
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ।
शुक्रबार एक विज्ञप्तिमार्फत मन्त्रालयले पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको जनाएको हो।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ। यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
तत्कालै थप कुनै सहयोग आवश्यक परे इस्लामाबादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न परराष्ट्रले भनेको छ।