१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धावनमार्गमा अड्किएको एयर इन्डियाको जहाज मर्मतपछि उड्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:५६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को धावनमार्गमा अड्किएको एयर इन्डियाको उडान नम्बर २१६ जहाज मर्मतपछि दिल्ली उडेको छ । मंगलबार ४:१० बजे काठमाडौंबाट दिल्लीका लागि उडानतालिका रहेको जहाज धावनमार्गमा पुगेपछि ह्विल लक भएको थियो ।

ह्विल लक भएपछि जहाज करिब ५० मिनेट धावनमार्गमै अड्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए । ‘रनवेमा ह्विल लक भएपछि ट्याक्टरले तानेर पार्किङमा ल्याइएको थियो,’ उनले भने, ‘जहाज पार्किङमा ल्याएर मर्मत गरेपछि साँझ करिब ७ बजेतिर दिल्लीतर्फ उडेको थियो ।’

जहाजमा एक सय ७९ जना यात्रु रहेका थिए । जहाज धावनमार्गमा अड्किएपछि कतार र थाई स्माइलको जहाज आकाशमै होल्ड गर्नुपरेको थियो । यस्तै, आन्तरिक उडानतर्फ धनगढीबाट काठमाडौं आइरहेको श्री एयरलाइन्सको जहाज भैरहवा विमानस्थल र नेपालगन्जबाट आइरहेको यती एयरको जहाज पोखरा अवतरण गरिएको थियो । रनवे क्लियर हुनेबित्तिकै सबै जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको प्रवक्ता झाले बताए ।

यसअघि फागुन ०७१ मा टर्कीबाट काठमाडौं आएको टर्किस एयरको जहाज धावनमार्गमा दुर्घटनामा पर्दा चार दिनसम्म उडान नै ठप्प भएको थियो । भारतबाट स्पेसल किट ल्याएर जहाजलाई धावनमार्गबाट पन्छाएर उडान सुचारु गरिएको थियो । सो जहाजलाई अहिले सिनामंगलमा ‘एभिएसन म्युजियम’ बनाइएको छ । त्रिभुवन विमानस्थलमा एउटा मात्र धावनमार्ग हुँदा साना–ठूला दुर्घटनाहरू हुनेबित्तिकै उडान नै ठप्प हुने अवस्था छ ।

ad
ad