१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
रञ्जन भण्डारी महाेत्तरी
२o८१ बैशाख १७ सोमबार o६:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

काजललाई बोक्सी आरोपमा बर्बर यातना दिने श्रीमान् पक्राउ

Read Time : > 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:o२:oo

यातनाबाट कमजोर काजलको खाटबाट लडेर टाउको फुट्यो

महोत्तरीको पिपरा गाउँपालिका– ३ की ३२ वर्षीया काजलकुमारी दासलाई कथित बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने श्रीमान् विनोद दास र उनकी पहिलो श्रीमती शिलादेवी पक्राउ परेका छन् । पीडित काजलले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बोक्सी भन्दै चरम यातना दिएको, पटक–पटक गर्भपतन गराएको र गाउँ निकाला नै गर्ने गरी झुक्याएर तमसुक बनाएकोलगायत आरोप लगाउँदै काजलले श्रीमान् विनोद, उनका पहिलो श्रीमती शिला र धामी दिनेश यादवविरुद्ध शुक्रबार जाहेरी दिएकी थिइन् । प्रहरीले शिलालाई घरबाटै र विनोदलाई प्रहरी कार्यालयमा हाजिर हुन आएको अवस्थामा पक्राउ गरेको हो । 

‘विनोदकी पहिलो श्रीमती शिला देवीलाई घरबाटै शुक्रबार पक्राउ गरेका थियौं । विनोद त्यतिबेला घरबाट निस्किसकेका रहेछन् । हामीले उनी भाग्न सक्ने सम्भावित स्थानहरूमा सर्च गरेका थियों, तर शुक्रबार फेला पार्न सकेनौं । यद्यपी शनिबार उनी आफैं जिल्ला प्रहरी कार्यालयमा उपस्थित भए,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले भने, ‘जाहेरीमा अभियुक्त बनाइएका धामी दिनेश यादवलाई पनि खोजिरहेका छौं । उनी चाँडै पक्राउ पर्नेमा विश्वस्त छौं ।’ 

यातनाबाट कमजोर काजलको लडेर टाउको फुट्यो
लामो समयदेखि घरेलु यातना खेप्दै आएकी काजलको शरण लिएको छिमेकीको घरको खाटबाट लड्दा टाउको फुटेको छ । खाटमा बसिरहेको अवस्थामा रिँगटा लागेर खस्दा टाउको फुटेको हो । उनको टाउकोमा तीनवटा टाँका लगाइएको छ । आफूलाई यातना दिनेलाई पक्राउ गरेर अनुसन्धान थालेकोमा भने न्याय पाउने आस जगाएको उनले बताइन् ।

पहिले प्रहरीले नै गरेको थियो असहयोग

श्रीमानले अघिल्लो रात निर्घात कुटपिट गरेपछि काजल गत १ साउनमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेकी थिइन् । प्रहरीले दुवै पक्षसँग छलफल गर्ने भन्दै ४ साउनमा आउन भन्यो । न्याय पाइने आससहित काजल प्रहरी कार्यालय पुगिन् । जहाँ सामान्य छलफल चले पनि सहमति जुटेन । प्रहरीले ‘थप आपसी छलफल गर’ भन्दै कार्यालयबाहिर पठायो । छलफलमा आएका प्रायः सबै विनोदका पक्षमा उभिए । निरीह काजललाई पैसा लिएर श्रीमान्सँग सम्बन्ध तोड्न भनेर फकाउनेदेखि धम्क्याउनेसम्म गरियो । निरक्षर उनलाई जनप्रतिनिधिकै रोहवरमा प्रहरी कार्यालयबाहिर झुक्याएर सम्बन्ध–विच्छेदसहित गाउँ निकालाको तमसुक बनाइएको थियो ।

ad
ad