१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी कराँची
२o८१ बैशाख २० बिहीबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आलमले लिए १५ वर्षको करिअरबाट बिदा

अमेरिकाको टी–२० फ्रेन्चाइज लिगमा खेल्न पाकिस्तानका पूर्वओपनर फवाद आलमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

Read Time : > 1 मिनेट
एजेन्सी, कराँची
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१२:oo

 पाकिस्तानका ओपनर फवाद आलमले १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यास लिएका छन् । ३७ वर्षीय आलमले अब अमेरिकाको क्रिकेट लिगमा आबद्ध हुने जनाएका छन् । उनी अहिले अमेरिकामा चलिरहेको माइनर लिग टी–२० मा सिकागो किंग्स सेभेनमा आबद्ध छन् । सन् २००७ मा उनले पाकिस्तानी टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । अमेरिकामै स्थायी बसोवास गर्ने योजना बनाएका आलमले धेरै अगाडि नै पाकिस्तानको नागरिकता त्यागिसकेका थिए । 

सन् २००७ मा उनले श्रीलंकाविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । सन् २०१५ सम्म उनी पाकिस्तानको एकदिवसीय टोलीमै रहे । उनले अन्तिमपटक बंगलादेशविरुद्ध एकदिवसीय खेल खेलेका थिए । सन् २००७ मा उनी टेस्ट टोलीमा परे । उनले टेस्टमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । उनले सन् २०२२ को २४ जुलाईमा श्रीलंकाविरुद्ध नै आफ्नो अन्तिम टेस्ट खेलेका थिए । सन् २००७ मै उनले केन्याविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्युको अवसर पाए । अन्तर्राष्ट्रिय टी–२० खेलमा उनी तीन वर्ष मात्र टोलीमा सहभागी भए । न्युजिल्यान्डविरुद्ध उनले अन्तिमपटक पाकिस्तानी टोलीबाट टी–२० खेलेका थिए । 

पहिलो श्रेणीमा ४३ शतक
पाकिस्तानको टोलीमा उनलाई अलराउन्डर खेलाडीका रूपमा लिने गरिन्छ । उनले १९ टेस्टमा पाँच शतक र दुई अर्धशतकको मद्दतमा एक हजार ११ रन जोडेका छन् । यसैगरी, ३८ एकदिवसीय खेलमा उनले एक शतक र ६ अर्धशतकको सहयोगमा ९ सय ६६ रन जोडे । २४ अन्तर्राष्ट्रिय टी–२० मा उनले एक सय ९४ रन बनाएका छन् । टेस्ट फम्र्याटमा उनले तीन इनिङ्समा मात्र बलिङ अवसर पाउँदा ५४ रन खर्चंदै दुई विकेट हात पारे । एकदिवसीयमा पाँच र अन्तर्राष्ट्रिय टी–२० मा उनले आठ विकेट लिएका छन् । 

पाकिस्तानको पहिलो श्रेणीमा आलम राम्रा ब्याट्सम्यानका रूपमा चिनिन्छन् । उनले दुई सय एक पहिलो श्रेणीको क्रिकेट करिअरमा ४३ पटक शतक बनाएका थिए । यसक्रममा उनले १४ हजार पाँच सय २६ रन बटुले । यसैगरी, २०३ लिस्ट एमा उनले आठ शतक तथा ४० अर्धशतक बनाएका छन् । उनले यस विधामा ६ हजार पाँच सय ७७ रन जोडेका छन् । सन् २०१० मा पाकिस्तानले पहिलोपटक आइसिसी टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका मुख्य खेलाडी थिए ।

ad
ad