१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १४ आइतबार o५:५५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जलहरी प्रकरण : सदनको रेकर्डबाट हटाइयो ओलीमाथि लगाइएको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार o५:५५:oo

पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ । शनिबारको बैठकमा सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । 

सांसद दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीको पालामा भ्रष्टाचारका काण्डैकाण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए । जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको महालेखापरीक्षकको कार्यालयले आफ्नो ५९औँ प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै, यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ ।

तर, एमालेले तथ्यबिना नै आफ्नो नेतालाई भ्रष्टाचार गरेको भनेर आरोप लगाएको भन्दै शुक्रबार सदन अवरुद्ध गरेको थियो । जलहरी बनाइएको विषयमा सरकारले धारणा स्पष्ट पार्नुपर्ने, आरोप लगाउने सांसदले माफी माग्नुपर्ने र आरोप संसदको रेकर्डबाट हटाउनुपर्ने माग एमालेले राखेको थियो । 

जेठमा बजेट सदनमा पेस गर्नुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथिको छलफल नै प्रभावित हुने गरी सदन अवरुद्ध भएपछि एमालेसँग छलफल गरेर जलहरीमा आफ्नो पार्टीका सांसदको अभिव्यक्ति उचित नभएको भनेर स्पष्टीकरण दिने र संसद्को रेकर्डबाट हटाउने सहमति गरेका थिए । 

सहमतिपछि शनिबार साँझ ५ बजे सुरु भएको संसद बैठकको सुरुवातमै बोल्दै प्रधानमन्त्री प्रचण्डले पशुपति विकास कोषसँग क्षेत्राधिकारभित्र पर्ने पशुपतिको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित नभएको बताए । 

‘अख्तियारको समेत छानबिनमा रहेको पशुपति विकास कोषको कार्यक्षेत्रसँग सम्बन्धित पशुपतिको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन रहेकै छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद लेखनाथ दाहालले आफ्नो सम्बोधनमा उल्लेख गरेको ‘स्वास्थ्य सामग्रीको दुई अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । 

एमाले अध्यक्ष ओलीको ‘नीति तथा कार्यक्रम पुनर्लेखन हुनुपर्छ’ भन्ने सम्बोधनको प्रतिवादमा बुधबारको बैठकमा माओवादी सांसद दाहालले ओलीको पालामा विभिन्न काण्डैकाण्ड भएको उल्लेख गरेका थिए ।

‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड आए ? यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्री खरिदको दुई अर्ब भ्रष्टाचार, पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लगाइदिएका भ्रष्टाचारलगायत सयौँ काण्ड छन्,’ दाहालले भनेका थिए, ‘आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले गर्दै छ, नीति तथा कार्यक्रमले जनता अपेक्षा र राष्ट्रिय आवश्यकता प्रतिनिधित्व गर्छ भन्ने लागेर चरम पूर्वाग्रह राख्नुको कुनै अर्थ छैन ।’