१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १५ सोमबार १७:१९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषिमन्त्री भन्छन्– मलको अभाव छैन, वितरणमा समस्या मात्र हो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १५ सोमबार १७:१९:००

कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुन सक्ने जिकिर गरे। 

‘हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ। गत वर्षजस्तो यस वर्ष अभाव छैन,’ मन्त्री भुसालले भने, ‘संघीय सरकारले आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ। स्थानीय तहअन्तर्गत वितरणको जिम्मा पाएका सहकारी संस्थाले राम्रोसँग वितरण नगरेका गुनासा आउने गरेका छन्।’

उनका अनुसार गत आर्थिक वर्ष ०७९/८० मा मल खरिद गर्न सरकारले कुल रु ३८ अर्ब बजेट विनियोजन गरेकामा रु ३३ अर्बबराबरको मल आपूर्ति गरेको थियो। चालू आवका लागि रु ३० अर्ब बजेट विनियोजन भएको कृषिमन्त्री भुसालले जानकारी दिए। 

गत आवमा खरिद भएको २५ हजार मेट्रिकटनबाहेक सबै नेपाल भित्रिसकेको बताउँदै उनले चालू वर्षको आगामी पुससम्म चाहिने मलका लागि ठेक्का प्रक्रिया अघि बढाइसकेको उल्लेख गरे। 

समयमा मल आयात हुन नसकेर अभाव सिर्जना भएको जिकिर गर्दै उनले यसको प्रमुख कारण स्थानीय सरकारले समयमा बजेट नपाउनु पनि रहेको बताए। 

विश्वका धेरैजसो मुलुकले रासायनिक मल प्रतिस्थापन गरेर जैविक तथा प्रांगारिक मलसहित प्राकृतिक कृषि प्रणाली अवलम्बन गरिरहँदा नेपालले रासायनिक मल कारखाना खोल्ने वा नखोल्नेबारे स्पष्ट धारणा बनाउन सक्नुपर्ने कृषिमन्त्री भुसालको भनाइ छ।

तराईका विभिन्न जिल्लामा वर्षा नहुँदा साउन मध्यसम्ममा देशभर करिब ७७ प्रतिशत मात्रै रोपाइँ सकिएको जानकारी दिँदै उनले यस वर्ष धान उत्पादन कम हुन सक्ने अनुमान गरे। 

अर्थ समितिको आजको बैठकमा किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने विषयमा छलफल भएको थियो। समितिको बैठकले अल्पकालीन रूपमा मल अभावको समस्या समाधानका लागि पर्याप्त मल आयात गर्न, ढुवानी तथा वितरणलाई प्रभावकारी बनाउने र दीर्घकालीन रूपमा समस्या समाधानका लागि कारखाना खोल्नका लागि भइरहेको प्रक्रियाबारे सम्बन्धित निकायसँग जानकारी लिएको थियो।

उनले अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र लगानी बोर्डको कार्यालयले रासायनिक मलको माग तथा आपूर्तिको अवस्था र कारखाना खोल्ने विषयमा हालसम्म भएका प्रगतिबारे समितिलाई जानकारी गराए। 

ज्येष्ठ सदस्यका रूपमा समितिको सभापति रहनुभएका विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट रहे-नरहेको, विनियोजित बजेटअनुसार खरिद प्रक्रिया अघि बढे-नबढेको, खरिद भएको मल ढुवानी भए-नभएको र गोदाममा पुगिसकेको मल वितरणको अवस्थाबारे सम्बन्धित निकायमार्फत जानकारी माग गरिने बताए। 

समितिको आजको बैठकमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, सोमनाथ अधिकारी, मुक्ताकुमारी यादव, नारायणप्रसाद आचार्य, पूर्णबहादुर तामाङ, मेटमणि चौधरी, जुलीकुमारी महतो, अम्मरबहादुर रायमाझी, छिरिङ डम्डुल लामा (भोटे)लगायतले रासायनिक मल हरेक वर्षको समस्या रहेकाले यसलाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिए।