Skip This
दुई वर्षपछि विनोद टी–२० टोलीमा फर्किए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दुई वर्षपछि विनोद टी–२० टोलीमा फर्किए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:२१:oo

विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी दुई वर्षपछि राष्ट्रिय टी–२० क्रिकेट टोलीमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)का लागि घोषणा गरेको टोलीमा भण्डारीले स्थान बनाएका हुन् । कुनै समय विस्फोटक र फिनिसर ब्याट्सम्यानका रूपमा हेरिने भण्डारी खराब फर्मका कारण सन् २०२१ को अप्रिलदेखि टी–२० टोलीबाट बाहिर रहे । उनको अन्तिमपटक टी–२० खेल नेदरयान्ड्सविरुद्ध थियो । एकदिवसीय क्रिकेटमा उनी २०२२ को जुलाईदेखि नै टोलीमा छैनन् । 

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता चुमिरहँदा भण्डारी एक प्रमुख सदस्यका रूपमा थिए । सन् २०१४ मा नेपालले पहिलोपटक बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप खेलेको थियो । भण्डारीले हङकङविरुद्ध अन्तर्राष्ट्रिय टी–२० मा डेब्यु गरेका थिए । सन् २०१९ मा उनले युएईविरुद्ध एकदिवसीय खेलमा डेब्यु गर्ने अवसर पाए । उनले अन्तिमपटक ५० ओभरको खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेका थिए । 

घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा आशालाग्दो प्रदर्शन गर्न नसक्दा दुई वर्षदेखि उनले राष्ट्रिय टोलीमा स्थान नै बनाउन सकेनन् । भण्डारीले १७ एकदिवसीय खेलमा १४ इनिङ्स ब्याटिङ गर्दै दुई सय ७५ रन बटुलेका छन् । यसक्रममा उनले एक अर्धशतकीय इनिङ्स खेले । ३५ अन्तर्राष्ट्रिय टी–२० खेलमा उनले दुई अर्धशतकको मद्दतमा तीन सय १९ रन जोडेका छन् । दायाँ हातका ब्याट्सम्यान उनले एकपटक मात्र पहिलो श्रेणी क्रिकेट खेलेका छन् । ४३ लिस्ट ‘ए’ खेलको अनुभव बटुलेका भण्डारीले ३९ इनिङ्समा सात सय ३१ रन बनाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा उनले एकपटक पनि शतकीय इनिङ्स खेलेका छैनन् । 

बोहोरा र यादवले पनि स्थान बनाए
टी–२० टोलीमा फास्ट बलर अभिनाश बोहोरा र अलराउन्डर विवेक यादवले पनि स्थान सुरक्षित गरेका छन् । चीनमा हुने १९औँ एसियाडअन्तर्गत क्रिकेट विधा टी–२० फम्यार्टमा हुनेछ । एसियाडमा राम्रो नतिजा निकाल्न नै क्यानले अनुभवी खेलाडीलाई पुनरागमन गराएको हो । पुराना खेलाडीले स्थान सुरक्षित गर्दा राष्ट्रिय टोलीका नियमित खेलाडी ज्ञानेन्द्र मल्ल, आरिफ शेख र भीम सार्की टी–२० टोलीमा अटेनन् । भीम र शेखले श्रीलंकामा भएको एसिसी इमर्जिङ कपमा मौका पाएका थिए । 

तर, दुवैले त्यहाँ राम्रो प्रदर्शन गर्न सकेनन् । यसैगरी, किशोर महतो र कमलसिंह ऐरीले पनि स्थान बनाउन सकेनन् । राष्ट्रिय टी–२० टोलीमा पुनरागमन गरेका बोहोराले सन् २०२२ को अप्रिलमा अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । अमेरिकासँगको खेलपछि उनी टोलीमा पर्न सकेनन् । एकदिवसीय खेलमा उनी सन् २०२० पछि टोलीमा छैनन् । उनले सन् २०२० को फेबु्रअरीमा ओमानविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए ।  

यसक्रममा उनले दुई इनिङ्स ब्याटिङ गरी १३ रन बनाए । ३६ अन्तर्राष्ट्रिय टी–२० खेलमा १० इनिङ्स ब्याटिङ गरेका उनले २१ रन बनाएका छन् । अन्तर्राष्ट्रिय टी–२० बलिङ करिअरमा उनले ३५ इनिङ्समा ४० विकेट लिएका छन् । यसक्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन ३५/४ रह्यो । नेपालको टी–२० खेलमा उनी सर्वाधिक विकेट लिने बलरमा पर्छन् । यसैगरी, युवा अलराउन्डर यादवले गत वर्ष अगस्टपछि टोलीमा स्थान बनाएका हुन् । तीव्र गतिका बलर यादव आक्रामक ब्याटिङ गर्न रुचाउँछन् । 

ad
ad