१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुसले सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा लगायो प्रतिबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:२४:oo

रुसको डिजिटल विकास मन्त्रालयले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । इन्टरफ्याक्स न्युज एजेन्सीका अनुसार एप्पलका अन्य उत्पादन आइबुक, ट्याबलेट प्रयोगमा पनि रोक लगाएको छ । यी डिभाइसबाट सरकारी कामकाम गर्न नसकिने बताइएको छ । 

संघीय सुरक्षा सेवा (एफएसबी)ले एप्पलका डिभाइसमार्फत अमेरिकाले रुसको जासुसी गरेको आरोप लगाएको छ । दुई महिनाअघि एफएसबीले अमेरिकाले हजारौँ आइफोन ह्याक गरेको दाबी गर्दै अमेरिकी ह्याकरले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्यका डिप्लोम्याट (कूटनीतिज्ञ)लाई निसाना बनाएको बताएको थियो । 

सोभियत संघका देशको जासुसी
एफएसबीले केही स्थानीय रुसी व्यक्ति र सोभियतको संघको हिस्सा रहेका केही देशमा काम गरिरहेका कूटनीतिज्ञको फोन ह्याक गरेको दाबी गरेको छ । अमेरिकाको विशेष सेवाले यो काम गरेको उसको भनाइ छ । यस्तै, एफएसबीले अमेरिकी नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) र एप्पलबीच नजिकको सम्बन्ध रहेकोसमेत दाबी गरेको थियो ।

यता, एप्पल कम्पनीले भने आफूले त्यस्तो केही नगरेको बताएको छ । आफूले कुनै देशको सरकारसँग मिलेर फोनमा तलमाथि नगरेको र आइन्दा पनि नगर्ने बताएको छ । यद्यपि, एफएसबीले यसबारे कुनै प्रमाण भने दिएको छैन । 

२०१९ देखि नै जासुसी
एनएसएले यसबारेमा कुनै स्पष्टीकरण दिन अस्वीकार गरेको छ । मस्कोस्थित क्यास्पस्र्की ल्याब कम्पनीले अपरेसनमार्फत आफ्ना कैयौँ कर्मचारीको डिभाइससँग छेडखानी गरेको बताएको छ । र, यसको पहिलो प्रमाण सन् २०१९ मा भेटिएको बताएको छ । अधिकारीलाई आइफोन प्रयोग नगर्न निर्देशन एफएसबीको रिपोर्टपछि रुसी विदेश मन्त्रालयले अमेरिकामा बनेका आइफोन विश्वास गर्न योग्य नभएको भन्दै सरकारी अधिकारीलाई आइफोन प्रयोग नगर्न निर्देशन दिएको छ ।

मन्त्रालयले भनेको छ, ‘आइफोन पारदर्शी छैन । यसमाथि साइबर हमला गरी ठूलो मात्रामा डेटा संग्रहण गरिँदै छ । अमेरिकी खुफिया एजेन्सीले वर्षौंदेखि इन्टरनेट प्रयोगकर्ताको जानकारीविनै उनीहरूको डेटा चोरी गर्न आइटी कम्पनीलाई प्रयोग गरेको छ ।’

हार्वर्ड युनिभर्सिटीको वेलफेर सेन्टर साइबर सन् २०२२ पावर इन्डेक्सअनुसार साइबर पावरको विषयमा अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछि चीन, रुस, बेलायत र अस्ट्रेलिया आउँछ । यसअघि क्रेमलिनले रुसमा सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै अधिकारीलाई आइफोन प्रयोग नगर्न निर्देशन दिएको छ । 

ad
ad