मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
तेजराज भट्ट काठमाडाैं
२०८० बैशाख २८ बिहीबार ०८:३९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दुई मन्त्रीसहित सुदूरपश्चिम सरकारमा  सहभागी हुँदै नागरिक उन्मुक्ति

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
२०८० बैशाख २८ बिहीबार ०८:३९:००

नागरिक उन्मुक्ति पार्टी दुई मन्त्रीसहित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । काठमाडौंमा गठबन्धका शीर्ष नेताहरूलाई भेटेर फर्केका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्ने तयारी थालेका हुन् ।

सरकारमा सहभागी हुने भएपछि नागरिक उन्मुक्तिले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ । उन्मुक्तिको बुधबारको संसदीय दलको बैठकले रामेश्वर चौधरीलाई दलको नेताबाट हटाएर घनश्याम चौधरीलाई नेता बनाउने निर्णय गरेको हो ।

प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरी र सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । रामेश्वर र लक्ष्मणकिशोर सरकारमा सहभागी हुने भएकाले नेता र प्रमुख सचेतक फेरिएका हुन् । यसअघि दलको नेता रहेका चौधरीले आफूहरू दुईजना सरकारमा सहभागी हुने भएपछि संसदीय जिम्मेवारी अरूलाई दिइएको बताए । दुई मन्त्रीसहित आफ्नो पार्टीमा सरकारमा सहभागी हुन लागेको उनले बताए ।

‘सरकारमा सहभागी हुन संसदीय जिम्मेवारी अरूलाई दिने सहमति पार्टीमा भएको थियो, त्यसैअनुसार जिम्मेवारी हेरफेर गरिएको हो,’ रामेश्वरले भने, ‘विवाद भएर फेरबदल गरिएको होइन ।’ तर, दलको बैठकमा रामेश्वर भने उपस्थित थिएनन् । प्रदेश सभामा नागरिक उन्मुक्तिका सात सदस्यमध्ये पाँचजना उपस्थित थिए । नागरिक उन्मुक्तिले सरकारमा सहभागिताका लागि टीकापुर घटनामा कारागारमा रहेका सातजना रिहा हुनुपर्ने माग गर्दै आएको थियो । यसअघि आफ्नो माग पूरा नभएको भन्दै नागरिक उन्मुक्तिले मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार एक महिनामै ढलेको थियो । प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई भने उसले विश्वासको मत दिएको थियो । नागरिक उन्मुक्ति केन्द्रमा सरकारमा सहभागी छ । 

कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए । २७ माघमा शपथ लिएकै दिन कांग्रेसका प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई आर्थिक मामिलामन्त्री नियुक्त गरेका उनले माओवादी र गठनबन्धनमा आबद्ध अर्को दल नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउन सकेका छैनन् । मुख्यमन्त्री शाहले माओवादीलाई पनि समेटेर सरकार विस्तारको तयारी थालेका छन् । सत्तापक्षमा गठबन्धनका चार दल छन् ।