१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हेवाखोलाले बहाव बदल्दा तटीय क्षेत्रमा बढ्यो जोखिम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o३:oo

यस वर्षको वर्षायामको सुरुवातमै हेवाखोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो। बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि जनजीवन असामान्य बनेको छ। 

चारवटा मोटरेबल पुल बगाएको हेवाखोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ, तर त्योभन्दा मुख्य कुरा हेवाखोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ। यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ।

हिलिहाङ गाउँपालिकाको हेवाखोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउँछन्। गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर रहेको उनले बताए। 

प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पुर्‍याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उनको भनाइ छ। 

हेवाखोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोवास गरिरहेको बस्तीमा कटान थालेको छ। 

फिदिम नगरपालिका– ४ र हिलिहाङ गाउँपालिका– ७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुंगामुढाको खण्डहरमा परिणत गरिदिएको छ। दोभाननजिकै हेवाखोलामा ढुंगा थुपारेको छ।

नदीको कटान परिवर्तन हुनु र ढुंगा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ।

बाढीका कारण हेवाखोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुंगा र मुढाले भरिएको छ । जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावती बताउँछन्। 

बंगुर, हाँस र कुखुराको पालन तथा सागसब्जी उत्पादन गरी फिदिममा बिक्री गर्दै आभएका भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा छन्। माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स–साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ। 

हेवाखोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पुर्‍याएको छ। खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन । जसले हिउँद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ । त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ। 

आफूहरू जोखिममा परे पनि सरकारी निकायले बेवास्ता गरेको हिलिहाङ– ७ की सुमिना लिम्बूको भनाइ छ। लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोखे पनि सुनुवाइ नभएको बताइन्।  

यस्तै, तमोर करिडोर र मेची राजमार्गमा पेसा–व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रसस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन्। 

स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा बताउँछन्। रासस 

ad
ad