१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o६:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलो त्रैमासमा ५५ अर्ब आन्तरिक ऋण उठाइने

आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले गर्‍यो तालिका प्रस्ताव, ६ महिनामा एक खर्ब १० अर्ब ऋण उठाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३१:oo

सरकारको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका प्रस्ताव गरेको छ । चालू आर्थिक वर्षमा दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य छ । जसमध्ये पहिलो त्रैमासमा ५५ अर्ब ऋण उठाउने तालिकामा उल्लेख छ । प्रस्तावित तालिकालाई अर्थ मन्त्रालयले स्वीकृत गरेपछि ऋण उठाउने प्रक्रिया अघि बढ्नेछ । सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । जसमा राजस्व र वैदेशिक ऋण तथा अनुदानबाट अपुग हुने दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने उल्लेख छ ।  

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार गत आर्थिक वर्षको जेठसम्म सरकारले दुई खर्ब २० अर्ब आन्तरिक ऋण उठाएको थियो । आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानीमा मात्रै एक खर्ब ६४ अर्ब खर्च भएको छ । गत आर्थिक वर्ष आयातमा कडाइ गरिएकाले राजस्व संकलनमा गिरावट आएपछि सरकारले बढी मात्रामा आन्तरिक ऋण उठाएर बजेट खर्च गर्नुपरेको थियो । 

 आन्तरिक ऋणको जोखिम
जेठ मसान्तसम्मको तथ्यांकअनुसार सरकारको आन्तरिक ऋण १० खर्ब ९९ अर्ब पुगिसकेको छ । यो कुल गार्हस्थ्य उत्पादनको २०.४३ प्रतिशत हो । त्यसो त सरकारलाई कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशतसम्म आन्तरिक ऋण उठाउने पाउने सुविधा छ । सरकारले बढी ऋण उठाउँदा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा समेत प्रभाव पर्ने भएकाले यसले वित्तीय प्रणालीमा समस्या ल्याउन सक्ने जोखिम उत्तिकै छ ।  

पछिल्ला पाँच वर्षको तथ्यांकअनुसार बजेट अनुमानको तुलनामा खर्च ७० देखि ८० प्रतिशतमै सीमित रहे पनि आन्तरिक ऋण भने लक्ष्यअनुसार नै परिचालन भएको छ । यसले आन्तरिक ऋण परिचालन उत्पादनमूलक परियोजनामा केन्द्रित हुन नसकेको देखिन्छ । कमजोर पुँजीगत खर्च र लक्ष्यभन्दा आधा कम वैदेशिक सहायताले आन्तरिक ऋण परिचालन चालू प्रकृतिका खर्चमा केन्द्रित हुँदै गइरहेको संकेत दिएको छ ।    

 यस्तो छ तालिका
राष्ट्र बैंकका अनुसार पहिलो त्रैमासमा कुल आन्तरिक ऋणको २२.९ प्रतिशत उठाउने लक्ष्य छ । यसमा पाँच अर्बको ट्रेजरी बिल र ५० अर्बको विकास ऋणपत्र हुनेछ । दोस्रो त्रैमासमा पनि ५५ अर्ब नै उठाउने प्रस्ताव गरिएको छ । जसमा १० अर्बको ट्रेजरी बिल र ४५ अर्बको विकास ऋणपत्र जारी गर्ने उल्लेख छ । 

तेस्रो र चौथो त्रैमासमा भने नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र जारी गर्ने तालिकामा उल्लेख छ । तेस्रो त्रैमासमा ५३ अर्बको ऋण उठाउने उल्लेख छ भने चौथो त्रैमासमा ७७ अर्ब उठाउने भनिएको छ । तेस्रो त्रैमासमा उठाउने भनिएको ऋणमध्ये १५ अर्ब ट्रेजरी बिलबाट, ३५ अर्ब विकास ऋणपत्रमार्फत र बाँकी तीन अर्ब नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने तालिकामा उल्लेख छ । चौथो त्रैमासिकमा गएर ७७ अर्बको ऋण उठाउने उल्लेख छ । 

राष्ट्र बैंकले ६ महिनाभित्र एक खर्ब १० अर्ब आन्तरिक ऋण उठाउन बोलकबोल तालिका सार्वजनिक गरेको छ । साउनमै ट्रेजरी बिलमार्फत दुई अर्ब र विकास ऋणपत्रमार्फत २० अर्बको आन्तरिक ऋण उठाउने तालिकामा उल्लेख छ । भदौमा दुईपटक गरी २० अर्बको विकास ऋणपत्र जारी गर्ने तयारी राष्ट्र बैंकको छ । असोजमा ट्रेजरी बिल र विकास ऋणपत्र गरी १३ अर्बको ऋण उठाउने लक्ष्य छ । कात्तिकमा विकास ऋणपत्रमार्फत १० अर्ब र मंसिरमा ट्रेजरी बिल र विकास ऋणपत्र गरी २७ अर्बको ऋण बोलकबोल गर्ने तालिकामा उल्लेख छ । पुसमा १८ अर्बको ट्रेजरी बिल र विकास ऋणपत्र बोलकबोल गर्ने राष्ट्र बैंकको तयारी छ । 
 

ad
ad