
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन्। नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अलमलिएको उनको भनाइ छ। वाग्लेले नवीनता, ऊर्जा, प्रेरणा र महत्वाकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने बताए।
‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ। हामी भन्छौँ– परम्परा धान्नलाई ल्याइएको दस्ताबेज हो। र, परम्परा धानिएको पनि छ। नवीनता, ऊर्जा, प्रेरणा, महत्वाकांक्षा इत्यादिका कसीमा हामी अझ राम्रो गर्न सक्थ्यौँ होला,’ उनले भने।
सांसद वाग्लेले नीति तथा कार्यक्रममा विकासको साझा रणनीति ‘डिरेल’ भएको दाबी गरे। जेठमा ठूलो आकारको बजेट ल्याउने र माघमा चुपचाप घटाउने गरिएको भन्दै उनले यसपालि यथार्थपरक बजेट ल्याउन सरकारलाई आग्रह गरे।