१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राह पार्सन्स
२o८१ बैशाख २० बिहीबार १o:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

लिंगभेदले जापानी आर्थिक वृद्धिमा अवरोध

Read Time : > 2 मिनेट
राह पार्सन्स
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:oo:oo

उर्जामा भएको मूल्यवृद्धि, बढ्दो रक्षाखर्च र महामारीको असरका कारण जापानी अर्थतन्त्रले चुनौती सामना गरिरहेको छ । घट्दो जन्मदर र बढ्दो वृद्धको जनसंख्याले पनि रोजगारी बजारको स्थिरतालाई खतरामा पारेको छ । स्वतन्त्र संस्था ‘रिक्रुट वक्र्स इन्स्टिच्युट’को सन् २०२३ को एक प्रतिवेदनले सन् २०३० सम्ममा ३४ लाख १० हजार र सन् २०४० सम्ममा एक करोड १० लाख कामदार अभाव हुने संकेत गरेको छ ।

कामदार अभावका पछाडि लैंगिक असमानता पनि कारक हो । विभिन्न अध्ययनले लैंगिक समावेशीमैत्री समाज र कार्यशक्तिले नवप्रवर्तन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने देखाएको छ । जी–७ मुलुकबीच तुलना गर्ने हो भने जापान लैंगिक समानताका सन्दर्भमा कमजोर छ । विश्व आर्थिक मञ्चले हालै सार्वजनिक गरेको वैश्विक लैंगिकता प्रतिवेदनमा जापान हालसम्मकै सबैभन्दा तल्लो दर्जामा झरेको छ । यो गिरावट मूलतः नेतृत्वदायी भूमिकामा महिलाको प्रतिनिधित्वको सन्दर्भमा थप सान्दर्भिक हुन्छ ।

प्रधानमन्त्री फुमियो किसिदाले जापानमा जन्मदर बढाउन आवश्यक रहेको जनाएका छन् । उनले सन् २०३० सम्ममा टोकियो स्टक एक्सचेन्जमा सूचीबद्ध कम्पनीमा महिला कार्यकारीको संख्या ११.४ प्रतिशतदेखि ३० प्रतिशत वा सोभन्दा बढी पुर्‍र्याउने वाचासमेत गरे । जुनमा जारी भएको नीति मस्यौदाले सूचीबद्ध कम्पनीलाई बाध्यकारी रूपमा लागू हुने आरक्षणमार्फत महिलालाई नेतृत्वमा पुर्‍याउने भनिएको छ । जापानले यस्ता प्रयास पहिले पनि नगरेको होइन, तर असफल हुँदै आएको छ । एक अनुसन्धाताका नाताले मैले जापानमा विद्यमान लैंगिक मूल्य–मान्यताका कारण यी असफलता निम्तिएका हुन् भनेर भन्न सक्छु । 

जापानी लैंगिक मूल्य–मान्यता कन्फ्युसियसवादमा आधारित ऐतिहासिक पितृसत्तात्मक संरचनाबाट प्रभावित छ । पुरुषलाई परम्परागत रूपमा कमाइ गर्ने र घरको अगुवाका रूपमा लिइन्छ जब कि महिलालाई मूलतः हेरचाहकर्ता र परिवार प्रमुखको अधीनमा रहने सदस्यका रूपमा लिइन्छ । र, बालबालिका चाँडै यी मापदण्डलाई आन्तरीकृत गर्छन् । जापानी शिशु कक्षाका शिक्षकले लैंगिक पूर्वाग्रही भाषा र व्यवहारलाई प्रोत्साहन गर्छन् । बालिका मृदुभाषी बनाइन्छन् भने बालकलाई दृढ भाषा प्रयोग गर्ने बनाइन्छन् । पुस्तक र टिभीजस्ता मिडियाले यी उचनीचपूर्ण भाषिक संरचना थप बलियो बनाउँछन् ।

यस्तो सिकाइ र हुर्काइले जापानको कामदार र संगठनात्मक व्यवहार निर्माण गर्छ । यस्तो व्यवहारमा मूलतः पुरुष घरका लागि कमाउने हुन्छ भने महिला पुरुषमा आश्रित हुन्छन् । सन् १९४५ र १९९१ बीचको समय जसलाई आर्थिक चमत्कार युग भनिन्छ, त्यसवेला धेरै जापानी महिलालाई नेतृत्वको भूमिकाबाट वञ्चित गरिएको थियो । नतिजा निर्णय गर्ने स्थानमा सीमित महिलाको प्रतिनिधित्व रह्यो ।

लिंगभेदी कार्यस्थल र असमान घरायसी भूमिकाले महिलाले प्रायः पदोन्नति गुमाउँछन्, न्यून तलब हुने काम रोज्छन् र सन्तान जन्माउन चाहँदैनन् 

हाल नेतृत्व मुख्यतया पुरुष नै छन् । महिला सशक्तीकरणबारे हुने संवादमा पनि पुरुषकै नेतृत्व देखिन्छ । जापानले हालैको जी–७ लैंगिक समानता प्रतिनिधिमण्डलमा पुरुष प्रतिनिधि पठाएको छ । उच्च पारिश्रमिक हुने पदमा पुग्ने व्यक्ति जुनसुकै लिंगको भए पनि तिनबाट लामो समयसम्म काम गर्ने सामथ्र्य र उच्च बफादारीको अपेक्षा गरिन्छ । यसले जापानी महिलामा दोहोरो बोझ थपेको छ । 

विश्वमै सबैभन्दा बढी पितृत्व बिदा भए पनि जापानमा सन् २०२१ मा १४ प्रतिशत पुरुषले मात्रै यसको सुविधा लिएका छन् । स्विडेनमा हेर्ने हो भने आँकडा ९० प्रतिशतको छ । जापानी पुरुषले आर्थिक सहयोग एवं विकास संगठन (ओइसिडी) राष्ट्रमाझ सबैभन्दा कम घरायसी काम गर्छन्, अर्थात् दिनको ४१ मिनेट मात्रै काम गर्छन् । लिंगभेदी कार्यस्थल र असमान घरायसी भूमिकाले महिलाले प्रायः पदोन्नति गुमाउँछन्, न्यून तलब हुने काम रोज्छन् र पुरुषको तुलनामा सन्तान जन्माउनमा कम रुचि राख्छन् । 

जन्मदर र लैंगिक समानता बढाउन विगतका जापानी प्रयासमा आरक्षण र अभिभावकीय सहयोग समावेश थियो । तर, यी पहलकदमी पनि निस्प्रभावी साबित भए । हालैका पहलले उल्टो असमानतालाई बढाएको छ । सिंगापुरमा पनि यस्तै पहलकदमी चालिएका छन् । तर, सरकारले लैंगिक समानताका लागि नीति र शिक्षालाई आकार दिन विविध स्रोतबाट विचार, अवधारणा एवं ज्ञान बटुलिरहेको छ ।

मेरो अनुसन्धानअनुसार यो रणनीति जापानमा पनि प्रभावकारी हुन सक्छ । यसले पितृसत्तात्मक संरचनालाई प्रत्यक्ष रूपमा चुनौती दिनुको सट्टा सहमतिमा आधारित निर्णय गर्ने जापानको सांस्कृतिक झुकावसँग तारतम्य मिलाएर खुला छलफलमा आफ्ना विचार र इच्छा व्यक्त गर्ने अवसर प्रदान गर्छ ।

हामीलाई व्यापक समीक्षा चाहिएको छ, जसले मानव अधिकार र अर्थतन्त्रमा हुने प्रभावलाई ध्यानमा राख्दै लैंगिक भूमिकालाई आकार दिने जीवनका सबै चरण र सामाजिक पक्षको जाँच गर्नुपर्छ । जापानमा लैंगिक असमानता पहिले नै मानसिक स्वास्थ्य समस्यासँग जोडिएको छ । विशेषतः सम्बन्धविच्छेद भएका महिला र एकल आमाका सन्दर्भमा मानसिक समस्या देखिएका छन् । 

यी समीक्षाले युवा पुस्ताबाट हुने विभिन्न प्रयासलाई समावेश गर्न सक्छ । विभिन्न अनुसन्धानअनुसार हाल धेरै जापानी युवा परम्परागत लैंगिक भूमिकाबाट टाढिँदै छन् । यी युवा स्थापित सामाजिक पदानुक्रमबाहिरका पेसा पछ्याएर र विवाहको विचार अस्वीकार गरेर वैकल्पिक मार्ग खोजिरहेका छन् । जापानले विविध परिप्रेक्ष्य अँगालेर लैंगिक समानतालाई नयाँ आकार दिन सक्छ । कैयौँ इलाकामा समलिंगी विवाह अझै पनि असंवैधानिक छ र यसबाट पार पाउन सम्भवतः एक पुस्ताको समय लाग्न सक्छ, तर संवाद भने अहिल्यैदेखि सुरु गर्न आवश्यक छ । 

(पार्सन्स एसओएस युनिभर्सिटी कलेज अफ लन्डनकी वरिष्ठ शिक्षक शोधकर्ता एवं अध्यापक हुन्) द कन्भर्सेसनबाट
 

ad
ad