इटलीलाई हराउँदै स्विडेनले फिफा महिला विश्वकपको अन्तिम १६ स्थान पक्का गर्दा ब्राजिल भने फ्रान्ससँग पराजित
वेन्डी रेनार्डले विजयी गोल गरेपछि फ्रान्सले फिफा महिला विश्वकपमा ब्राजिलमाथि २–१ को रोमाञ्चक जित निकालेको छ । शनिबार अस्ट्रेलियाको ब्रिसबेनमा जित निकालेसँगै फ्रान्स समूह ‘एफ’को शीर्ष स्थानमा उक्लिन सफल भयो । दुई खेलबाट जमैकाको पनि चार अंक छ । यद्यपि, गोलअन्तरमा फ्रान्स माथि छ । ब्राजिलको तीन अंक रहँदा पानामा भने अंकविहीन छ । पहिलो खेलमा ब्राजिलले पानामालाई ४–० ले हराएको थियो भने फ्रान्सले जमैकासँग गोलरहित बराबरी खेलेको हो । अब अन्तिम दिन ब्राजिलले जमैका र फ्रान्सले पानामासँग खेल्नेछ । ब्राजिलले अन्तिम खेलमा जमैकालाई हराए मात्रै नकआउटमा स्थान बनाउनेछ ।
जितपछि फ्रान्सका प्रशिक्षक हार्भे रेनाल्डले ब्राजिल बलियो टोली भए पनि आत्मविश्वास हुँदा जित निकालेको प्रतिक्रिया दिएका छन् । ‘ब्राजिल बलियो टोली हो । तर, हामीसँग जितको आत्मविश्वास थियो,’ रेनाल्डले भने । ‘अनुभवी ब्राजिलविरुद्ध जितका लागि खेलाडीलाई धन्यवाद दिनुपर्छ,’ उनले भने । ब्राजिलका प्रशिक्षक विआ सुन्धागेले पहिलो हाफमा खेलाडीले राम्रो खेल्न नसकेको बताएका छन् । उनी जमैकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नेमा विश्वस्त रहे ।
सनक्रप रंगशालामा फ्रान्सलाई जित दिलाउन युजेनी ली सोमर र वेन्डी रेनार्डले समान एक गोल गरेका थिए । ब्राजिलका लागि डेबिन्हाले एक गोल फर्काइन् । पहिलो हाफमा फ्रान्सले १–० को अग्रता लिएको थियो । १७औँ मिनेटमा सोमरले गोल गर्दै अग्रता बनाइन् । डेबिन्होले ५८औँ मिनेटमा गोल गर्दा खेल १–१ को स्थितिमा रह्यो । रेनार्डले ८३औँ मिनेटमा विजयी गोल गरेकी थिइन् ।
स्विडेन नकआउट चरणमा
लगातार दोस्रो जित निकाल्दै स्विडेन फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । दोस्रो खेलमा स्विडेनले इटलीमाथि ५–० को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको स्विडेन समूह ‘जी’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको इटली तीन अंकका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डको वालिङटन क्षेत्रीय रंगशालमा स्विडेनलाई जित दिलाउन अमान्डा इलेस्टेडटले दुई तथा फ्रिडोलिना रोल्फो, स्टिना ब्ल्याकस्टेनियस र रेबेका ब्लोमक्विस्टले समान एक गोल गरेका थिए ।
जमैकाको पहिलो जित
पानामालाई १–० ले हराउँदै जमैकाले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ । अस्ट्रेलियाको पर्थमा जमैकालाई जित दिलाउन कप्तान एलिसन स्वाबीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । स्वाबीले खेलको ५६औँ मिनेटमा कार्टरको कर्नरलाई हेडमार्फत गोल गरेकी थिइन् । विश्वकपमा जमैकाको यो पहिलो जित हो । जमैकन कप्तान स्वाबीले जितपछि धेरै खुसी भएको बताउँदै आफ्ना सहकर्मीप्रति गर्व भएको बताइन् । ‘म निकै खुसी छु । साथीहरूले धेरै मिहिनेत गरे । यो गर्वको कुरा हो । हामी अझै राम्रो गर्न सक्छौँ,’
उनले भनिन् ।