मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
२०८० असार २३ शनिबार १५:३३:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

फ्लाई ओभरको डिजाइनमा समस्याले ग्वार्कोमा यात्रुलाई सास्ती [तस्बिरहरू]

Read Time : > 1 मिनेट
२०८० असार २३ शनिबार १५:३३:००

गत वर्ष निकै उत्साहका साथ ग्वार्कोमा निर्माण सुरू भएको नेपालकै पहिलो फ्लाई ओभर सबैको चासो र खुसीको विषय बन्यो। केही महिना काम भए पनि अहिले फेरि यसको काम रोकिएको छ।

मुख्य लेन बन्द गरेर सुरु गरिएको काम डिजाइनमा समस्या देखिएपछि तत्कालको लागि रोकिएको हाे। यहाँको काम कहिलेदेखि सुचारु हुन्छ टुंगो छैन। यसले चक्रपथको निकै व्यस्तमध्येको ग्वार्को चोकमा सवारी जाम बढ्दै छ। एक त काम नभएको, त्यसमाथि दोस्रोपटक पनि निर्माणका क्रममा समस्या आउँदा सर्वसाधारण मारमा परेका छन्।

‘डिजाइनमा आएको समस्याका कारण काम रोकिएको छ र निर्माणको कार्य सम्बन्धमा अध्ययन भइरहेको छ। साथै, स्वाइल वेरिङक्यापसिटी टेस्ट हुँदै छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भने।

करिब ६ महिना काम भइसकेपछि फाउन्डेसनको माटोको प्रकृति र डिजाइन फरक भएकाले हाल प्राविधिक टोलीले अध्ययन गर्दै गरेको र केही दिनमा नै डिजाइन तय गरेर काम सुरु हुने मन्त्रालयले जनाएको छ।

दैनिक लाखौँको संख्यामा मानिसहरूले प्रयोग गर्ने यो सडक खण्डमा पिक आवरको समयमा ग्वार्को चोकदेखि बी एन्ड बी हस्पिटल र बालकुमारी पुलसम्म जाम पुग्ने गरेको छ। रिंग रोडबाहिर पनि ग्वार्को चोकदेखि बाहुनधारासम्म र रिंगरोडभित्र पाटनको गाःवहालसम्म जाम पुग्छ।

यसअघि पनि ‘फ्लाइओभर’ निर्माण माघबाट सुरु हुने भनिए पनि डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो। निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेर निर्माण कार्य सुरु गरेको थियो।

अघिल्लो सातासम्म पनि यहाँ पाइलिङको काम गर्नको लागि पिच कटिङ गरेर ड्रिलिङको काम भैरहेको थियो। पाइलिङको लागि ३४ मिटर तलसम्म पिलरको लागि प्यारालाल ८ स्थानमा ड्रिलिङ गरेर पिलर तयार गर्ने योजना थियो।

निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाई ओभरको लागि बी एन्ड बी अस्पतालबाट बालकुमारीसम्म र्‍याम उठाएर फ्लाई ओभर निर्माण गर्ने योजनामा छ।

एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइका फ्लाई ओभर तयार गर्ने योजना थियो। फ्लाई ओभरको लम्बाइ कुल ४९० मिटर हुने छ भने केन्द्रले इपिसी मोडेलमा ठेक्का लगाएको हो। फ्लाई ओभर बालकुमारीतर्फबाट २८० मिटर लामो र्‍याम र सातबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिनेछ भने यसको उचाइ ६ मिटरको हुनेछ।

डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुनेछ। हाल रिङरोडमा रहेको ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाई ओभर निर्माण गरी रिङरोडको जाम हटाउन यसले सहयोग पुर्‍याउने छ।

जसअनुसार सो फ्लाई ओभरले कलंकी–कोटेश्वर सडक खण्डको सवारी फ्लाई ओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडक खण्डबाट गुड्नेछन्। कुल १७ करोड ६८ लाख रुपैयाँ लागत रहेको छ।