमा जम्मा गर्ने गरेका छन्। 

प्रयोगात्मकका लागि लाग्ने खर्च त्यही कोषबाट व्यहोर्दै आइएको विद्यार्थी  शोभा बुढाथोकीले बताइन्। तुलसीपुर– ३ स्थित गोटीखोलामा आठ कट्ठा, रानागाउँमा दुई बिघा १७ कट्ठा, गाडीबरा सामुदायिक वनको एक बिघाजति जग्गा भाडामा लिएर यसरी खेती तथा अन्य प्रयोगात्मक कार्य हुँदै आएको छ। 

विद्यार्थीले यसअघि ५२ किलो बोडी तथा सिमी बिक्री गरेका थिए । त्यस्तै हाल हलेदो, सयपत्री, आँप, कटहर, अमिला जातका फलफूल, शीतलचिनी, खयर, अमला, हर्रोबर्रो, भटमासलगायत खेती गरेका छन्। 

विद्यालयमा उद्यमी क्लब गठन गरेर यसरी उनीहरू व्यवसायमा जोडिएको विद्यालयकी कृषि संकाय प्रमुख समीक्षा गुप्ताले बताइन्। सैद्धान्तिक कक्षाबाहेक प्रयोगात्मक कक्षाको समयमा उनीहरूले समूह बनाएर यसरी खेती गर्दै आएका छन्।  

मिहिनेतअनुसारको फल प्राप्त भएपछि विद्यार्थीलाई थप हौसला मिलेको छ। विद्यार्थीलाई आम्दानी पनि हुने र अनुसन्धान पनि हुने भएकाले पनि व्यावसायिक खेतीलाई प्रोत्साहन गरिएको हो। योसँगै विद्यार्थीले कस्तो ठाउँ र कस्तो मौसममा के खेती हुन्छ भन्ने कुरा पनि थाहा पाउने गरेका छन्। 
 

ad
ad