१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार एटलान्टामा आफ्नो विमानबाट बाहिर निस्कँदै । तस्बिरः सिएनएन 
हर्ष वी पन्त
२o८१ बैशाख २२ शनिबार १o:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

ट्रम्पमाथिका मुद्दा र अमेरिकी लोकतन्त्र

अहिले अमेरिकी राजनीति त्यहाँका मुख्य राजनीतिक खेलाडी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी मुद्दावरपर केन्द्रित छ

Read Time : > 3 मिनेट
हर्ष वी पन्त
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१२:oo

अमेरिकामा अहिले अनौठो समय चलिरहेको छ । राजनीतिक प्रणाली आगामी राष्ट्रपतीय निर्वाचनको तयारीमा लागिसकेको अवस्थामा राजनीतिक बहसले भन्दा पनि विभिन्न अदालतमा मञ्चन भइरहेका कानुनी नाटकले राजनीतिक गतिशीलतालाई बढी सशक्त ढंगले आकार दिइरहेको छ ।

वास्तवमा अहिले अमेरिकी राजनीति त्यहाँका मुख्य राजनीतिक खेलाडी विशेष गरी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कानुनी मुद्दा वरपर चक्कर काट्दै छ । यसैबीच, ट्रम्पले जर्जिया राज्यको फुल्टन काउन्टी जेलमा पुगेर आत्मसर्मपण गरे । जेल प्रशासनले रेकर्डका लागि उनको एक आरोपितका रूपमा फोटो खिचाएर जमानतमा छोडिदियो । उक्त राज्यले केही दिनअघि पूर्वराष्ट्रपति ट्रम्पलाई अन्य १८ जनासँगै सन् २०२० को राष्ट्रपति निर्वाचनको चुनावी नतिजा उल्टाउने प्रयास गरेको अभियोग दर्ज गरेको थियो ।

यो उनीमाथि लागेको पछिल्लो फौजदारी मुद्दा हो । उनीमाथि यसअघि नै सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजालाई उल्टाउने प्रयास गरेको आरोपविरुद्धको संघीय अनुसन्धान, राष्ट्रपतिनिवास ह्वाइट हाउस छोडेपछि गोप्य कागजातहरूको कथित दुरुपयोग र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई चुप लगाउन घुस दिएकोसमेतका अन्य तीनवटा फौजदारी अभियोग छन् । अर्काे कुनै समय र अर्काे कुनै राजनीतिज्ञ हुन्थ्यो भने यीमध्ये एउटै अभियोगले उसको राजनीतिक करिअर समाप्त गरिसकेको हुने थियो । तर, अहिले अमेरिकी राजनीतिमा यस्ता अनपेक्षित परिवर्तन भएका छन् कि ट्रम्पले यी अभियोगलाई सम्मानको बिल्लाका रूपमा प्रयोग गरिरहेको देखिन्छ ।

सदाझैँ आफ्नो चोथाले शैलीमा ट्रम्पले यसै हप्ता तीन वर्षअघिको मत जालसाजीका बारेमा ‘अकाट्य रिपोर्ट’ प्रस्तुत गर्न एउटा ‘बृहत् पत्रकार सम्मेलन’ गर्ने उद्घोष गरेका छन् । र, सहरमा चलिरहेको यो मात्र एउटा नौटंकी होइन । अदालतमा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको धुत्र्याइँ र चालबाजीपूर्ण गतिविधि पनि कम रोचक विषय होइन । उनी सन् २०१९ यता संघीय अनुसन्धानको दायरामा छन् र हालै मात्र उनले आफूविरुद्ध चलिरहेको करछली एवं गैरकानुनी बन्दुकसम्बन्धी अभियोगमा अभियोजकसँग अपराध स्वीकार गर्न गरेको सहमति तोडेपछि यस मुद्दालाई हेर्न जुरीको सुनुवाइ तत्कालै हुने गरी न्याय मन्त्रालयले एकजना विशेष वकिल (अदालतको मित्र/जुरी) नियुक्त गरेको छ ।

अमेरिका अहिले आफ्नो गौरवशाली विगतको फिक्का नक्कलजस्तो देखिन्छ । ऊ आफ्नै घर व्यवस्थित गर्न असमर्थ भएको छ । विश्वभर उसको विश्वसनीयतालाई चीन र रुसजस्ता निरंकुश शक्तिहरूले चुनौती दिइरहेका छन् ।

यसमा राष्ट्रपति बाइडेन आफ्नो छोराको पक्षमा उभिएका छन् भने रिपब्लिकनहरूचाहिँ चीन र युक्रेनमा हन्टर वाइडेनको व्यापारिक चासोमा केन्द्रित भएर उनीविरुद्ध खनिएका छन् । वास्तवमा राष्ट्रपति ट्रम्पले युक्रेनी प्राकृतिक ग्यास कम्पनी बुरिस्मा होल्डिंग्स (जसमा हन्टर पनि सञ्चालक थिए)सँग हन्टरको संलग्नतामाथि छानबिन गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दबाब दिएपछि नै आसन्न सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा चलखेलका लागि विदेशी हस्तक्षेपकर्तासँग साँठगाँठ गरेको आरोप लगाउँदै सन् २०१९ बाटै ट्रम्पमाथिको पहिलो महाभियोगको सम्पूर्ण प्रक्रिया सुरु गरिएको थियो ।

यी प्रकरणमा देखापरेका भ्रष्टाचार एवं राजनीतिक छलकपटका यस्ता अनैतिक हर्कत सामान्यतया संस्था कमजोर भएका र व्यक्तिवादी राजनीति हाबी भएका तेस्रो विश्वका देशका विशेषता हुन् । त्यस्ता राष्ट्रहरूलाई उनीहरूको घरेलु मामिला कसरी सञ्चालन गर्ने भनेर सल्लाह दिनमा सामान्यतः वासिङ्टन सबैभन्दा अगाडि हुने गर्छ । तर, आज उसको स्थान उल्टिएको छ र ऊ नै अरूको उपदेश सुन्नुपर्ने स्थितिमा पुगेको छ । लोकतन्त्रका रूपमा अमेरिका अहिले आफ्नो गौरवशाली विगतको फिक्का नक्कलजस्तो देखिन्छ । अमेरिका आफ्नै घर व्यवस्थित गर्न असमर्थ भएको छ । विश्वभर उसको विश्वसनीयतालाई चीन र रुसजस्ता निरंकुश शक्तिहरूले चुनौती दिइरहेका छन् । अमेरिकालाई देखाउँदै उनीहरू आफ्नो राजनीतिक प्रणाली श्रेष्ठ भएको दाबी गरिरहेका छन्, जुन हास्यास्पद छ । तर, ट्रम्प र हन्टर बाइडेनको युगमा हुने यस्तै हो ।

तल्लो तहका रिपब्लिकनमाझ ट्रम्पले समर्थनमा निरन्तर वृद्धि साक्षात्कार गरेका छन् । ट्रम्पमाथि जति धेरै आरोप लाग्दै छन्, उनलाई पुनः ह्वाइटहाउस पठाउने उनका समर्थहरूकोे संकल्प उति नै दृढ बन्दै छ । अमेरिकामा ट्रम्पका समर्थकहरूको यो विश्व दृष्टिकोणलाई आकार दिने एउटा वैकल्पिक वास्तविकता छ– उनीहरूको आफ्नै मुलुकका संस्थाहरू भ्रष्ट र पूर्वाग्रही देखिएका छन् । अमेरिकाका संस्थापकहरूले संविधान निर्माण गर्दा संस्थाहरूमाथि व्यक्ति हाबी हुनबाट रोक्न धेरै मिहिनेत गरेका थिए । 

रिपब्लिकनको मनोनयन प्रक्रिया सुरु भइसकेको छ र पार्टीका उम्मेदवारबीचको मासिक बहस अर्को हप्तादेखि सुरु हुँदै छ । भरमार चन्दा र आफ्ना समर्थकहरूको हल्लीखल्लीसहित ट्रम्प प्रारम्भिक अभियानमा अरूभन्दा निकै अगाडि देखिएका छन् । अबको केही समयपछि अदालतमा उनको सुनुवाइ सुरु हुनेछ । त्यसपछि उनले रिपब्लिकनको उम्मेदवारीको अभियानसँगै अदालतमा उपस्थितिको पनि व्यवस्थापन गर्नुपर्नेछ ।

अर्काे कुनै राजनीतिज्ञ हुन्थ्यो भने एउटै अभियोगले उसको राजनीतिक करिअर समाप्त गरिसकेको हुने थियो । तर, अहिले अमेरिकी राजनीतिमा यस्ता अनपेक्षित परिवर्तन भएका छन् कि ट्रम्पले यी अभियोगलाई सम्मानको बिल्लाका रूपमा प्रयोग गरिरहेको देखिन्छ ।

उनीविरुद्धका मुद्दाहरू उनलाई ह्वाइट हाउसको अर्को दौडबाट रोक्नका लागि हो भन्ने ट्रम्पको दाबीमा उनका समर्थक विश्वस्त छन् । यस तर्कमा उनीहरूको दृढ विश्वासले अमेरिकाको सामाजिक एवं राजनीतिक ध्रुवीकरणको गहिराईलाई नै प्रतिबिम्बित गर्छ । रिपब्लिकनको प्राइमरीमा ट्रम्पप्रति देखिएको समर्थनका कारण उनका रिपब्लिकन प्रतिस्पर्धीहरू उनीविरुद्ध लाग्नुको सट्टा अमेरिकी कानुनी प्रक्रियालाई हतियारीकरण गरिएको भनेर आलोचना गर्न बाध्य छन् ।

सामाजिक व्यवस्थाको यो विघटनले अहिले अमेरिकाको राजनीतिमा दह्रो जरा गाढेको छ । ट्रम्प यो वास्तविकताको एउटा अभिव्यक्ति मात्र हुन् । उनको अभियान सफल हुन पनि सक्छ र नहुन पनि सक्छ, तर त्यसपछि पनि अमेरिकी लोकतन्त्रका यी चुनौती बाँकी नै रहनेछन् । यसबीच, बाइडेनले यसअघि स्विङ राज्यहरूमा उनलाई पराजित गरेको तथ्यलाई मध्यनजर गर्दै उनका धेरै समर्थक उनलाई अझै पनि राजनीतिक रूपमा समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा सोचविचार गरिरहेका छन् । प्राइमरीका अभियान राष्ट्रियस्तरको भन्दा फरक हुन्छ । अधिकांश रिपब्लिकन मतदाताले यो कुरालाई पनि मनन गर्नुपर्नेछ ।

तर, ट्रम्पलाई मतदाताहरूसँग कसरी प्रस्तुत हुने भन्ने थाहा छ । अदालत अब उनको मञ्च हुनेछ । मिडियामा उनले जति धेरै स्थान पाउनेछन् ट्रम्पका लागि आफ्नो मताधार बढाउन त्यो उति नै राम्रो हुनेछ । ट्रम्पका रिपब्लिकन प्रतिस्पर्धीहरू अहिलेसम्म प्रभावशाली देखिएका छैनन्, उनीहरू आफ्नो गहिरो छाप छोड्न असफल छन् । अदालतमा र बाहिर ट्रम्पका कार्यहरू यो चुनावी चक्रमा निरन्तर हाबी रहनेछन् र तिनले उनलाई सहजै राष्ट्रपतिको प्रतिस्पर्धामा प्रवेश गर्न मद्दत गर्नेछ । यसले अमेरिकी लोकतन्त्रलाई कस्तो असर गर्ला त्यो भने अलग विषय हो ।


हर्ष वी पन्त किंग्स कलेज लन्डनको अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन् । उनी दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनको स्टडिज एन्ड फरेन पोलिसीको उपाध्यक्ष र दिल्ली विश्वविद्यालयको दिल्ली स्कुल अफ ट्रान्सनेसनल अफेयर्सका निर्देशक (मानार्थ) पनि हुन् । –एनडिटिभीबाट

ad
ad