१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
गर्भवती श्रीमती सविनाको साथमा वीरबहादुर तामाङ । तस्बिर : नयाँ पत्रिका 
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

गाउँमा स्वास्थ्य संस्था नहुँदा गुर्दुमवासीको ज्यानै जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:o१:oo

गाउँमा स्वास्थ्य संस्था छैन । बर्खामा गाउँसम्म एम्बुलेन्स आइपुग्दैन । बर्खामा गाउँबाट नजिक मानिने स्वास्थ्य संस्था नौबिसेसम्म पुग्न हिँडेर तीन घन्टा लाग्छ । भिरालो बाटो, वर्षात्को समय स्टेचरमा बिरामी बोक्न ठूलै युद्ध जितेबराबर हो । धादिङको धुनिबेँसी नगरपालिका– ७ गुर्दुमकी २१ वर्षीय सविना तामाङ भन्छिन्, ‘घरमै सकुशल सुत्केरी हुनु भनेको अर्काे जुनी पाउनुजस्तै हो ।’

सविना तामाङलाई स्वास्थ्यकर्मीले १९ भदौमा प्रसूतिको डेट दिएका छन् । उनी भन्छिन्, ‘गर्भवती जाँच गर्न त सासु र गाउँका दिदिबहिनीको सहयोगमा स्वास्थ्य संस्था जाने आउने गरेँ । पहिलो सन्तान हो, पहिलो चोटी हुनेलाई गाह्रो हुन्छ भन्छन् । बेथाले छोएपछि म पक्कै हिँड्न सक्दिनँ । टाढाको बाटो, अप्ठ्यारो उस्तै स्टेचरमा बोकेर कसरी पुर्‍याउलान् ।’ 

‘धादिङको धुनिबेँसी नगरपालिका– ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ । धुनिबँेसी नगरपालिका– ७ कै दोभान भन्ने ठाउँसम्म एम्बुलेन्स आइपुगे पनि त्यहाँ पुग्न चार घन्टासम्म पैदल हिड्नुपर्छ,’ सविनाले भनिन्, ‘गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्छन् । कतिपयले स्वास्थ्य संस्था जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । नजिक स्वास्थ्यसंस्था छैन । यो हाम्रो रहर होइन, बाध्यता हो ।’

सविनालाई कसरी अस्पताल पुर्‍याउने भनेर उनका श्रीमान् वीरबहादुर चिन्तित छन् । ‘गाउँमै सुत्केरी हुँदा जानेको र ढुक्कले नाभी काट्नेसमेत भेटिँदैन । अन्दाजकै भरमा छिनाल्ने चलन अहिले पनि छ । सुत्केरी हुने समय नजिक आएका केही गर्भवतीले अस्पतालछेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका छन् । अस्पतालनजिक आफन्त हुनेहरूले त्यही बस्छन्, तर सबैले सक्दैन । बेथाले साह्रै नचापेसम्म घरमै बच्चा जन्माउने चलन छ,’ उनले सुनाए । 

गत वर्ष मजुवा गाउँमा दुईजनाले घरमै बच्चा जन्माएका थिए । थलीको एक गर्भवतीलाई बोकेर नौबिसे स्वास्थ्यचौकी झार्दाझार्दै बाटैमा बच्चा जन्मियो । स्वयंसेविका कविता तामाङले भन्छिन्– ‘घरमै बच्चा जन्माउने र बाटोमा सुत्केरी हुने घटना हाम्रो गाउँका लागि बाध्यता हो । निकै जोखिम छ ।’

धुनिबेँसी नगरपालिकाले आफ्ना सेवा क्षेत्रभित्रका गर्भवती र सुत्केरी बोक्न एम्बुलेन्स शुल्कसमेत निःशुल्क गराएको छ । टोलटोलमा स्टेचर पनि पठाएको छ । ७ नम्बर वडा कार्यालयभित्र तीनजना महिला स्वयंसेविका पनि खटाएको छ । तर, दुर्गम ठाउँ भएको र एउटा बस्तीबाट अर्काे बस्तीमा पुग्न घन्टौं हिँड्नुपर्ने भएका कारण प्रभावकारी बन्न सकेको छैन ।’ धुनिबेँसी नगरपालिका–७ का वडाध्यक्ष यदुनाथ पाठकले भने, ‘सम्भव भएसम्म सेवा–सुविधा दिने कोसिस गरेका छौँ, भौगोलिक विकटताले पनि समस्या भएको छ ।’ बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउँछन् । दुर्गमगाउँमा स्वास्थ्यचौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर घरमै बच्चा जन्माउन बाध्य छन् । 

ad
ad