१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
विजय प्रसाद
२o८१ बैशाख १९ बुधबार १o:१६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्विडेनलाई नेटो सदस्य हुनबाट केले रोक्दै छ ?

Read Time : > 2 मिनेट
विजय प्रसाद
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१६:oo

टर्की र स्विडेनले रुससँग सीमा जोडिएको फिनल्यान्डलाई नेटो सदस्यका रूपमा स्विकारे पनि सीमा नजोडिएको स्विडेनलाई भने स्विकारेका छैनन्

यही ११ र १२ जुनमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का ३१ सदस्य राष्ट्रले लिथुआनियाको विल्नस सहरमा वार्षिक सम्मेलन गर्दै छन् । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सम्मेलनका एजेन्डाबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । भेटमा दुवैले युक्रेनलाई ‘लामो समयदेखि’ पश्चिमा जगत्ले गरेको समर्थनको महत्वबारे चर्चा गरेका थिए र स्टोल्टनबर्गले बाइडेनलाई ‘आफू स्विडेनलाई नेटोको पूर्ण सदस्यका रूपमा देख्न आतुर’ भएको बताएका थिए । दुवैले युक्रेनले नेटोको सदस्यता लिनेबारे केही बोलेनन्, तर स्विडेन चाँडै नेटो सदस्य हुने आशा व्यक्त गरे । जर्मनीको संसद्मा क्रिस्चियन डेमोक्रेटिक पार्टी सदस्यले युक्रेनलाई नेटोमा ल्याउन माग गरेका भए पनि हाललाई युक्रेनलाई नेटोमा ल्याउन जर्मन चान्सलर ओलाफ स्कोल्ज नै चाहन्नन् । 

फिनल्यान्ड जोडिन्छ, स्विडेन जोडिन्न : मे २०२२ मा फिनल्यान्ड र स्विडेनले नेटोको सदस्य हुन आवेदन दिएका थिए । त्यसवेला स्टोल्टनबर्गले ‘दुवैले आवेदन दिनु ठूलो कुरो हो’ भनेका थिए । त्यतिवेला निःसन्देह यी आवेदन फास्ट–ट्रयाकबाट सहजै स्वीकार हुने र अन्ततः स्केन्डिनेभियाका चारवटै मुलुक नेटोको सैन्य शिविरमा आउने अपेक्षा गरिएको थियो । स्केन्डिनेभियाका बाँकी दुई मुलुक सन् १९४९ मै नेटोका संस्थापक बनेका थिए । स्मरण रहोस्, डेनमार्कको तत्कालीन उपनिवेशमा त्यहाँका आदिवासी इनुइट समुदायलाई विस्थापित गर्दै सन् १९५१ मा अमेरिकाले सबैभन्दा उत्तरी सैन्य आधार निर्माण गर्न डेनमार्क नेटोमा आउन जरुरी थियो । 

आवेदनको एक वर्ष नपुग्दै नेटोले फिनल्यान्डलाई गठबन्धनमा समाहित गर्‍यो । स्टोल्टनबर्गले नेटोमा जोडिनु फिनल्यान्डका लागि राम्रो भन्दै नयाँ सदस्यताले नोर्डिक क्षेत्रका सुरक्षा र समग्रमा नेटोका लागि राम्रो भयो भनेका थिए । फिनल्यान्डले रुससँग आठ सय ३२ माइल दूरीको सीमा साझा गर्छ, जुन रुससँग युरोपियन युनियन वा नेटो सदस्यको सबैभन्दा लामो सीमा हो । नेटोमा जोडिएर फिनल्यान्डले नेटो–रुस सीमाको दूरीलाई दोब्बर बनाइदिएको छ । फिनल्यान्डले ‘सबैभन्दा बढी जोखिमुक्त क्षेत्र’मा (विशेषतः रुसी आप्रवासीले सम्भावित रूपमा सीमा पार गर्ने क्षेत्रमा) तारबार लगाउन थालिसकेको छ ।

नेटोमा फिनल्यान्डलाई स्वागत गर्ने समारोहमा फिनल्यान्डका राष्ट्रपति सौली निनिस्तोले आफ्नो मुलुकको सदस्यता ‘स्विडेनको सहभागिताविना अपुरो’ रहेको बताएका थिए । उनकै छेउमा बसिरहेका स्टोल्टनबर्गले ‘स्विडेनलाई यथाशक्य चाँडो स्वागत गर्न आतुर’ रहेको बताएका थिए ।

सन् १९४९ मा नेटोको स्थापना हुँदा नेटोले कुनै पनि निर्णय गर्दा निर्णय सबै सदस्य राष्ट्रको ‘सर्वसम्मति’ले हुनुपर्ने सिद्धान्त अवलम्बन गरिएको थियो र यो सर्वसम्मति विशेषतः नयाँ सदस्य थप्नुपर्दा लागू हुने गर्छ । नेटोका दुई सदस्य राष्ट्र हंगेरी र टर्कीले फिनल्यान्डलाई नेटो सदस्यका रूपमा स्विकारेका छन् भने स्विडेनलाई अस्वीकार गरेका छन् । यी दुई मुलुकले रुससँग सीमा भएको फिनल्यान्डलाई नेटो सदस्यका रूपमा स्विकारेका भए पनि सीमा नभएको स्विडेनलाई भने स्विकारेका छैनन्, अर्थात् मामिला युक्रेन युद्धसँग जोडिएको छैन । यी दुई मुलुकको स्विडेनसँग अरू नै कुनै समस्या छन् ।          

स्विडेन समस्या : वासिंटनको एक प्रेस सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र नेटोका स्टोल्टनबर्गलाई वाल स्ट्रिट जर्नलकी पत्रकार भिभियन सलामाले ‘टर्की दिनानुदिन बिघ्नकारी साझेदार बन्दै गएकामा चिन्तित हुनुहुन्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् । दुवैले प्रश्नलाई उपेक्षा गरेका थिए, नतिजा सिएनएनकी काइली एटवुड स्विडेन मामिलामा नेटोसँग प्रत्यक्ष प्रश्न गरेकी थिइन् । स्टोल्टनबर्गले कुरो घुमाउँदै स्विडेनमा टर्कीको चासो भनेको त्यहाँ कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का सदस्य छन् भन्ने हो । स्टोल्टनबर्गले टर्कीलाई पिकेकेबाट हुने सम्भावित जोखिमको सम्बोधन गर्न नेटोका सदस्य राष्ट्र तयार रहेको बताएका थिए ।

सन् २००९ मा स्विडेनले युरोपेली परिषद्को अध्यक्षता गरिरहेका वेला त्यहाँका प्रधानमन्त्री फ्रेडरिक रिइन्फिल्डले टर्कीलाई युरोपियन युनियनमा समावेश गर्ने वाचा गरेका थिए । त्यतिवेला यी दुई मुलुकबीचको सम्बन्ध प्रगाढ थियो । तर, हालैका वर्षमा टर्कीले मुलुकको दक्षिणपूर्वी क्षेत्रका कुर्द अल्पसंख्यक र सिरियाका कुर्दमाथि युद्ध छेड्दा स्विडेनमा निर्वासित कुर्द समुदायले आन्दोलन गरेका थिए । आन्दोलनले टर्कीका राष्ट्रपति रेसेप तैड्ढयप एर्दोगानलाई क्रुद्ध बनाएको थियो, नतिजा टर्की सरकारले बारम्बार राजधानी अंकारामा रहेको स्विडिस राजदूतावासको ध्यानाकर्षण गराएको थियो । स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टेर्सनले स्विडेनमा ‘आतंकवाद–विरोधी’ कानुन फितलो रहेको जनाउँदै स्विडिस सरकारले टर्कीसँग यसबारे वार्तासमेत गर्ने जनाएका थिए । तर, अजरबैजान जाने क्रममा १४ जुनका दिन एर्दोगानले यो जुलाईमा स्विडेन नेटो सदस्य हुने सम्भावनालाई खारेज गरेका थिए । 

त्यसैगरी मे महिनामा दोहामा भएको कतार इकोनोमिक फोरममा सहभागी हुन गएका हंगेरीका राष्ट्रपति भिक्टर ओर्बानलाई उनको सत्तारुढ गठबन्धनले स्विडेनको नेटो प्रवेशलाई किन रोकेको भनेर प्रश्न गरेको थियो । ओर्बानले खुलेरै स्विडेनले पक्षपाती रूपमा हंगेरीमा लोकतन्त्र र विधिका शासनबारेमा घातक अभिव्यक्ति दिएका कारण स्विडेनलाई सदस्यका लागि स्विकार्न नसकिने बताएका थिए । वास्तवमा यो चासो स्विडेन मात्रै नभई हंगेरीकै १३ बौद्धिकले गत वर्ष आफ्नो शक्तिशाली पुस्तक ‘जस्टिस–डेमोक्रेसी–सस्टेनेबिलिटी’मा व्यक्त गरेका थिए । सेप्टेम्बर २०२२ मा हंगेरीको राजनीतिक प्रणालीलाई ‘संसदीय निरंकुशता भएको वर्णशंकर प्रणाली’ भन्ने व्यहोरा भएको युरोपियन युनियनको संसदीय प्रतिवेदनलाई स्विडेनले समर्थन गरेको भन्दै ओर्बान क्रुद्ध भएका थिए । यो मत नत्यागुन्जेल हंगेरीले स्विडेनलाई नेटो प्रवेशमा अनुमति नदिने जनाएको छ ।  

(प्रसाद भारतीय इतिहासकार, सम्पादक एवं पत्रकार हुन्) 
पिपुल्स डिस्प्याचबाट

ad
ad