१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०८० जेठ १६ मंगलबार १४:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वयंसेवक करार शिक्षक छनोटमा कर्मचारीकै श्रीमतीदेखि भिनाजुसम्म ! 

उपाध्यक्षले सिफारिस गरेका आफन्तको नाम छुटेपछि विरोध 

Read Time : > 1 मिनेट
२०८० जेठ १६ मंगलबार १४:४५:००

बाराको परवानीपुर गाउँपालिका कार्यालयका कर्मचारीले आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको छ।  

कार्यालयका विभिन्न शाखाका प्रमुखले श्रीमतीदेखि भिनाजुसम्मका आफ्ना आफन्तलाई स्वयंसेवक शिक्षक करार सेवामा नियुक्ति गर्न थालेको पाइएको हो। 

गाउँपालिका कार्यालयले गत ०७९ माघ १९ मा बालबालिका, प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक पदमा स्वयंसेवक शिक्षक करार सेवामा भर्ना गर्न आवेदन आह्वान गरेको थियो। 

सोही आवेदनअनुसार गाउँपालिका कार्यालयले स्वयंसेवक करार सेवाका शिक्षक भर्ना गर्न वैशाख १२, १३, १४ र १५ गते लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गरेको छ। 

कार्यालयले वैशाख २१ गते सार्वजनिक गरेको नतिजामा कार्यालयका कर्मचारीहरूले स्वयंसेवक करार सेवा शिक्षकमा आफ्नो आफन्तलाई नियुक्त गर्न थालेको भेटिएको छ। 

विषयगत परीक्षाको नतिजा सार्वजनिक पुस्तिकामा योजना शाखाका प्रमुख रुपेश मण्डलका भिनाजु गेनलाल मण्डल छनोट भएका छन्।

उनको माध्यमिकतर्फ ४ नम्बरमा नाम छनोट भएको नतिजा पुस्तिकामा उल्लेख छ। गेनलाल कलैया उपमहानगरपालिका– ७ निवासी हुन्। 
यस्तै शिक्षा शाखाका स्रोतव्यक्ति रवीन्द्र मिश्राको कान्छी श्रीमती पूजाकुमारी चौधरी छनोट भएकी छिन्। 

उनको मावितर्फ १ नम्बरमा नाम छनोट भएको छ। पूजा सर्लाही बलरा नगरपालिका– ३ निवासी हुन्। मावितर्फ आठवटा सिट संख्याको माग भए पनि ६ जना मात्र छनोट भएका छन्। 

माग संख्याभन्दा कम छनोट

कार्यालयका अनुसार माध्यमिकतर्फ १४ जनाले आवेदन दिएकोमा १० जना मात्र परीक्षामा सहभागी भएको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जानकारी दिए। 

उनका अनुसार चारवटा पदमा माग संख्याभन्दा कम संख्यामा विषयगत परीक्षामा परीक्षार्थी छनोट भएका छन्। 

बालबालिकातर्फ चारवटा सिट माग भएको भए पनि तीनजना छनोट भएका छन्। यस्तै, प्राथमिकतर्फ १२ वटा माग भएको भए पनि ११ जना छनोट भएका छन्। 

निम्नमाध्यमिकतर्फ आठवटा माग भएको भए पनि दुईजना मात्र छनोट भएका उनले बताए। उनले अहिलेसम्म उनीहरूको मौखिक परीक्षाको मिति तय नभएको र प्राविधिक कारणले रोकिएको बताए।
 
यता योजना शाखाका प्रमुख रुपेश मण्डलले कार्यालयले खुलाएको आवेदनअनुसार नै माध्यमिकतर्फ विषयगत परीक्षा दिएर भिनाजु गेनालाल मण्डल छनोट भएकाे बताए। 

शिक्षा शाखाका स्रोतव्यक्ति रवीन्द्र मिश्राले पनि प्रक्रियाअनुसार नै श्रीमती पूजाकुमारी चौधरी छनोट भएको बताए। 

उपाध्यक्षले सिफारिस गरेका आफन्तको नाम छुटेपछि विरोध 

गाउँपालिका कार्यालयले सार्वजनिक गरेको स्वयंसेवक करार सेवा शिक्षकको विषयगत परीक्षाको नतिजा प्रकाशितमा असहमति रहेको गाउँपालिकाकी उपाध्यक्ष सुगन्धी देवीले बताएकी छिन्। 

उपाध्यक्ष देवीका श्रीमान् उमेश गुप्ताका अनुसार स्वयंसेवक करार सेवा शिक्षक छनोट प्रक्रियामा उपाध्यक्षको असहमति रहेको र सार्वजनिक भएको नतिजा सच्याउन माग गरेकी हुन्। 

कर्मचारी स्रोतका अनुसार गाउँपालिका अध्यक्ष राम क्षत्री पटेल र उपाध्यक्ष देवीले सिफारिस गरेको व्यक्तिको नाम विषयगत परीक्षाको नतिजा पुस्तिकामा समावेश नभएपछि विरोध गर्दै आएका छन्। 

उनीहरूले तत्काल नतिजा सच्याउन दबाब दिँदै आएको गाउँपालिकाका एक कर्मचारीले बताए।