१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्जातीय विवाह गर्दा श्रीमानलाई जेल, न्याय खोज्दै बबिता काठमाडौंमा

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१५:oo

आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसर न्याय खोज्दै संघीय राजधानी काठमाडौं पुगेकी छिन् । दलित युवक मनोजकुमार रामसँग प्रेमविवाह गरेपछि उनका बुबा ललित इसरले हालेको मुद्दामा सप्तरी जिल्ला अदालतको आदेशले श्रीमान्लाई जेल हालेपछि बबिता न्यायको लडाइँमा छिन् । 

जिल्लामा प्रदर्शनदेखि विभिन्न अधिकारवादी संघसंस्थाको ध्यानाकर्षण गराएकी बबिता राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई झकझक्याउन भन्दै शनिबार एक्लै काठमाडौं उत्रिएकी हुन् । आइतबार सर्वोच्च अदालतमा मुद्दाको पेसी पनि छ । आफू राष्ट्रिय मानव अधिकार आयोगको निगरानीमा कीर्तिपुरमा रहेको उनले बताइन् । 

‘श्रीमान्को रिहाइका लागि गुहार माग्न काठमाडौं पुगेकी छु । अहिले राष्ट्रिय मानव अधिकार आयोगको निगरानीमा कीर्तिपुरमा बसेको छु,’ बबिताले भनिन्, ‘आइतबार राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोग गएर मेरा सम्पूर्ण कुरा सुनाउँछु । आइतबार नै सर्वोच्चमा पेसी छ, त्यहाँ पनि आफूले भोगेका सबै विषय राख्छु ।’ 

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन अम्बेडकरले शुक्रबार दर्ता गराएको रिटको पेसी आइतबारका लागि तोकिएको छ । रिटमा जिल्ला अदालत राजविराजका साथै जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।

तीन वर्षको प्रेमपछि बबिता र सप्तरीकै विष्णुपुर गाउँपालिका– ६ का मनोजले गत २१ जेठमा जिल्ला अदालत कपिलवस्तुमा ‘कोर्ट म्यारिज’ गरेका थिए । त्यसअघि ०७९ कात्तिकमै गरेको प्रेमविवाहलाई उनीहरूले कानुनी मान्यता दिलाएका थिए ।

तर, ‘पानी पनि नचल्ने केटासँग विवाह गरेको’ भन्दै ललितले छोरी बबिताको फर्जी जन्मदर्ता प्रमाणपत्र बनाउँदै मनोजविरुद्ध अपहरण मुद्दा दायर गरेका थिए । जब कि कपिलवस्तु जिल्ला अदालतले केटा र केटी दुवैको उमेर २१–२१ वर्ष पुगेको भन्दै विवाह गरेको प्रमाणपत्र दिएको थियो । सोही मुद्दाका आधारमा जिल्ला अदालत सप्तरीले मनोज र उनका दाइ रूपेशकुमारलाई कारागार पठाएको छ । रूपेश नेपाल प्रहरीमा कार्यरत छन् ।
 

ad
ad