
टिपरमा आगो लगाउने, बिमाबापतको रकम असुल गर्ने र समस्याबाट मुक्त हुने योजना बनाएका प्रदीप आफैँ प्रहरी नियन्त्रणमा
टिपरमा आगो लगाउनेविरुद्ध जाहेरी बोकेर गत १३ साउनमा रामेछाप मन्थली नगरपालिका– १२ का ३४ वर्षीय प्रदीपकुमार खत्री प्रहरी वृत्त चापागाउँ पुगे । र, निष्पक्ष छानबिनको माग राख्दै प्रहरीलाई दबाब दिए । प्रहरीले जब अनुसन्धान थाल्यो, टिपरमा आगो उनैले लगाएको रहस्य खुल्यो । कारण थियोे– बिमा रकम असुली ।
महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार खत्रीले किस्ताबन्दीमा भुक्तानी गर्ने गरी १३ महिनाअघि १३ लाख रुपैयाँमा बा.३ख २८९४ नम्बरको टिपर खरिद गरे । टिपरको १२ लाख रुपैयाँमा बिमा गरे । र, भाइ भीमसेन खत्रीलाई चलाउन दिए । चार महिनाअघि टिपर अचानक बिग्रियो । तर, मर्मतका लागि उनले लगानी जुटाउन सकेनन् । चल्दाचल्दैको टिपर गोदावरी नगरपालिका– १२ ठेचोस्थित नख्खुखोला करिडोरमा थन्किन पुगेपछि बैंकको किस्ता तिर्न पनि उनलाई समस्या भयो । तनावमा रहेका उनको दिमागमा नयाँ जुक्ति फुर्यो– टिपरमा आगो लगाउने, बिमाबापतको रकम असुल गर्ने र समस्याबाट मुक्त हुने ।
उनले आफ्नो योजना भाइ भीमसेनलाई भने । दाइको योजनामा भाइ पनि सहमत भए । र, आगो लगाउन सिन्धुली दुधौली नगरपालिका– १४ का २५ वर्षीय रंगबहादुर बुढाक्षेत्रीलाई तयार पारे । नख्खुखोलाको सुनसान सडकखण्डमा राखिएको टिपरमा आगो लगाउन उनीहरूले ११ साउनको मध्यरात तय गरे । योजनाअनुसार तीन भाइ मध्यरातको १ बजे टिपरनजिक पुगे । टिपरको अगाडितर्फ पेट्रोल छर्केर आगो लगाए । पेट्रोल छर्किएको जति भाग आगोले जल्यो । तर, टिपरको बाँकी भाग केही भएन ।
१३ साउनको करिब २ बजे प्रदीप हारगुहार गर्दै प्रहरी वृत्त चापागाउँ पुगे । दोषीविरुद्ध कडा कारबाही गर्न भन्दै जाहेरी लेखे । सँगै बिमा रकम प्राप्त गर्न प्रहरीसँग सिफारिसपत्र पनि मागे । तर, प्रहरीले अनुसन्धानपछि मात्रै दिन सकिने भन्दै सिफारिसपत्र ‘होल्ड’ गर्यो । र, घटनाको अनुसन्धानमा लाग्यो ।
टिपरको ‘फ्रन्ट साइड’बाहेक अन्यत्र केही नभएको भेटिएपछि प्रहरीलाई घटनाप्रति शंका लाग्यो । प्रहरीले घटनाको प्राविधिक अनुसन्धान थाल्यो । प्रहरीले घटनाको रात टिपरका मालिक प्रदीपको लोकेसन ‘ट्र्याक’ गर्यो । गतिविधिमा कैफियत देखिएपछि उनलाई निगरानीमा राख्यो । र, अनुसन्धान प्रक्रियालाई निरन्तर अघि बढायो । यही क्रममा प्रहरीले जब रंगबहादुरलाई पक्राउ गर्यो, घटनाको गुत्थी सविस्तार खुल्यो ।
प्रहरी वृत्त चापागाउँका प्रमुख डिएसपी कृष्णकुमार चन्दले बिमाबापतको १२ लाख रुपैयाँ असुल्न प्रदीपले आफ्नै टिपरमा आगो लगाएको अनुसन्धानबाट खुलेको बताए । ‘टिपर आगो लागेको र बिमाबापतको रकम लिन सिफारिस गरिदिन भन्दै प्रदीप हामीकहाँ आए । उनको हाउभाउ अस्वाभाविक देखिएपछि घटनालाई फरक ढंगले अनुसन्धान गर्यौँ । नभन्दै बिमाबापतको रकम असुल गर्न उनले आफ्नै टिपरमा आगो लगाएको खुल्यो । उनीहरूविरुद्ध थप अनुसन्धानका लागि अहिले सात दिनको म्याद थपिएको छ,’ उनले भने ।