गर्मी र तातो हावा चलेको अवस्थामा घाममा निस्कनु हुँदैन । दिउँसो निस्कनैपरे पूरै शरीर ढाकिने कपडा लगाएर छाता ओडेर मात्र निस्कनुपर्छ
गर्मी महिनामा तराई क्षेत्रमा चल्ने अत्यधिक तातो हावालाई ‘लु’ भन्ने गरिन्छ । तातो हावाका कारण मानिसको शरीरबाट अत्यधिक पसिना बग्छ र शरीरमा पानी र नुनको मात्रा कम हुन्छ । यसपछि मुटुको धड्कन बढ्ने, टाउको भारी हुने, श्वास फेर्न असजिलो हुने लक्षण देखिन्छन् । बेहोस हुने र अचानक मृत्युसमेत हुने जोखिम रहन्छ । बालबालिका, वृद्धवृद्धा, मोटा मानिस, मधुमेह भएका, मुटुरोगी, दमका रोगी, मिर्गौलाका रोगीलगायत दीर्घरोगीमा ‘लु’को असर धेरै देखिने भएकाले उनीहरूको विशेष ख्याल गर्नुपर्छ । अत्यधिक रक्सी सेवन गर्ने, सधैँ एसी लगाएर चिसोमा बस्ने व्यक्तिमा पनि ‘लु’को असर धेरै देखिन्छ ।
लु लागेका लक्षण
- शरीरको तापक्रम बढ्ने
- टाउको दुख्ने
- चक्कर लाग्ने
- उल्टी हुने
- मांसपेशीको दुखाइ र कडापन
- शरीरबाट धेरै पसिना बग्ने वा पसिना आउन बन्द हुने
- आँखा रातो हुने र पोल्ने
- हातखुट्टा पोल्ने
- मुटुको धड्कन बढेको महसुस हुने
- श्वास फेर्न असजिलो हुने
- पखाला लाग्ने
- मुख सुक्खा हुने
- अत्यधिक थकान
- अनुहार रातो हुने
बच्ने उपाय
- गर्मी र तातो हावा चलेको अवस्थामा घाममा निस्कनु हुँदैन । दिउँसो निस्कनैपरे पूरै शरीर ढाकिने कपडा लगाएर छाता ओडेर मात्र निस्कनुपर्छ ।
- शरीरमा पानीको मात्रा कमी हुन नदिन वेलावेला पानी अथवा झोलिलो कुरा पिउने । चिसो मह–पानी, कागती–पानी, इमिली–पानी, मोही, नरिवलको पानी, सुप–पानी, पुदिना–पानीलगायत पेय प्रशस्त मात्रामा पिउन सकिन्छ ।
- काँक्रो, खर्बुजा, मौसमजस्ता पानीको मात्रा बढी भएका र तुरुन्तै शक्ति प्रदान गर्ने फलफूल खाने ।
- चिया, कफी, रक्सी, बोतलबन्द पेय पदार्थ नखाने ।
उपचार
- बिरामीलाई शीतल ठाउँमा लगेर राख्ने । बाहिरी कपडा शरीरबाट हटाइदिने ।
- बिरामीलाई पंखाको हावामा राख्ने । पंखा नभएमा कपडा अथवा किताब–कापीले हम्कने ।
- सम्भव छ भने शरीरको तापक्रम जाँच गर्ने ।
- शरीरको तापक्रम घटाउनका लागि बिरामीलाई पानीको फोहोरामा राख्ने । दीर्घरोगी, वृद्ध र बच्चाबाहेकलाई गर्दन, काखी, ढाडमा बरफले सेक्नसमेत सकिन्छ ।
- बिरामी होसमा आएपछि पानी र उपलब्ध स्वस्थकर झोलिलो कुरा खान दिने ।
- माथिका उपचार गर्दासमेत बिरामीलाई पूर्ण रूपमा सहज अवस्था आएन भने नजिकको स्वास्थ्य संस्थामा पठाउने ।