१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका गैंडाकोट
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

‘आतोओडा’ उपन्यासमाथि गैँडाकोटमा चर्चा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, गैंडाकोट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४४:oo

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’मा सन्थाल जातिका दैनन्दिन बुनिएको समीक्षक सरिता तिवारीले बताएकी छिन्। सम्पूर्ण किताब नारायणगढको आयोजनामा शनिबार गैँडाकोटस्थित द नारायणी रिसोर्टमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै समीक्षक तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताइन्।

‘उपन्यासमा साधारण कुरालाई पनि मीठो गरी आख्यानीकरण गरिएको छ, सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढंगले उल्लेख गरिएको छ,’ तिवारीले बताइन्। सन्थाल जातिको समग्र दुःख, संघर्ष, परम्परालगायतका पक्षलाई लेखक खतिवडाले उपन्यासमा समेटेको सरिताले बताइन्।

अर्का वक्ता उदय अधिकारीले सन्थाल जातिको सम्बन्ध झापा विद्रोहसँग जोडिएको बताउँदै लेखक खतिवडाले उपन्यासमा झापाको राजनीतिक घटनाक्रमलाई भने नजोडेको बताए। ‘पुस्तकमा सन्थाल जातिको विविध प्रसंग समेटिएको छ। तर, सन्थाल जातिको समेत भूमिका जोडिएको झापाको राजनीतिक आन्दोलन भने पुस्तकले समेट्न सकेको छैन,’ अधिकारीले भने। सन्थाल भाषाका शब्दहरूको नेपाली अर्थ दिएर उपन्यासकारले पाठकलाई सजिलो पारिदिएको पनि उनले बताए।

अर्का वक्ता रमेश प्रभातले आख्यानकार जानुका खतिवडाको आतोओडा उपन्यास फूलमुनि, टुडुलगायत समस्त भूमिहीन सन्थाल जातिको कथा भएको बताए। आफूहरू भूमिपुत्र भएर पनि भूमिहीन भएका कारण वर्षैपिच्छे बासका लागि ठाउँ फेरिरहनुपर्ने बाध्यतालाई यसमा मार्मिक रूपमा चित्रण गरिएको उनले बताए। ‘समाजमा आर्थिक रूपमा पछि परेका कारण हेपिएर बाँच्नुपरेका भूमिहीन सन्थाल जातिको कथालाई नेपाली पाठकका सामु ल्याउनु उपन्यासकार जानुका खतिवडा र उनको आतोओडा उपन्यासको प्राप्ति हो,’ प्रभातले भने।

विशेषगरी पूर्वीतराईमा बसोबास गर्ने र समाजमा आर्थिक रूपमा पछि परेका कारण हेपिएर बाँच्नुपरेका भूमिहीन सन्थाल जातिको कथालाई यो उपन्यासले चित्रण गर्न खोजेको उनले बताए।

झापाको गौरादहमा जन्मिएकी लेखक जानुका खतिवडाले आफ्नै सेरोफेरोको कथालाई उपन्यासमा उतारेको बताइन्। सन्थाल जातिसँगको आफ्नो संगत र उनीहरूको जीवनचर्यालाई समेट्दै किताब लेखेको उनले बताइन्। कलम प्रकाशनका नरेन्द्रकुमार नगरकोटीले उपन्यासको मुख्य मुद्दा भूमिहीन सन्थालहरूको पीडा भएको बताउँदै किताबको पाण्डुलिपि पढेपछि नेपाली आख्यान जगतमा राम्रो किताब दिन सकिन्छ भनेर किताब प्रकाशन गरेको बताए। 

कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेका थिए। किताबको मूल्य ३३५ रुपैयाँ छ। यो उपन्यास पद्मश्री साहित्य पुरस्कार २०७९ को उत्कृष्ट १५ सूचीमा सूचीकृत छ।

ad
ad