१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ७ बिहीबार
  • Friday, 09 May, 2025
गगन अयडी बाजुरा
२o८o असार ७ बिहीबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले घर भत्किँदा गर्भवतीसहित दुई घाइते, तीन दिनपछि मुचुल्का

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १२:५६:oo

गत सोमबारको अविरल वर्षाका कारण त्रिवेणी नगरपालिका– १ सल्लेरीमा आठमहिने गर्भवतीसहित दुईजना घाइते भए। बिहान ४ बजेतिर वर्षाले घर भत्किँदा गर्भवती २३ वर्षीया पार्वती नेपाली र उनका श्रीमान् २५ वर्षीय जनक नेपाली घाइते भए।

घरको एउटा कोठामा सुतिरहेका बालबालिका र वृद्धवृद्धाको सकुशल उद्धार गरे पनि पार्वती र जनकलाई घरभित्र चेपिएको अवस्थामा निकालिएको उनीहरूका आफन्त प्रेम नेपालीले बताए । उनीहरूको अहिले अछामको बयालपाट अस्पतालमा उपचार भइरहेको छ।

तर, घटना घटेको केही समयमै वडा कार्यालय र प्रहरीलाई जानकारी गराए पनि तीन दिनसम्म घटनाको विषयमा चासो दिएनन्। मुचुल्का उठाउन प्रहरीलाई बारम्बार अनुरोध गरे पनि आलटाल गरेको प्रेम नेपालीले बताए। ‘एकातिर घर भत्केर बिचल्ली छ, अर्कोतिर बाँकी रहेको सामान पनि प्रयोग गर्न पाएनन्,’ उनले भने।

१० जना सदस्य रहेको परिवारमा चारजना रोजगारीका लागि भारतमा छन्। छोरा–बुहारी घाइते भएर उपचाररत रहेकाले दुई बालबालिकासहित बाँकी सदस्य ५५ वर्षीया कुन्ता नेपालीको भरमा छन्। 

छिमेकीको गोठमा बसिरहेका उनीहरूले गाउँलेबाट चार केजी चामल मागेर छाक टारिरहेका थिए। घटनाको तीन दिनपछि जिल्लाका पत्रकारहरूले सोधखोज गरेपछि बुधबार साँझ मात्रै प्रहरीले मुचुल्का उठाएको प्रेमले बताए।