१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २० बिहीबार १४:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनुसन्धान गर्न गृहको टोली संखुवासभामा, १० प्रहरी र नौ कैदीमाथि छानबिन   

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३३:oo

जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको सुरक्षाघेराभित्र शंकास्पद मृत्यु भएपछि छानबिन गर्न गृह मन्त्रालयको टोली संखुवासभा आइपुगेको छ।

शुक्रबार गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय टोली संखुवासभा आइपुगेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। 

उक्त टोलीले आजैदेखि काम सुरु गर्ने प्रजिअ कार्कीले बताए। टोलीले घटनास्थल वरपरलगायत विभिन्न किसिमले छानबिन सुरु गर्ने जनाइएको छ। 

उक्त टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय संखुवासभाका अधिकृत भोगेन्द्र खड्का छन्। 

घटनाको अनुसन्धान साँघुरिँदै गएको प्रजिअ कार्कीले बताए। उनका अनुसार अहिले कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी र नौजना कैदीलाई नियन्त्रणमा लिएर छानबिन र अनुसन्धान भइरहेको छ। 

कारागारको सुरक्षामा खटिएका असइ (प्रहरी सहायक निरीक्षक) लक्ष्मी चौधरीको नेतृत्वमा रहेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

जसमा हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनीष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको छ। 

त्यसैगरी कारागारका चौकीदार रामकुमार कार्की, कुमार श्रेष्ठ, अनिष शर्मा, सुमन सारू, टीकाराम भनिने टीकाराज चौहान, सचिन राई, राम गुरुङ, नवीनकुमार राई र योगेन्द्रबहादुर गुरुङलाई प्रहरीले कारागारबाट निकालेर हिरासतमा राखेको जनाएको छ। 

बिहीबारदेखि नै घटनास्थलमा आएर कोसी प्रदेश प्रहरी एसपी ऋषिराम कँडेलकाे टोलीले कारागारको सिसिक्यामेरा फुटेज नियन्त्रणमा लिइसकेको छ। सो टोलीमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) जितेश दाहाल, सइ (प्रहरी नायव निरीक्षक) रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई रहेका छन्। 

जिल्लास्थित समितिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालय मुद्दाफाँटका नायब सुब्बा तारणी घिमिरे सदस्य रहेको टोलीले समेत काम गरिरहेको छ। 

यता मृतकका आफन्तले निष्पक्ष छानबिनको माग गर्दै शव बुझेका छैनन्। घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने मृतकका काका कृष्ण तोलांगीले बताए। 

घटनाको निष्कर्ष पुग्न र दोषीलाई कारबाही गर्नुपर्ने भन्दै संखुवासभामा क्रियाशील सातवटा राजनीतिक दलले निष्पक्ष छानबिनको माग गर्दै कार्यदल गठन गरेको छ। नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दीपक खड्काले नागरिकले न्यायको अनुभूति पाउने गरी काम गर्नुपर्ने भन्दै प्रशासनलाई अनुरोध गरेका छन्। घटनाको निष्पक्ष छानबिनको माग गर्दै विभिन्न संघसंगठन र मानव अधिकार शान्ति समाजले समेत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। 

बुधबार बिहान नुवाकोट ककनी- ७ का आकाश बलामी र संखुवासभा मादी– ५ का विनोद तोलांगीको मृत्यु भएको थियो।
 

ad
ad