१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

त्रिचन्द्रका ४५० प्राध्यापक र कर्मचारीले पाएनन् वृद्धि भएको तलब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:२३:oo

त्रिचन्द्र क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी एक वर्षदेखि सरकारले वृद्धि गरेको तलब सुविधा पाउनबाट वञ्चित छन् । क्याम्पस प्रशासनको लापरबाहीका कारण शिक्षक र कर्मचारी गरी झन्डै ४५० जनाले सरकारले आर्थिक वर्ष ०७९/८० मा वृद्धि गरेको १५ प्रतिशत तलब सुविधा नपाएका हुन् । 

सरकारले घोषणा गरेको तलब वृद्धि सबै सरकारी निकायमा अनिवार्य लागू हुनुपर्ने हो । तर, यस क्याम्पसमा भने प्रशासनको गम्भीर लापरबाहीले कर्मचारी र प्राध्यापक तलब सुविधाबाट वञ्चित भएका छन् । त्रिचन्द्र क्याम्पस एकाइ समितिका अनुसार क्याम्पस प्रशासनले केन्द्रबाट बजेट नआएको बहाना बनाउँदै शिक्षक र कर्मचारीलाई टार्दै आइरहेको जनाएको छ ।

प्रा.डा. सुनील अधिकारी, क्याम्पस प्रमुख, त्रिचन्द्र क्याम्पस
हामीले त्रिवि रजिस्ट्रार कार्यालयसँग बजेट माग गरेका थियौँ, तर दिइएन । रजिस्ट्रार कार्यालयले पनि सरकारले निकासा नभएपछि छुट्याउन नसकेको जनाएको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै प्राध्यापक तथा कर्मचारीलाई तलब नदिएर शोषण गरेको आरोप लगाएको छ । ‘लामो समयसम्म पारिश्रमिक पाउन नसकेकाले प्राध्यापक एवं कर्मचारी वर्ग निराश भएको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्राध्यापक एवं कर्मचारीले श्रम गरेबापत नियामनुसार नियमित रूपमा पाउनुपर्ने पारिश्रमिक नपाउनु उनीहरूको नैसर्गिक अधिकारको बर्खिलाप ठहरिन्छ ।’ 

सरकारले बढाएको १५ प्रतिशत तलब खुवाउन साढे चार सय कर्मचारीका लागि पाँच करोड हाराहारी तलब चाहिन्छ । तर, यो रकम क्याम्पस प्रशासनसँग छैन । क्याम्पस प्रमुख प्रा.डा. सुनील अधिकारीले त्रिवि रजिस्ट्रार कार्यालयले बजेट नदिँदा कर्मचारीलाई बढतलब खुवाउन नसकिएको बताए । ‘हामीले रजिस्ट्रारसँग बजेट माग गरेका थियौँ,’ उनले भने, ‘तर दिइएन, रजिस्ट्रार कार्यालयले पनि सरकारले निकासा नभएपछि छुट्याउन नसकेको जनाएको छ ।’ 

क्याम्पसमा कार्यरत तीन सय पूर्णकालीन शिक्षक र डेढ सय कर्मचारीले वृद्धि भएको रकम पाउन सकेका छैनन् । यसबाहेक त्रिचन्द्रमा दुई सयभन्दा बढी आंशिक शिक्षक छन् । तर, आंशिक शिक्षकले पनि नियमित पाउनुपर्ने पारिश्रमिक पाएका छैनन् । उनीहरूको आठ महिनादेखिको तलब सुविधा रोकिएको छ । 

२१ असारमा पठनपाठन रोक्ने 
प्रशासनले तलब नदिएर शोषण गरेको भन्दै त्रिचन्द्रका सबै शिक्षकले २१ असारमा पेन डाउन गरी पठनपाठन रोक्ने तयारी गरेका छन् । क्याम्पस प्रशासन अव्यवस्थित भएकाले दबाबमूलक कार्यक्रम गर्न लागिएको समितिका सभापति टीकाराज जैसीले बताए । वृद्धि भएको तलब पाउन नसक्नु दुःखद रहेको बताउँदै उनले दबाबमूलक कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । जैसीले २१ असारमा त्रिविको प्रयोगात्मक परीक्षा अवरोध नहुने गरी पेन डाउन गर्ने र पठनपाठन रोक्ने तयारी रहेको बताए । ‘नियमित र पाउनुपर्ने सुविधा नपाउनु दुःखको कुरा हो,’ उनले भने, ‘क्याम्पस प्रशासनले हेपेको हो, प्रशासनले केन्द्रबाट बजेट नआएको भन्दै टार्दै आइरहेको छ, यसमा हाम्रो कर्मचारी र शिक्षकको दोष होइन, प्रशासनकै हो ।’

०३० देखि त्रिचन्द्र क्याम्पस त्रिविको आंगिक क्याम्पसको रूपमा रहेको छ । यो क्याम्पस त्रिविभन्दा ४१ वर्ष जेठो क्याम्पस मानिन्छ । तर, सरकारले बेवास्ता गर्दा त्रिचन्द्रको व्यवस्थापन भद्रगोल बनेको छ । त्रिचन्द्रमा हाल मानविकी र विज्ञान संकायका गरी विद्यार्थी नौ हजार पाँच सय विद्यार्थी छन् । विद्यार्थी संख्या धेरै भएपछि दैनिक तीन सिफ्टमा पठनपाठन सञ्चालन हुँदै आइरहेको छ । 

 

ad
ad