१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवाले जिम्मेवारी नलिए कांग्रेस इतिहासमा सीमित हुन्छ : रिजाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:१३:oo

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिनेन्द्र रिजालले युवाले जिम्मेवारी नलिए कांग्रेस पार्टी इतिहासमा सिमित हुने बताएका छन्। 

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा ओखलढुंगामा स्वर्गीय नेता  राईको सालिकमा माल्यार्पण गर्दै नेता रिजालले कांग्रेस पूर्खाको योगदानले बनेको पार्टी भएकाले इतिहासको रक्षा गर्न युवा अग्रसर बन्नुपर्ने बताएका हुन्। 

देशमा प्रजातन्त्र प्राप्तिको लागि बलबहादुर राईको योगदान अतुलनीय रहेको बताउँदै रिजालले बलबहादुर राई जस्ता नेताले लडेर ल्याएको प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको बताए। 

‘कांग्रेसका कार्यकर्ताले गर्व गर्न लायक थुप्रै इतिहासहरु छन्। प्रजातन्त्र प्राप्तीको आन्दोलनमा बलबहादुर राईजस्ता अग्रज नेताको अतुलनिय योगदान थियो,’ उनले भने, ‘इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ। यदि युवाले जिम्मेवारी नलिनेहो भने कांग्रेस इतिहासको पार्टी बन्ने खतरा छ।’
 
कांग्रेस भित्र रुपान्तरणको खाँचो रहेको र त्यो रुपान्तरणका लागि केन्द्रीयस्तरमा आफुहरु लागेको उनको भनाई थियो। सालिकमा माल्यार्पणपछि पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीहरु थप जिम्मेवार बन्न सचेत गराएको बताए।  

कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले बलबहादुर राई ओखलढुंगाको विकासका सुरुवात कर्ता मात्रै नभई देशको परिवर्तनका लागि लडेको नेता भएकाले आजपनि राईको योगदानको स्मरण हुने बताए। 

अग्रजको योगदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनभावना अनुसार नयाँ ढंगबाट कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ थियो।

स्वर्गीय नेता राईको सालिकमा पूर्व मन्त्री तथा नेता मिनेन्द्र रिजाल, संघीय सांसद तथा कांग्रेस केन्द्रिय सदस्य रामहरी खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समिति ओखलढुंगा प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाललगायतले माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै सम्झना गर्नुभएको बलबहादुर राई स्मृती प्रतिष्ठानका अध्यक्ष शंकर खनालले बताए।  

१९ पटक देशको कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको २०६७ असार २० गते ८९ बर्षको उमेरमा निधन भएको थियो। 

ओखलढुंगामा कांग्रेस, कम्युनिष्ट प्रायः सबैजसो पार्टीले बलबहादुर राईको सालिकमा माल्यार्पण गर्ने गरेका छन्। चुनावी अभियान राईको सालिकमा माल्यार्पण गरेर सुरु गर्ने चलन नै बसिसकेको छ। 
 

ad
ad