१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस बैठकमा ‘वादविवाद प्रतियोगिता’

सहमहामन्त्रीहरू पनि आरोप–प्रत्यारोपमै, मन्त्रालयबीच समन्वयको अभाव देखिएको मन्त्रीहरूको गुनासो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२७:oo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पदाधिकारी तहकै नेताहरू पनि मूल एजेन्डाबाट भड्किएर आरोप–प्रत्यारोपमै उत्रेका छन् । यसबाहेक कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले मन्त्रालयबीच समन्वयको अभाव देखाएका छन् । 

बैठकको पाँचौँ दिन केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएलगत्तै पदाधिकारीले बोल्न थालेका छन् । आइतबार आठ सहमहामन्त्रीले धारणा राख्दा उनीहरूले समूहगत आरोप–प्रत्यारोपमा समय खर्चेका छन् । इतर निकट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेले सभापतिको आलोचना गरे । संस्थापननिकट ६ सहमहामन्त्रीले इतर समूहका गतिविधि र महामन्त्री थापाको आलोचनामा समय व्यतीत गरे । 

सहमहामन्त्री परियारले सभापति देउवाले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै समीक्षाको माग गरे । ‘पार्टीका सबै संयन्त्र ठीकठाक छन् भन्ने हो भने पनि भनौँ । अब केही गर्नुपर्दैन भन्ने लागेको छ भने पनि त्यसै भनौँ । पार्टी सुधार गर्न बहस–छलफल हुनुहुँदैन भन्ने हो भने पनि भनौँ । पार्टीभित्र राजनीतिक सन्तुलन आवश्यक छैन भने पनि भनौँ । के यसैगरी निर्णय गर्दै जाने हो भने हामी वर्तमान चुनौती सामना गर्न सक्छौँ ? विचारणीय छ प्रश्न छ, सभापतिज्यू,’ उनले भने । परियारले भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाणको विषय पनि उठान गरे । 

संस्थापननिकट सहमहामन्त्री खाणको बचाउ गर्र्दै इतर समूहमाथि खनिए । सहमहामन्त्री महेन्द्र यादवले परिणाम दिएका सभापति देउवाको विरोध गर्नेहरूले नकारात्मक प्रचार गरिरहेको, महामन्त्रीले सभापतिलाई बाइपास गरेर जिल्ला सभापतिको भेला गरेको आरोप लगाए । ‘ठूलो पार्टी बनाउनु, सरकार बनाउनु गल्ती हो भने फेरि अर्को गल्ती गर्नुस् सभापतिज्यू । केन्द्रीय सभापतिलाई बाहिर राखेर जिल्ला सभापतिको भेला गर्नुले राम्रो सन्देश गएन,’ यादवले भने, ‘खाणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । न कसैको जाहेरी छ, न बयानमा नै कसैले नाम लिएको छ । राजद्रोहसमेत मुद्दा लगाइयो । अन्तिम निर्णय नभएसम्म कसुरदार होइन । सक्नुहुन्छ भने सहयोग गरौँ, सकिँदैन भने असहयोग नगरौँ ।’ 

सहमहामन्त्री बद्री पाण्डेले पार्टीलाई मिलाएर जाने विषयमा उठेका प्रश्नलाई नेतृत्वले प्रतिशोधको रूपमा लिन नहुने बताए । पाण्डेले ०८४ को निर्वाचनका विषयमा चिन्ता लिनुभन्दा वर्तमानका समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाएर एक्लै लड्ने या गठबन्धन भन्ने टुंगो लगाउनुपर्ने बताए । गठबन्धनलाई जोगाएर सरकारलाई स्थिर बनाउनुपर्नेमा उनको जोड थियो । भ्रष्टाचारका विषयमा कांग्रेसले नै पहलकदमी लिएर ठूला भ्रष्टाचारका मुद्दा बाहिर ल्याउनुपर्ने पाण्डेको जिकिर थियो । 

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले महामन्त्रीद्वयप्रति लक्षित गर्दै पदाधिकारी नै गैरजिम्मेवार बनेको आरोप लगाए । उनले सभापति देउवाको बचाउ गर्दै बहुमतको निर्णय अल्पमतले स्विकार्नुपर्ने जिकिर गरे । ‘पदाधिकारीबाटै कांग्रेसबारे नकारात्मक धारणा बाहिर ल्याउनु अस्वाभाविक हो । सभापतिकै विरोध गरेर जानु मिथ्या हो । लोकतन्त्र भनेको जित्नेले समेट्ने, हार्नेले सघाउने हो,’ राठौरले भने । 

सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महामन्त्रीद्वय जिम्मेवारीबाहिर गएको आरोप लगाए । ‘पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर एजेन्डा ल्याएको हो । प्रस्तावलाई पूर्णता दिन छलफल भएको हो । प्रस्तावमा पुस्तान्तरण, रूपान्तरण, हस्तान्तरण सबै समेटिएको छ । आग्रह र पूर्वाग्रहमा नजाऔँ । दोषारोपण गरेर हामी कहीँ पनि पुग्दैनौँ । यसअघिको समय साँच्चै हाम्रा लागि चूनौतीपूर्ण थियो । नीति अधिवेशनबाट रक्तसञ्चार गरौँ,’ उनले भने ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसकै अर्को समूहले पार्टी सकियो भनेर नेता–कार्यकर्ताको मनोबल गिराएको आरोप लगाइन् । खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनमा कारबाहीको माग गर्नेमाथि उनी खनिइन् । अर्का सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसलाई सधैँ सक्रिय बनाउने कार्यक्रम आवश्यक रहेको तथा जनजीविकाका सवालमा स्पष्ट धारण आउनुपर्ने मत राखे । जनप्रतिनिधिले पार्टीका एकाइसँग समन्वय नै नगर्ने समस्या रहेको उनको भनाइ थियो । 

सहमहामन्त्री फरमुल्लाह मन्सुरले कांग्रेसलाई कमजोर बनाउने खेल भएको र उपलब्धिमाथि प्रहार भइरहेको भन्दै महामन्त्री थापा आक्रोश व्यक्त गरे । ‘कांग्रेसमाथि भित्र र बाहिरबाट प्रहार भइरहेको छ । कांग्रेसका सबै निर्णय सर्वसम्मत भएका छन् । तर, पार्टीका विषयमा पनि मिडियामा आइरहेका छन् ? आफूअनुकूल भए विधिसम्मत नभए पार्टी सकियो भन्ने ?’ उनले प्रश्न गरे । 

बैठकबारे डा. शेखर कोइरालाको मूल्यांकन
आरोप–प्रत्यारोप र कुण्ठा पोख्ने थलो बन्यो 

केन्द्रीय समिति बैठक समूहगत आरोप–प्रत्यारोपमा केन्द्रित भएपछि इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले बैठक आरोप–प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको टिप्पणी गरेका छन् । आइतबार धारणा राख्ने क्रममा उनले लामो समयपछि बसेको बैठक मूल एजेन्डाबाहिर रुमल्लिएको बताए । ‘हाम्रो राजनीतिक भविष्य मात्र होइन, देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्वारा निर्देशित हुन्छ ।

हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनुपर्छ । जसरी देश संविधानबाट चल्छ, त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ, उनले भने, ‘हाम्रा भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि विधानअनुरूप अगाडि बढाउने काम गरौँ । विधानले सबैले गर्ने काम तोकेको छ । लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप–प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण होइन ।

 पूर्वपदाधिकारीको पनि उस्तै ताल
केन्द्रीय समिति बैठकमा कांग्रेसका पूर्वपदाधिकारी पनि गुटबन्दीको सिकार भए । दुवै पक्ष आरोप–प्रत्यारोपमा उत्रिए । पूर्वउपसभापति विमलेन्द्र निधिले इतर समूहको रूपान्तरणको बहस निरर्थक भएको भन्दै रूपान्तरण आवश्यकता र निरन्तरको प्रक्रियाबाट आउने बताए । ‘पाँच वर्षसम्म त गठबन्धन ठीकै छ । आउने निर्वाचनमा गठबन्धन गरेर या एक्लैले बहुमत कसरी ल्याउन सकिन्छ, तीनै तहका लागि चुनावको तयारी गरौँ । संगठन सुदृढीकरण र विस्तारित गरौँ,’ उनले भने, ‘प्रदेशको अधिकारलाई सुनिश्चित गरौँ । संविधान संशोधन गर्नुपर्छ भने गरौँ ।’

पूर्वमहामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता वितरणको समीक्षा गर्नुपर्ने बताए । ‘हामी कहाँ छौँ र कहाँ जाँदै छौँ ? आठ सय क्रियाशील हुँदा भोट दुई सय खस्छ । हामीले कस्तो क्रियाशील सदस्यता दिँदै छौँ । जबसम्म सदस्यता लिनेलाई हृदयदेखि कांग्रेसको नीति ठीक छ भन्ने लाग्दैन, संगठन हुँदैन । केन्द्रीय समितिले अधिकार पनि विकेन्द्रीकरण गर्नुपर्‍यो । टिकटको जिम्मा तल्लो तहलाई दिनुपर्छ,’ उनले भने ।

 नेता अर्जुननरसिंह केसीले सभापति देउवाको कार्यशैलीमाथि प्रश्न गर्दै संस्थागत र विधिसम्मत प्रक्रियाबाट पार्टी सञ्चालन गर्न माग गरे । ‘पार्टीभित्र कसैको पनि ध्येय पार्टी सभापतिलाई कमजोर र अनिर्णायक बनाउने छैन । सबल, सक्षम र निर्णायक पार्टी सभापति नै कांग्रेसको गरिमा हो । तर, सबल सभापतिको अर्थ सानो गिरोह र ओहोदाधारीले पार्टीको विधान लत्याउँदै केन्द्रीय समिति, भ्रातृ संस्था, शुभेच्छुक संस्था वा केन्द्रीय विभागहरूलाई भूमिकाविहीन, कमजोर, स्खलित, अनिर्णायक र अकर्मण्य बनाएर थन्क्याउने वा रबरस्टाम्प बनाउने छुट वैधानिक हुँदैन,’ केसीको भनाइ थियो । 

डा. मीनेन्द्र रिजालले निर्वाचन प्रणालीमा प्रतिनिधिसभा प्रतिनिधिमूलक नभएको र बहसको आवश्यकता रहेको बताए । उनले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देउवा ०८४ मा पार्टीलाई राम्रो बनाउनुपर्छ भन्नेमा एक भएको, तर संसदीय दलको विषयमा मन डुलाउँदा एकाग्र भएर पार्टी निर्माणमा लाग्न नसकेको बताए । स्वास्थ्यमन्त्री मोहन बस्नेतले टिकट वितरणबाट नै आफूलाई पराजित गराउने खेल सुरु भएको दाबी गरे । 

अर्का केन्द्रीय सदस्य विनोद चौधरीले निर्वाचनमा आफूलाई कांग्रेसबाटै पराजित गर्ने भूमिका खेलेको गुनासो गरे । यसको फाइदा नयाँ उदाएका पार्टीले उठाएको चौधरीको भनाइ थियो । ‘निर्वाचनमा अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गर्नुपर्‍यो । पार्टीको ठूलो तप्का कसरी हराउने भनेर लागिपर्‍यो,’ उनले भने । 

ad
ad