१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:२४:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वगृहमन्त्री खाणका कानुन व्यवसायीको दलिल : सरुवा–बढुवामा चित्त नबुझेर प्रहरीले मुद्दा चलायो 

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२४:oo

पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिशोध साधेर उनीमाथि मुद्दा चलाएको दाबी गरेका छन् । खाण गृहमन्त्री हुँदा सरुवा–बढुवामा चित्त नबुझेका प्रहरीले त्यसैको रिसइबी साध्न पक्राउ गरी उनीविरुद्ध मुद्दा चलाइएको कानुन व्यवसायीको तर्क छ । 

मंगलबार जिल्ला अदालत काठमाडौंमा थुनछेक बहसको क्रममा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले खाणका तर्फबाट बहस गर्दै अभियोगपत्रमाथि प्रश्न मात्र गरेनन् प्रहरीले प्रतिशोध साधेको बताए । उनले भने, ‘मेरो पक्षमा गृहमन्त्री हुनुहुन्थ्यो । सरुवा बढुवामा चित्त बुझेन होला, रिसइबी साँध्न मेट्रोमा लगेर पोल लगाएर थुन्न लगाइयो ।’ 

अभियुक्तहरूसँग प्रहरीले बयान लिँदा उनीहरूलाई दबाबमा राखेको र जबर्जस्ती आफ्नो पक्षको नाम लिन लगाएको वरिष्ठ अधिवक्ता खड्काको दाबी थियो । थप बयान लिँदा प्रश्नको क्रमसंख्या नमिलेकोदेखि नयाँ प्रश्न सोधिएको, यसैबीचमा अनुसन्धान अधिकारी फेरिएको जस्ता प्राविधिक विषयमा उनले अभियोगपत्रउपर नै प्रश्न तेर्स्याए । 

उजुरी र बयान गराउँदा ठगीको विषय उल्लेख भए पनि अभियोगपत्रमा अन्य कसुरसमेत दाबी गरेकोप्रति उनले प्रश्न उठाए । इजलासमा खड्काले भने, ‘दफा मात्र लाइदिएर हुन्छ ? अनुसन्धान गर्ने, बयान गराउने एउटा कसुरमा अनि अभियोग अर्कै लगाइदिने ? तीन वर्षभन्दा बढी सजाय हुने कसुर लगायो भने थुन्न पाइन्छ भनेर ल्याइएको हो,’ उनले भने । 

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले खाणविरुद्ध राज्य नै लागेको जिकिर गरे । ‘मेरो पक्ष एउटा जिम्मेवार राजनीतिक दलमा हुनुहुन्छ । एक्जिस्टिङ कमिटीको केन्द्रीय सदस्य हुनुहुन्छ, निवर्तमान गृहमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘तरुण दल, नेविसंघको नेतृत्व गरिसक्नुभएको छ । उहाँविरुद्ध राज्य लागेको छ श्रीमान् ।’ 

उनको दलिलपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भने, ‘नलागेको भए त यो मुद्दै हुँदैनथ्यो नि ! जाहेरी परेको छ अनि लागेको भइहाल्यो त !’ आफ्नो पक्षमा एउटा पनि प्रमाण नभएको अवस्थामा सरकारी पक्षले जबर्जस्ती उनको नाम यस मुद्दासँग जोड्न चाहेको तथा प्रतिशोध साधेको वरिष्ठ अधिवक्ता केसीको आरोप थियो । 

केसीले थपे, ‘टेकनारायण पाण्डेलाई मेट्रो वान रानीपोखरीमा बयान गराइयो । कुन उद्देश्यले यसो गरियो ?’ तत्कालीन गृहसचिव रहेका पाण्डेले बिचौलियाले दिएको एक करोड २४ लाख ५० हजार मन्त्री खाणको कार्यकक्षमा लगेर बुझाएको भनेर प्रहरीमा कागज गरिदिएका थिए । उनको मोबाइलमा पनि सोहीअनुसारका च्याट विवरण भेटिएपछि प्रहरीले खाणलाई समेत पक्राउ गरेको हो । सोही विषयमा कानुन व्यवसायीले दबाब दिएर खाणको नाम लिन लगाएको दाबी गरेका हुन् । 

केसीले रामबहादुर थापा गृहमन्त्री रहँदा नै भुटानी शरणार्थीका विषयमा कार्यदल गठन भएको भन्दै खाणको भूमिका यसमा नरहेको दाबी गरे । मन्त्रिपरिषद्मा उक्त कार्यदल गठनको प्रस्ताव लानुसमेत कुनै अपराध नभएको उनको भनाइ थियो । 

अर्का वरिष्ठ अधिवक्ता महादेव यादवले समेत षड्यन्त्र र सुनियोजित रूपमा खाणलाई यस प्रकरणमा जोडिएको दाबी गरे । सहअभियुक्तले पोलेकोभन्दा बाहेक खाणविरुद्ध कुनै प्रमाण नरहेको बताउँदै उनले अदालतमा खाणले गरेको बयान कुनै दशीले काट्न सक्ने अवस्था नरहेको बताएका थिए । ‘प्रहरी र अदालत दुवैमा इन्कारी बयान छ । इन्कारी बयानलाई कुनै दशीले काट्न सक्ने अवस्था पनि छैन श्रीमान्,’ उनले भने । 

उनले मन्त्रिपरिषद्बाट भएको निर्णय नीतिगत रहेको भन्दै त्यसलाई नै आधार मानेर मुद्दा दायर गर्नु उचित नहुने तर्क गरे । ‘मन्त्रिपरिषद्मा पेस भएको विषय नीतिगत निर्णय हो । भुटानी शरणार्थी समस्या नेपालको समस्या हो, नेपालले भोग्नुपरेको छ । हरेक सरकारले उनीहरूका बारे सोचेको छ । यसरी नेपाल सरकार वा मन्त्रीले उनीहरूका बारेमा सोच्नुलाई अन्यथा भन्न सकिन्न । नेपालीलाई पठाउनुचाहिँ अपराध हो,’ इजलाससामु यादवले भने ।

सरकारी पक्षले प्रमाण भनी पेस गरेको हिसाबको विवरण पेस गरे पनि त्यसको बरामदी मुचुल्का नरहेको इजलासलाई सम्झाएका थिए । यसैगरी, बयान लिने क्रममा पनि कार्य विधिगत त्रुटि औँल्याउँदै उनले ती बयान कानुनभन्दा बाहिर रहेकाले यस मुद्दामा प्रमाणका रूपमा ग्राह्य नहुने जिकिर गरे । ‘एउटै व्यक्तिको तीन–तीनपटक बयान भएको छ । ततिम्बा (छुटेका विषयमा थप बयान लिने कार्य) पनि होइन । किन तीन–तीनपटक गराइन्छ? रातिराति थप बयान लिन बोलाउने कार्यले यो मुद्दामा फेब्रिकेसन भएको देखाउँछ । नियोजित रूपमा मेरो पक्षको नाम समावेश गराइएको छ । यसको परिणामतः सबै प्रतिवादीको इन्कारी बयान छ,’ वरिष्ठ अधिवक्ता यादवले भने । जबर्जस्ती नाम पोल्न लगाएको बयानलाई इजलासले प्रमाणका रूपमा लिन नहुने उनको भनाइ थियो । 

अधिवक्ता एगराज पोखरेलले पनि पूर्वाग्रहीपूर्ण रहेको भन्दै अभियोगपत्रमाथि प्रश्न गरे । खाणउपरका अभियोग पुष्टि हुने गरी इजलासमा कुनै पनि प्रमाण पेस नभएको तथा राज्यबाट झुटा मुद्दामा कोही नागरिक फसाउन नमिल्ने सर्वोच्चकै नजिर रहेको इजलाससामु बहसका क्रममा बताए । ‘राज्यका सबै मेसिनरी प्रयोगमा ल्याएर स्थापित नै नहुने कसुरमा पूर्वाग्रही ढंगले अभियोगपत्र ल्याएको देखिन्छ । त्यसैबाट राज्य नै लागेको प्रस्ट हुन्छ,’ पोखरेलले भने, ‘मेरो पक्षको नाम जोड्न थप बयान लिइयो । साँच्चै यो कार्य भएकै हो भने पनि चार–चारवटा कसुर लगाउनुपर्ने अवस्था हो र श्रीमान् ? 

अधिवक्ता पंकज कर्णले खाणविरुद्ध थुनामा राख्नुपर्ने कुनै प्रमाण र अवस्था नरहेको जिकिर गरे । विभिन्न नजिर पेस गर्दै उनले घटनामा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुने आधार नभेटिएसम्म इजलासले पुर्पक्षका लागि थुनामा पठाउनु उचित नहुने बताएका थिए । 

न्यायाधीश न्यौपानेको इजलासमा थुनछेक बहस चलिरहेकोमा सबैभन्दा बढी कानुन व्यवसायी खाणका तर्फबाट बहस गर्दै छन् । झन्डै तीन दर्जन हाराहारीले वकालतनामा दिएको उनकै तर्फबाट प्रतिरक्षा गरिरहेका एक कानुन व्यवसायीले बताए । मंगलबार दिनभरि उनका कानुन व्यवसायीको बहस नसकिएपछि बुधबारका लागि समेत उनीहरूलाई समय दिइएको छ । खाणका तर्फबाट मंगलबार मात्रै १० वकिलले बहस गरे । खाणका तर्फबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गर्न बाँकी नै छ । बुधबारसम्म अन्तिम समय दिइए पनि खाणका तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवसायीको संख्या ठूलो भएकाले समय लाग्ने देखिन्छ । 

ad
ad