१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित राप्ती नदीले कटान गरेको तटबन्ध र सडक । तस्बिर : नयाँ पत्रिका
नवीन गुरुङ संखुवासभामा
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तटबन्ध भत्काएर राप्ती नदी गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभामा
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:४o:oo

 राप्ती नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि राप्तीसोनारी र नरैनापुरका स्थानीय चिन्तित भएका छन् । नदीले राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित तटबन्ध भत्काउँदै कटान सुरु गरेको छ । यसबाट राप्तीसोनारी गाउँपालिका– ७ तथा नरैनापुर गाउँपालिका ५ र ६ का सर्वसाधारण प्रभावित भएका छन् ।

 राप्तीसोनारी– ७ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले बाढीले तटबन्धसँगै सडक बगाएको जानकारी दिए । सडक कटान भएपछि खल्ला झगडिया, देउपुर्वा, मटेहिया, गंगापुर, कुदरबेटवा, कुडुवा, लालपुर, दोन्द्रा, नेवाजी गाउँका सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ । ‘यी गाउँलाई जोड्ने सडक कटान भएपछि विद्यार्थी, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आउजाउ गर्न समस्या भएको छ । सडक नहुँदा बालबालिका विद्यालय आउनबाट वञ्चित भएको अवस्था छ,’ उनले भने । 

राप्ती नदीले राप्तीसोनारी– ७ खल्ला झगडियामा निर्माण भएको तटबन्ध भत्काएर खेतीयोग्य जमिनसमेत काट्न थालेको राप्तीसोनारी– ७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए । उनले भने, ‘नदीले तटबन्ध भत्काइसक्यो । अब थोरै कटान गरे खेतीयोग्य जमिनसँगै बस्तीमा पस्ने खतरा छ,’ उनले भने, ‘वेलैमा तटबन्ध नगरे ठूलो क्षति हुनेछ ।’ बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि जमिन कटान गर्दै नदी बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका– ७ नयाँ बस्ती फरेदा गाउँका शंकर यादवले बताए । उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्तीसोनारी– ७ का देउपुर्वा, खल्ला झगडिया, लालपुर, पिप्रहवा, माथिल्लो झगडिया र नरैनापुर– ६ का दोन्द्रा, कुडुवा, कुदरबेटवा, गंगापुर, भोज भगवानपुर तथा नेवाजी गाउँका झन्डै पाँच सय परिवार विस्थापित हुने सम्भावना बढेको छ । 

राप्तीसोनारी– ६ को विसम्भरपुर र पदनाहा गाउँनजिकको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट पनि नदीले कटान तीव्र पारेको राप्तीसोनारी– ६ का वडाध्यक्ष लवराज खरेलले बताए । तटबन्ध निर्माण नभएकाले राप्तीसोनारीको ६ र ७ नम्बर वडाका पदनाह, भवनियापुर, पहाडीपुर, वसन्तापुर, गेन्दवा, सर्रा, सर्रीभर्ठा गाउँ जोखिममा परेको अध्यक्ष खरेलले जानकारी दिए ।

अरुण नदीको बाढीले भोटखोलाका १७ घर जोखिममा
अरुण नदीमा आएको बाढीले भोटखोला गाउँपालिकाका १७ घर र एक बालकेन्द्र विद्यालय जोखिममा परेका छन् । बाढीले माटो कटान गर्न थालेपछि भोटखोला गाउँपालिका– ५ स्थित कपासेमा रहेका १७ घर जोखिममा परेका हुन् । स्थानीय सञ्जय खालिङ राईले अरुण नदीको तटीय क्षेत्रमा रहेकाले ती घर बाढीको जोखिममा परेको बताए ।

उनका अनुसार उत्तरबहादुर राई, बलवीर खम्बू राई, श्यामकुमार राई, मनोज राई, बलबहादुर राई, राजकुमार राई, बिटिस राई, भविन राई, प्रेम राई, रेशकुमार राई, सुरेन्द्र राई, सनिता राई, चन्द्रबहादुर राई, सविन राई, भीमराज राई, गौदा राई, रानीमाया राईका घर उच्च जोखिममा छन् ।

माटो कटान गर्न थालेपछि स्थानीय जम्मा भएर उत्तरबहादुरको घरका सामान सुरक्षित ठाउँमा सारेका छन् । उनी दुवै मिर्गौला फेल भई काठमाडौंमा डायलाइसिस गराइरहेका छन् । भोटखोलाको ४ र ५ नम्बर वडा अरुण नदीले छुट्टाएको छ । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बाढीले माटो कटान गर्दा वारिपारि गर्ने झोलुङे पुलसमेत जोखिममा परेको जानकारी दिए ।

बाढीले विद्यालय भवन क्षतिग्रस्त, पठनपाठन बन्द
वर्षासँगै आएको बाढीले तिला गाउँपालिका– ६ रुखेडास्थित देवी महादेव माध्यमिक विद्यालयको भवनमा क्षति पुर्‍याएपछि पठनपाठन प्रभावित भएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयको भवनमा क्षति पुगेपछि दुई दिनदेखि पठनपाठन बन्द भएको छ । 

प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । उनले भने, ‘बाढीले विद्यालयको विज्ञान ल्याब, कम्प्युटर कक्षा र स्कुलको कार्यालयमा क्षति पुगेको छ । भवनभित्रै बाढी पस्नुका साथै भवन पनि भत्किएको छ ।’ यहाँ जिल्लाको ढिपु, सुडी र रिपीका दुई सय २० जना विद्यार्थी अध्ययरत छन् । प्रधानाध्यापक रावतका अनुसार बाढीले विद्यालयका भौतिक संरचना क्षति गर्नुका साथै रिपी र सुडीदेखि विद्यालयसम्म आवतजावत गर्ने दुईवटा काठेपुल पनि बगाएको छ । पुल बगेपछि विद्यालय आवतजावतमा समेत समस्या छ ।

प्रधानाध्यापक रावतका अनुसार बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आइसकेको छैन । बाढीपछि प्रहरीलाई खबरे गरे पनि गाउँपालिका मुकाम रारालिहीस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी शुक्रबार मात्रै पुग्ने जनाइएको छ । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार तत्काल स्कुलमा पठनपाठन गर्न सक्ने अवस्था छैन । विद्यालयमा ढुंगा, गिटी, बालुवा र झारपातले भरिएको छ । विद्यालय जाने काठेपुल पनि बगाएको छ । दुई–चार दिनमा खोलामा पानी घटेपछि मात्रै विद्यालय खोल्ने तयारी छ । खोलामा पानी नघटेको खण्डमा वैकल्पिक उपाय गरेर पठनपाठन सुरु गर्ने विद्यालयको योजना छ ।  

ad
ad