Skip This
नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसुरमा कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख २७ बिहीबार o६:o९:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसुरमा कांग्रेस सांसद डा. सुनील शर्मा पक्राउ

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o६:o९:oo

विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको सञ्चालकसमेत रहेका कांग्रेस सांसद डा. सुनील शर्मा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका छन् । बिहीबार गोल्फुटारस्थित निवासबाट पक्राउ परेका उनले आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सक शिक्षा अध्ययन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । शर्मा मोरङ ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सिआइबीका अनुसार शर्माले लिएको कोड नं. ६५०४ र रोल नम्बर १०११७ को आइएस्सीको प्रमाणपत्र नक्कली हो । उक्त प्रमाणपत्र उनले सन् १९९६ मा भारतको बिहारस्थित बिडिबिकेजी कलेजबाट अध्ययन गरेको भनेर पेस गरेका थिए । सोही प्रमाणपत्रका आधारमा उनले एमबिबिएस अध्ययन गरेर नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएका थिए । काउन्सिलले नै शर्माको शैक्षिक योग्यताको प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्न अनुरोध गरेपछि सिआइबीले चेकजाँचका लागि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीलाई पत्र काटेको थियो । बोर्डले बिहारको परीक्षा बोर्डलाई त्यसबारे पत्राचार गर्दा शर्माले सो कलेजमा अध्ययन नै नगरेको पुष्टि भएको हो । 

उक्त प्रमाणपत्र ‘अपुष्टि’ भएको भएको भन्दै गत वर्ष ५ साउनमा नै सिआइबीलाई पत्राचार गरेका थियो । दुईपटकसम्म प्रमाणपत्र चेकजाँच गर्दा ‘इक्विभ्यालेन्ट’ भएको नभेटिएपछि शर्मालाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । 

‘शैक्षिक योग्यताको प्रमाणपत्रमा कैफियत देखिएपछि सांसद शर्मा पक्राउ परेका छन् । यो विगतकै अनुसन्धानको सिलसिला हो । यसअघि प्रहरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रधारी केही डाक्टर पक्राउ गरेको थियो, केही फरार थिए । तर, प्रहरीको अनुसन्धान जारी थियो । यही क्रममा शर्मालाई पक्राउ गरिएको हो,’ उनले भने । 

एमबिबिएस अध्ययनका लागि शर्माले पेस गरेको नक्कली शैक्षिक प्रमाणपत्र

सिआइबीले सांसद शर्मालाई पक्राउ गरिएको कारणबारे प्रतिनिधिसभालाई जानकारी गराइसकेको छ । सिआइबीले प्रतिनिधिसभामा पेस गरेको पत्रमा लेखिएको छ, ‘शैक्षिक प्रमाणपत्र प्रमाणीकरण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको चलानी नम्बर ५ साउन ०७९ को पत्रबाट १९९६ मा रोल कोड ६५०४, रोल नंं. १०११७, आइएस्सी तहको सुनीलकुमार शर्माको कैफियतमा अपुष्टित भनी लेखिआएको र सो सन्दर्भमा उक्त शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसुरमा पक्राउ परेको हो ।’

०७३ असारमै नक्कली डाक्टर पक्राउ गर्न सिआइबीले मुलुकभर ‘अप्रेसन क्वाक’ सञ्चालन गरेको थियो । घटनामा ३६ डाक्टर पक्राउ परेका थिए । सयभन्दा धेरै डाक्टर फरार थिए, जसमा शर्मा पनि थिए । सिआइबीका तत्कालीन प्रमुख नवराज सिलवालले उक्त अप्रेसनका क्रममा शर्मा पनि दोषी भेटिएको र उनले चिकित्सा कर्म नगरेको हुँदा पक्राउ नगरिएको बताएका छन् । उनलाई पक्राउ नगरिनुको अर्को कारण शक्तिकेन्द्रको दबाब रहेको पनि उनको भनाइ छ । 

शर्मा पक्राउपछि बिहीबारै सिलवालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिआइबीले २०७३ मा सयौँ नक्कली प्रमाणपत्रधारी शंकास्पद डाक्टरमाथि अनुसन्धान गर्न फाइल खोलेको थियो । नेता, कर्मचारी र बडे व्यापारीका साला–साली, भान्जी, ज्वाइँ, छोरी, बुहारी, भतिज आदिको नाम आएपछि पूरै अनुसन्धान रोक्न तत्कालीन शक्तिकेन्द्र सक्रिय भए । प्राक्टिसमा नरहेको र पब्लिक हेल्थमा खतरा नभएको ठम्याइपछि डा. सुनील शर्मालगायत केहीमाथिको अनुसन्धान अगाडि बढेन ।’

उक्त अप्रेसनमा सिआइबीले त्यसवेला काठमाडौंबाट १३, वीरगन्जबाट नौ, विराटनगर र चितवनबाट तीन–तीन, ललितपुर र धनुषाबाट दुई–दुई तथा इटहरी, झापा, पोखरा र दाङबाट एक–एक डाक्टर पक्राउ गरेको थियो । उनीहरू त्यसवेला राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक, कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकलगायत प्रतिष्ठित अस्पतालमा कार्यरत थिए । 

०७३ को ‘अप्रेसन क्वाक’मा जोगिएका शर्मालाई ०७४ मा कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि मोरङ ३ बाट टिकट दियो, तर पराजित भए । उक्त क्षेत्रमा एमाले नेता भानुभक्त ढकालले जिते । गत निर्वाचनमा पुनः सोही क्षेत्रमा कांग्रेसबाटै टिकट पाएका उनले ढकाललाई नै हराएर निर्वाचित भए । 

नक्कली शैक्षिक प्रमाणपत्र लिएकै कसुरमा अन्य चार चिकित्सक पनि पक्राउ 
सिआइबीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र लिएकै कसुरमा अन्य चार डाक्टरलाई पनि बिहीबारै पक्राउ गरेको छ । पक्राउ पर्ने महोत्तरी पिपरा– ८ का डा. रञ्जितकुमार यादव, रौतहटका डा. रामबाबु यादव, डा. अमित चौधरी र डा. एलिना चौधरी छन् । 

रामबाबु रौतहटस्थित अस्पतालमा कार्यरत थिए । उनलाई सिआइबीले रौतहटबाटै पक्राउ गरेको हो । बाँकी सबै काठमाडौंमा पक्राउ परेका हुन् । उनीहरूले नक्कली प्रमाणपत्रकै आधारमा प्रतिष्ठित अस्पतालमा काम गर्दै आएका थिए । 

सिआइबी प्रवक्ता एसपी नवराज अधिकारीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेका शर्मासँगै अन्य चार अभियुक्त पनि पक्राउ परेको बताए । उनले भने, ‘नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेका शर्मासँगै अन्य चारजना पनि पक्राउ परेका छन् । जसमध्ये एकलाई काठमाडौंबाहिरबाट पक्राउ गरिएको छ । बाँकी चार काठमाडौंमै पक्राउ परेका हुन् । उनीहरूविरुद्धको अनुसन्धान जारी छ ।’

शर्माको सचिवालयले भने बिहिबार साँझ नै विज्ञप्ती निकालेर रिसिइएबी साँध्ने मनसायले पक्राउ गरिएको दाबी गरेको छ । प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेपछि शर्मालाई पक्राउ गरिएको विज्ञप्तीमा उल्लेख  छ । 

जो ०७३ को ‘अप्रेसन क्वाक’मा पक्राउ परेका थिए
पुनम कर्ण, बुद्धिमान श्रेष्ठ, लिली राजवंशी, विनिता अधिकारी, रवेत रञ्जनकुमार ठाकुर, वोदिता आचार्य, दीपेश पौडेल, गजानन्दप्रसाद भण्डारी, सञ्जय यादव, सन्तोष झा, गणेश साह, निलमा खड्का, विनिता मण्डल, राहिल फराज अन्सारी, श्रीराम घिमिरे, कुशराज गिरी, पन्नलाल पटेल, महेश्वर यादव, निभेषपाल रमन, मोहम्मद रुहुल्लाह, रन्धीर राजवंशी, सुनील आचार्य, मोहम्मद अबुल कलाम, इसादुल हक, सरोजकुमार सिंह, रजनी अग्रवाल, रवीन्द्रकुमार पाण्डे, रामजी यादव, रामकुमार प्रधान, विष्णु भुसाल, अरुणकुमार गुप्ता, सञ्जयकुमार दास, दिनेशकुमार साह, मनीष अर्याल, राजन पुरी र जावेद अख्तर अन्सारी ।

सात वर्षपछि खुल्यो नक्कली डाक्टरको फाइल 
नेपाल प्रहरीले नेपाल मेडिकल काउन्सिलसँग मिलेर सात वर्षअघि ०७३ मै नक्कली प्रमाणपत्रधारी चिकित्सकमाथि अनुसन्धान थालेको थियो । मेडिकल काउन्सिलकै केही अधिकारीले यस्तो सूचना दिएपछि प्रहरीले सबै चिकित्सकको आइएस्सी तहको शैक्षिक प्रमाणपत्रको विवरण झिकाएर छानबिन थालेको थियो । जसक्रममा करिब एक हजार चिकित्सकको प्रमाणपत्रमा कैफियत रहेको आकलन भएको थियो । तर, पक्राउ पर्ने चिकित्सकको संख्या भने थोरैमा सीमित भयो । पहुँचवाला चिकित्सकका कारण प्रहरीको त्यो अप्रेसन नै पूरा हुन पाएन । त्यसमध्ये एक थिए बिहीबार पक्राउ परेका कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्मा ।  

सात वर्षपछि फेरि यतिवेला सिआइबीले नक्कली प्रमाणपत्रकारी चिकित्सकको फाइल खोलेको छ । जसअन्तर्गत बिहीबार पाँच पक्राउ परेका छन् भने अन्यको विवरणमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ । ‘नक्कली प्रमाणपत्रधारी चिकित्सकमाथि भएको पुरानै अप्रेसनको निरन्तरता हो,’ सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्य भन्छिन्, ‘विगतमा नभेटिएका र छानबिन नटुंगिएकामाथि हामीले फेरि अनुसन्धान अघि बढाएका हौँ ।’ सिआइबी स्रोतका अनुसार हाल अदालतले आठजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, जसमध्ये पाँच मात्र पक्राउ परेका छन् । दबाबकै कारण विगतमा यससम्बन्धी फाइल बन्द रहेको सिआइबीका एक अधिकारी बताउँछन् । 

एमबिबिएस पढ्नका लागि आइएस्सीमा उच्च प्राप्तांक चाहिने भएकाले धेरैले नक्कली सर्टिफिकेट पेस गरेका हुन् । मेडिकल काउन्सिलका एक अधिकारीका अनुसार उनीहरूको आइएस्सीको सक्कली प्रमाणपत्र पनि छ, तर प्राप्तांक कम भएकाले नक्कली बनाएर त्यही आधारमा एमबिबिएस पढ्ने अवसर पाएका थिए । खासगरी विदेश पढ्न जानेले यस्तो किर्ते बनाउने गरेका थिए । 

कांग्रेस सांसद डा. शर्माले बिहारको फारबिसगन्जस्थित बिडिबिकेएस कलेजबाट प्रथम श्रेणीमा आइएस्सी अध्ययन गरेको भनेर शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । खासमा उनले नेपालमै आइएस्सी पढेका थिए । प्राप्तांक कम भएपछि उनले यसरी नक्कली प्रमाणपत्र बनाएका हुन् । बिहार स्कुल इक्जामिनेसन बोर्ड, पटनाले उनको प्रमाणपत्र नक्कली भनेर प्रमाणित गरिसकेको छ । 

शर्मा पक्राउबारे सभामुखलाई जानकारी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरेको विषय संघीय संसद्लाई जानकारी गराएको छ । सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले बिहीबार साँझ सभामुख देवराज घिमिरेलाई पत्र पठाउँदै शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर किर्ते गरेको कसुरमा अनुसन्धान गर्न प्रतिनिधिसभा सदस्य शर्मालाई नियन्त्रणमा लिएको जानकारी गराएकी हुन् ।

संविधानको धारा १०३ ले फौजदारी अभियोगमा कुनै सदस्यलाई कानुनबमोजिम पक्राउ गरिएमा त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने व्यवस्था गरेको छ । यही संवैधानिक प्रावधानअन्तर्गत दिउँसो शर्मालाई पक्राउ गरेको सिआइबीले साँझ सिंहदरबारस्थित संसद् सचिवालयमा पत्र पठाएर सभामुखलाई जानकारी गराएको हो । 

शर्माले भारतीय नक्कली प्रमाणपत्रहरू पेस गरी मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको भन्दै काउन्सिलले उजुरी दिएपछि शर्मा लामो समयदेखि सिआइबीको छानबिनमा थिए । उनको आइएस्सी तहको प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्न नसकेपछि किर्तेमा अनुसन्धान अगाडि बढाइएको हो । 

अनुसन्धानका क्रममा शर्मा निलम्बन भने हुनेछैनन् । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा फौजदारी अभियोगमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि मात्रै सांसद निलम्बन हुने व्यवस्था छ । शर्माविरुद्धको अनुसन्धान सकिएर अभियोजन भई पुर्पक्षका लागि थुनामा पठाएमा उनी निलम्बित हुनेछन् ।

यसअघि प्रतिनिधिसभामा निर्वाचित तीन सांसद निलम्बनमा 

यसअघि प्रतिनिधिसभामा निर्वाचित तीन सांसद निलम्बनमा परिसकेका छन् । मुस्ताङबाट निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहनुपर्नेमा फरार एमालेका लक्ष्मी महतो कोइरी र नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी निलम्बनमा छन् । 

यसैगरी घुस लेनदेनको अडियो प्रकरणमा रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका थिए । समानुपातिक प्रणालीबाट निर्वाचित भएका श्रेष्ठलाई पदमुक्त गरेर रास्वपाले विन्दवासिनी कंसाकारलाई नयाँ सांसद बनाएको छ । 
 

ad
ad