१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

टोपबहादुर, सानु र इन्द्रजितले बनाएका थिए शरणार्थी बनाएर पैसा उठाउने योजना 

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:११:oo

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाउने योजना सुरुमा नेता टोपबहादुर रायमाझी र उनीनिकट बिचौलिया सानु भण्डारीले बनाएको खुलेको छ । त्यसका लागि सर्वसाधारणसँग पैसा नै नउठाई सानुले डेढ करोड लगानी गरेका थिए । त्यो पैसा एडभान्सका रूपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलाई दिएका थिए । रायमाझीकै आग्रहमा त्यसरी आफूले सुरुमा डेढ करोड लगानी गरेको भण्डारीको भनाइ छ । 

गृहले इन्द्रजितकै पहलमा ३० जेठ ०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदल गठनलगत्तै दुई दिनपछि २ असारमा त्रिपुरेश्वरको आँगन रेस्टुरेन्टमा लगेर भण्डारीले इन्द्रजितलाई डेढ करोड बुझाएका थिए । जुन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । पछि राईलाई पटक–पटक गरेर थप चार करोड दिइएको थियो । 

सुरुमा भण्डारी र रायमाझीले सल्लाह गरेकोमा पछि इन्द्रजित यो योजनामा थपिएको प्रहरी निष्कर्ष छ । भुटानी शरणार्थीको स्थायी समस्या समाधानका लागि भनेर कार्यदल गठन भएकोमा त्यसमा नेपालीहरूको नाम थप्ने योजना बनेको थियो । जसमा बिचौलियाकै सिफारिसमा गणेशबहादुर केसी सदस्य भए । तर, नाम थप्न भने राई सफल भएनन् । सोही कारण गृह मन्त्रालयमै एकपटक झगडासमेत भएको थियो । जुन कुरा रायमाझीकै बयानमा समेत उल्लेख छ । पछि यो प्रकरणमा पैसा उठाउन विभिन्न बिचौलिया थपिएका थिए । साथै, हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई पनि रायमाझीले नै नियुक्त गरेको पुष्टि भएको छ । 

बयानमा मियाँले भनेका छन्, ‘म हज समितिको अध्यक्ष पदमा टोपबहादुर रायमाझीसमेतको सिफारिसमा नियुक्त भएको हुँ ।’ टोपबहादुरकै निर्देशनमा उनले गृहको गाडी बिचौलियालाई प्रयोग गर्न दिएका थिए । सोही गाडीमा पैसा ओसारपसारदेखि पीडितहरूको विवरण संकलनसम्मका काम भएका थिए । मियाँ पनि हाल मतियारका रूपमा थुनामै छन् । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले पनि चार वर्षअघि नै यो विषयमा टोपबहादुर रायमाझी झापा आएको र त्यसवेला उनीसँग चिनजान भएको बताएका छन् । आफूलाई सानु भण्डारी र केशव दुलालले रायमाझीसँग भेट गराएको उनको भनाइ छ । यो प्रकरणमा सबैभन्दा धेरै पैसा बुझाउने भण्डारी थिए । 

सचिव पाण्डे र बिचौलिया दुलालबीच ह्वाट्सएप संवाद : प्रहरीका सरुवा–बढुवादेखि सुन तस्करीसम्म

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सचिव टेकनारायण पाण्डेको मोबाइलबाट गृह मन्त्रालयमा भएका अन्य अवैध गतिविधिका विवरण पनि प्रहरीले फेला पारेको छ । ह्वाट्सएप च्याटमा बिचौलिया केशव दुलाल र उनीबीच शरणार्थी प्रकरणमा आर्थिक लेनदेनका कुरा मात्र होइन, प्रहरीको अधिकारीहरूको सरुवालगायतका विषयमा पनि छलफल भएको पाइएको छ ।

दुलालले आफूनिकट नेपाल प्रहरीका एक एसपीलाई एसएसपीमा बढुवा गरिदिन भनेका छन् । त्यसबापत उनले ‘केही आर्थिक सहयोग पनि गर्ने’ उल्लेख गरेका छन् । सचिव पाण्डेले ‘हुन्छ’ भनेर जवाफ दिएका छन् । त्यति मात्र होइन, दुलालले विमानस्थलबाट सुन तस्करीको लाइन मिलाइदिन पनि आग्रह गरेका छन् ।

त्यसलाई पनि पाण्डेले अस्वीकार गरेका छैनन् । ‘प्रहरीले नमान्ने भएकाले गाह्रो हुने’ जवाफ दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पाण्डेले नै दुलालसँग आर्थिक लेनदेन गरेका थिए । आफूले एक करोड २४ लाख लिएर तत्कालीन मन्त्री बालकृष्ण खाणलाई बुझाएको उनको दाबी छ ।

अनुसन्धानमा तानिएपछि पाण्डेले सबै च्याट डिलिट गरे पनि प्रहरीले फरेन्सिकबाट रिकभर गरेको थियो । पूर्वगृहमन्त्री खाणको मोबाइलबाट भने डेटा रिकभर गर्न प्रहरीले सकेन । सचिव पाण्डेले बयानमा दुलालसँग यी विषयमा कुराकानी भएको स्वीकार्दै सूचना लिनका लागि आपूmले यसरी कुराकानी गरेको दाबी गरेका छन् ।

खाणलाई हिरासतबाटै सचिव पाण्डेका दुई पत्र 

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर बिचौलियाको बयान फेराउन आग्रह गरेको खुलेको छ । उनले लेखेका दुई पत्र प्रहरीले बरामद गरेको छ । दुवै पत्र खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको थियो ।

‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यू समेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला,’ पहिलो पत्रमा भनिएको छ ।

त्यस्तै, दोस्रो पत्रमा ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ,’ भनिएको छ ।

ती पत्र पाण्डेले नै लेखेको फरेन्सिक जाँचबाट समेत पुष्टि भएको स्रोत बताउँछ । गत २७ वैशाखमा खाण र केसीलाई पक्राउ गर्ने क्रममै प्रहरीले ती पत्र बरामद गरेको हो । पाण्डे भने २० वैशाखमै पक्राउ परेका थिए । पक्राउ परेर बयान दिनुअघि त्यसरी उनले हिरासतबाटै पत्राचार गरेका हुन् ।

पाण्डेले पठाएका दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएकोमा त्यसलाई टेपले टाँसेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र नरेन्द्र केसीबाट बरामद भएको हो । उनको घरबाट बरामद भएको अर्काे एक कागज भने खाणले च्यातेर चपाइदिएको प्रहरी दाबी छ । 

ad
ad