Skip This
आजदेखि सर्वसाधारणका लागि समेत खुल्दै छ तातोपानी नाका
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १५ शुक्रबार
  • Saturday, 27 July, 2024
आठ वर्षपछि सर्वसाधारणका लागि आजबाट खुला हुन लागेको झकिझकाउ तातोपानी नाका । तस्बिर सौजन्य : सन्तोष श्रेष्ठ
कृष्ण रिजाल काठमाडाैं
२o८o भदौ १५ शुक्रबार o६:o५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आजदेखि सर्वसाधारणका लागि समेत खुल्दै छ तातोपानी नाका

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ १५ शुक्रबार o६:o५:oo

- सबैभन्दा पुरानो नाका सर्वसाधारणका लागि समेत खुला हुनु आर्थिक, कूटनीतिक एवं सामरिक हिसाबले समेत महत्वपूर्ण
- तत्काललाई सिन्धुपाल्चोकवासीले चीन प्रवेश पाउने, अन्यका हकमा क्रमशः खुला गरिने चिनियाँ प्रतिबद्धता, बिहीबारसम्म २०३ वटा पास वितरण

नेपाल–चीनको सबैभन्दा पुरानो नाका तातोपानी कोदारी शुक्रबारदेखि सर्वसाधारणका लागि समेत खुला हुने भएको छ । आठ वर्षदेखि आयात–निर्यात मात्रै हुँदै आएको नाका मानव आवतजावतका लागि समेत खुला हुन थालेको हो ।

सबैभन्दा पुरानो नाका सर्वसाधारणका लागि समेत खुला हुनु आर्थिक, कूटनीतिक एवं सामरिक हिसाबले समेतमहत्वपूर्ण हुने अधिकारीहरूको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको अवसर पारेर तातोपानी नाका सर्वसाधारणका लागि खुला गरिएको छ । 

चिनियाँ पक्षले १ सेप्टेम्बर (१५ भदौ)देखि तातोपानी नाका सर्वसाधारणका लागि समेत खुला गरिने सूचना पठाएको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले बताए । ‘कोभिडयता एकतर्फी व्यापार भइरहेको यो नाकाबाट गत १ मेबाट निर्यात सुरु भएको हो । तर, मानव आवतजावतमा प्रतिबन्ध नै थियो,’ उनले भने, ‘नेपालले तातोपानी नाका पूर्ण रूपमा खुलाउन आग्रह गर्दै आएको थियो, दुई दिनअघि मात्रै पनि महावाणिज्य दूतावासमा दुईपक्षीय छलफल भएपछि चिनियाँ पक्षले १ सेप्टेम्बरबाट सर्वसाधारणका लागि समेत नाका खुल्ने नोट पठाएको छ ।’

गत महिना सम्पन्न नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको ११औँ बैठकमा तातोपानी नाका मानवका लागि समेत खुला गर्ने दुई मुलुकबीच सहमति भएको थियो । बैठकले सेप्टेम्बरभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय गरेको थियो, तर मिति तय भएको थिएन । 

०७२ को विनाशकारी भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ ०७६ मा नाका पुनः सञ्चालनमा आयो, तर नाका एकतर्फी मात्रै खुल्यो । मानव आवतजावत र निर्यातका लागि खुलेन । नेपालले नाका पूर्ण रूपमा सञ्चालन गर्न चीनलाई औपचारिक एवं अनौपचारिक रूपमा आग्रह गर्दै आएको थियो । गत १८ वैशाख ०८० देखि तातोपानी नाका आयात र निर्यात हुने गरी दुईतर्फी रूपमा सञ्चालनमा आयो । तर, त्यसपछि पनि मानव आवतजावत भने खुला थिएन । 

सर्वसाधारणका लागि समेत तातोपानी नाका खुला गरिने भएपछि नेपाल–चीनबीचको मितेरी पुल सजाइएको भोटेकोसी गाउँपालिका– २ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘कुनै औपचारिक कार्यक्रम त छैन, तर यता (नेपाल)बाट ४०–५० जना पारि (चीन) जाने र उता (चीन)बाट उत्तिकै संख्यामा चिनियाँ आउने कुरा छ,’ उनले भने, ‘लामो समयपछि सर्वसाधारणका लागि नाका खुला हुँदा उत्साहित छौँ ।’ अहिलेलाई स्थानीय (सिन्धुपाल्चोक)वासीका लागि मात्रै खुला गरिने जानकारी पाएको उनले बताए । अन्यका हकमा क्रमशः खुला गरिने चिनियाँ पक्षले बताएको उनले जानकारी दिए । 

अध्यागमन कार्यालय कोदारीले चीन प्रवेशका लागि स्थानीयलाई दुई सय तीनवटा पास जारी गरिसकेको निमित्त कार्यालय प्रमुख रवीन्द्र पोखरेलले बताए । ‘अहिलेलाई सिन्धुपाल्चोकवासीका लागि मात्रै नाका खुल्ने जानकारी आएको छ, सोहीअनुसार पास जारी भइरहेको छ,’ उनले भने, ‘एक वर्षको म्याद हुने पास लिएपछि सीमाबाट ३० किलोमिटर टाढासम्म जान सकिन्छ ।’ 

तातोपानी भन्सार प्रमुख दयानन्द केसीले तातोपानी नाकाबाट आयात–निर्यात व्यापार नियमित भइरहेको बताए । ‘दुईतर्फी व्यापार नियमित छ, शुक्रबारदेखि मानवसमेत आउजाउ गर्न पाउने सूचना आएको छ,’ उनले भने, ‘नेपालीसमेत पारि जान सक्ने भएपछि व्यापार अझ सहज हुनेछ ।’