१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १ शुक्रबार १६:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रधानमन्त्रीहरू परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छ : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १ शुक्रबार १६:२२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारूढ पार्टीका बैठकमा बालुवाटार जग्गा प्रकरणलाई सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन्।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्तागठबन्धनले घटना सामसुम बनाउन खोजेको लिङ्देनको आरोप छ।

‘आफ्नो पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन ? अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैसा लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर् भनेको छ । खै सरकार ? यदि यो सरकार भ्रष्टाचारको विरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारूढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ,’ उनले भने।

अध्यक्ष लिङ्देनले ललितानिवास जग्गा प्रकरण सामसुम बनाउन अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरूलाई सरुवा गर्न लागेको दाबी गरे। उनले सरकारले नै देशमा अकन्टक लुट मच्चाउने योजना बनाइरहेको गम्भीर आरोपसमेत लगाएका छन्।

सरकार यसरी नै चलिरहने हो भने ०८४ सालको निर्वाचन नआउने लिङ्देनको दाबी छ। ‘कति पार्टीहरू मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रूपमा रहिरहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ,’ उनले भने।