१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुल्मी अस्पतालमा बालिकाको मृत्यु, छानबिन गर्न समिति गठन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:४o:oo

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीलाई ११ भदौमा पेट दुख्ने र बान्ता हुने भएपछि परिवारले गुल्मी अस्पताल ल्याए । चिकित्सकहरूकै सल्लाहअनुसार बालिका अस्पताल भर्ना भइन् । नियमित औषधि–उपचार चलिरहेकै थियो । मंगलबार बिहान एन्टिबायोटिक दिएको केहीबेरमै बालिकाको ज्यान गयो । चिकित्सककाे लापरबाहीका कारणले बालिकाकाे ज्यान गएपछि पीडित पक्षले मंगलबार दिनभर अस्पताल र प्रशासनमा आन्दोलन गरे । 

एन्टिबायोटिक दिनेबित्तिकै छोरी तड्पिन थाले पनि धेरैबेर डाक्टरहरू नआएका कारण छोरीको अकालमा ज्यान गएको बुबा राजेश मरासिनीको आरोप छ । ‘चिया–बिस्कुट मागेकी छोरीलाई डाक्टरलाई सोधेर मात्रै खाउली भनेर भोकै राखे । तर, चिकित्सकको लापरबाहीले आधा घन्टामै ज्यान गयो,’ उनले भने, ‘सुई लगाएको १५ मिनेटमै छोरी रहिनन् । मरासिनीले छोरी पीडाले छटपटाएको देखेर स्टाफहरूलाई डाक्टर बोलाउन ठूलो गुहार गरे पनि मरेपछि मात्रै आएको दुखेसो पोखे ।’ पीडित पक्षले बुधबार बिहानसम्म बालिकाको शव बुझेका छैनन् । मंगलबार राति नै पोस्टमार्टमको योजना रहे पनि प्राविधिक कारण आज गरिँदै छ ।

अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयले घटनाको सत्यतथ्य छानबिन गरेर पीडितलाई न्याय दिने पक्षमा आफू रहेकाले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । अस्पतालका निमित्त प्रमुख डाक्टर राजेन्द्रबहादुर जिसीले बालिका भर्ना गर्ने अवस्थामै अस्पताल आएको र परीक्षणका क्रममा रिपाेर्टहरू सबै सामान्य रहे पनि एन्टिबायोटिक दिनेबित्तिकै थप समस्या देखिएर ज्यान गएको स्वीकार गरे । उनले बालिकाको ज्यान लिने अस्पतालको कुनै स्वार्थ नभएकाले उपचारको क्रममा भएको निधनप्रति दु:ख व्यक्त गरे ।

अस्पतालप्रति गुनासै–गुनासा
नागरिक समाज गुल्मीका संयोजक पदम पाण्डेयले अस्पतालको चरम लापरबाही देखिएको आरोप लगाए । उनले अस्पतालको सेवा प्रवाहका विषयमा थुप्रै नागरिकका गुनासाे आइरहेकाे वेलामा ठूलो दुर्घटना निम्तिएको प्रतिक्रिया दिए । उनले एन्टिबायोटिकले गलत प्रतिक्रिया देखाउँदा पनि चिकित्सकको तदारुकता नदेखिएका कारण बालिकाले ज्यान गुमाएको बताए । डाक्टरहरू ड्युटीमा नबस्ने, बोलाएको वेला समयमै नआउने, कार्यालय प्रमुखले कसैका फोन नउठाउने र नागरिकप्रति जवाफदेही नहुने गरेको युवा नेता झविन्द्र पाण्डेयले गुनासो गरे । उनले अस्पताल प्रमुख राजेन्द्रबहादुर जिसी असल प्रशासन र सञ्चालक हुनबाट  चुकेको आरोप लगाए ।

गैरेको संयोजकत्वमा छानबिन समिति
६ वर्षीया बालिका प्रशंसा मरासिनीको चिकित्सककाे लापरबाहीका कारणले ज्यान गएको भन्दै पीडित पक्षले अस्पतालमा आन्दोलन गरेपछि घटनाकाे छानबिन गर्न समिति निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको सर्वपक्षीय भेलाले जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय, नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्रका प्रतिनिधि सदस्य रहेका छन् । समितिले घटनाको सत्यतथ्य छानबिन गरेर प्रतिवेदन बुझाउने जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

अस्पतालमा विज्ञप्तिबाजी
मंगलबार दिउँसो दुई घन्टामा गुल्मी अस्पतालका दुई विज्ञप्ति सार्वजनिक भए । बालिकाको मृत्युपछि परिवार र आफन्त आन्दोलनमा थिए । आन्दोलन गरिरहेकाहरूले गुल्मी अस्पतालका निमित्त प्रमुख डाक्टर राजेन्द्रबहादुर जिसीलाई हातपात र अपशब्द प्रयोग गरे । पीडित पक्ष बालिकाको मृत्युका कारण आक्रामक थिए ।

कार्यालय प्रमुखमाथि आक्रमण हुँदा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू पनि आक्रोशित नै थिए । तर, उनीहरूसँग पीडित पक्षसँग मुखामुख सवाल–जवाफको स्थिति थिएन । जिसीको आक्रमणको विरुद्धमा ४० जनाभन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले विज्ञप्तिमार्फत अनिश्चितकालीन ओपिडी बन्दको घोषणा गरे ।

त्यसपछि पीडित पक्ष झन आक्रोशित बन्याे । अवस्था बिग्रने संकेतपछि अस्पतालकै लेटरप्याडमा अर्को विज्ञप्ति सार्वजनिक गरियो । त्यो चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूको खुसीले नभएर चौतर्फी दबाब सिर्जना गरेका कारण भएको एक स्वास्थ्यकर्मीले गुनासो गरे । ‘हाम्रो ज्यानकै सुरक्षा थिएन । कसैले पनि अस्पतालको दृष्टिकोणबाट देखेनन् र बोलेनन्,’ उनले भने, ‘चौतर्फी दबाब दिएर पूर्वप्रकाशित विज्ञप्तिमाथि अर्को विज्ञप्ति निकाल्न लगाइयो ।’

आन्दोलन गरिरहेका तीन युवा जलेर घाइते
जिल्ला प्रशासन कार्यालयअगाडि बालिकाको पक्षबाट आन्दोलन गरिरहेका तीनजना जलेर घाइते भएका छन् । टायरमा पेट्रोल छर्किएर बाल्ने क्रममा एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका- ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएको स्थानीय शोभाखर पाण्डेयले जानकारी दिए । उनीहरूको शरीरको विभिन्न भागमा आगो सल्किएको थियो । उनीहरूलाई गुल्मी अस्पतालमा प्राथमिक उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा रेफर गरिएको छ ।

ad
ad