Skip This
यार्साबाट मात्रै डोल्पा भित्रियो एक अर्ब ४७ करोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ४ सोमबार
  • Saturday, 27 July, 2024
२o८o भदौ ४ सोमबार १२:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यार्साबाट मात्रै डोल्पा भित्रियो एक अर्ब ४७ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ४ सोमबार १२:o२:oo

हिमाली जिल्ला डोल्पा जडीबुटीको भण्डारको रूपमा चिनिन्छ। डोल्पामा पहेँलो सुनको रूपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा, जटामसी, गुच्ची च्याउ, सेतकचिनी, पदमचाल, पाँचऔँलेलगायत विभिन्न प्रजातिका जडीबुटी प्रसस्त मात्रामा पाइने गर्दछन्।

त्यसो त यस वर्ष यार्चागुम्बा खरिदका लागि मात्रै डोल्पामा एक अर्ब ४७ करोडभन्दा धेरै रकम भित्रिएको तथ्यांकले देखाएको छ। यार्सागुम्बा बिक्री–वितरणका लागि शे–फोक्सुन्डाे राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै पाँच सय ८८ किलोबराबरको छोड पुर्जी जारी भएको छ।
                    
प्रतिकिलो २५ लाखले मात्र एक अर्ब ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन्। ३० लाखका दरले हिसाब गर्ने हो भने झन्डै दुई अर्ब पुग्ने उनीहरूको भनाइ छ।

यस वर्ष डोल्पामा प्रतिकिलो १० लाखदेखि ३० लाखसम्म यार्सागुम्बाको खरिद–बिक्री भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन्। एक दशकभन्दा धेरै पहिलाबाट डोल्पामा यार्सा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सा पहिलो, दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मूल्य पनि त्यहीअनुसार हुने गर्दछ।

डोल्पा गुण र परिमाणको आधारमा नेपालमै धेरै यार्सागुम्बा पाइने जिल्ला भएकाले यस वर्ष राम्रो यार्साको ३० लाखसम्म कारोबार भएको निकुञ्जको भनाइ छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीकाले एउटै जिल्लामा करिब ४५ दिनको अवधिमा गरिएको दुःखले डेढ अर्बभन्दा धेरै रकम भित्रिनु सुखद कुरा भएको बताए।

यार्साबाट प्राप्त यो रकम जिल्लाका ग्रामीण बस्तीमा रहेका नागरिकका हातहातमा पुगेको यसले डोल्पावासीको जीवनस्तर सुधारमा ठूलो टेवा पुग्ने उनले बताए।

त्यति मात्र नभई यो रकम विदेशबाट डलरको रूपमा भित्रिने भएकाले समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने भण्डारीको भनाइ छ। त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने करेलीकाँडा गाउँमा मात्रै झन्डै एक करोडभन्दा बढी भित्रिएको छ।

यार्सागुम्बाकाे ब्रिकी–वितरणबाट यस वर्ष एक करोडभन्दा बढी रकम भित्रिएको स्थानीय चन्द्रबहादुर लामाले बताए। उनका अनुसार विगतका वर्षभन्दा यो वर्ष भित्रिएको रकम थोरै हो।

‘दुई–तीन वर्षअघिसम्म दुई करोडभन्दा धेरै रकम भित्रिने गर्थ्याे। सहर–बजारमा घर–घडेरी जोड्थे, अहिले यार्साको पैसाले स्थानीयहरू वर्षभरिका आवश्यकता पूरा गर्छन्,’ लामाले भने । यस वर्ष निकुञ्जबाट मात्रै यार्सागुम्बा खरिद–बिक्रीका लागि दुई सय ४५ किलोबराबरको छोड पुर्जी वितरण भएको निकुञ्जले जनाएको छ।

आव ०७९/०८० मा मात्रै निकुञ्जले दण्ड जरिवाना, यार्सागुम्बा, पर्यटन, अन्य जडीबुटीलगायतबाट कुल दुई करोड तीन लाख ८४ हजार ६ सय ४२ रुपैयाँ राजस्व उठाएको छ। आव ०७८/७९ भन्दा अघिल्लो आवमा ३५ प्रतिशतले राजस्वमा वृद्धि भएको निकुञ्जले जनाएको छ।

त्यसैगरी डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै तीन सय ४३ किलोबराबरको यार्सागुम्बाको छोडपुर्जी वितरण भएको छ। अघिल्लो आवमा मात्रै वनले एक करोड १२ लाख ३९ हजार राजस्व संकलन गरेको डिभिजन वन अधिकृत महेश कुमाईंले जानकारी दिए।

यसरी व्यापारीले संकलन गरेको सयौँ किलो यार्सागुम्बा जहाज र हेलिकोप्टर चार्टर गरेर काठमाडाैंसम्म ढुवानी हुने गरेको छ।