Skip This
विश्वकप छनोट खेल्ने १० राष्ट्रको टुंगो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार o६:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकप छनोट खेल्ने १० राष्ट्रको टुंगो

सुपर लिगमा बंगलादेशसँग अंक बाँडेको आयरल्यान्ड विश्वकप ग्लोबल छनोट खेल्ने दशौँ राष्ट्र बन्यो । ग्लोबल छनोटमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्दै ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:१६:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना जिम्बावेमा हुने आइसिसी एकविदसीय विश्वकप क्रिकेट प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । आइसिसी विश्वकप लिग–२ को तेस्रो स्थानमा रहँदै नेपाल ग्लोबल छनोटमा पहिलोपटक छनोट भएको हो । नेपालले दुई महिनाअघि नै स्थान पक्का गरे पनि अन्तिम टोलीको छिनोफानो बुधबार मात्र भएको छ । आयरल्यान्ड विश्वकप सुपर लिगको शीर्ष आठभित्र समावेश हुन नसक्दा दक्षिण अफ्रिकाले विश्वकपमा स्थान पक्का गरेको हो । दक्षिण अफ्रिका विश्वकपमा छनोट हुँदा आयरल्यान्ड ग्लोबल छनोटमा झरेको हो । 

आयरल्यान्डको नतिजासँगै विश्वकपमा सीधै खेल्ने आठ र ग्लोबल छनोटको १० राष्ट्रको नाम पक्का भएको हो । आइसिसीले बुधबारै एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्ने १० राष्ट्रले स्थान पक्का गरेको जनाएको छ । सुपर लिगको अन्तिम सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएपछि बंगलादेशसँग अंक बाँडेको आयरल्यान्डले भारतमा हुने विश्वकप छनोटको अवसर गुमाएको हो । 

विश्वकप छनोट १८ जुनदेखि ९ जुलाईसम्म आयोजना हुनेछ । सुपर लिगमा सहभागी रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सले यसअघि नै विश्वकप छनोट खेल्ने पक्का गरेका थिए । अब आयरल्यान्ड दशौँ राष्ट्रका रूपमा थप भएको छ । एकदिवसीय विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड र अफगानिस्तान सीधा विश्वकपका लागि छनोट भएका थिए । आयरल्यान्ड छनोट नहुँदा अब दक्षिण अफ्रिकाले विश्वकपमा सीधै स्थान पक्का गरेको छ ।

 विश्वकप लिग–२ बाट तीन राष्ट्र
आइसिसी विश्वकप लिग–२ बाट तीन राष्ट्रले ग्लोबल छनोटमा स्थान बनाएका थिए । च्याम्पियन स्कटल्यान्ड र ओमान शीर्ष दुई स्थानमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेका थिए । युएई र अमेरिकाले विश्वकपको प्लेअफ छनोटमा शीर्ष स्थानमा रहँदै ग्लोबल छनोट स्थान सुरक्षित गरेका थिए । गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । ग्लोबल छनोटको शीर्ष दुई स्थानमा रहने राष्ट्रले भारतमा आयोजना हुने विश्वकप खेल्नेछन् । 

 सुपर लिगमा दक्षिण अफ्रिका आठौँ स्थानमा
आइसिसीले सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा रोडम्याप बनाएको थियो । सन् २०२० देखि २०२३ सम्म सुपर लिगको शीर्ष आठ स्थानमा रहने राष्ट्र सीधै विश्वकपमा छनोट हुने प्रावधान रहेको थियो । सुपर लिगमा दक्षिण अफ्रिका आठौँ स्थानमा रहँदै विश्वकपमा खेल्ने पक्का गरेको हो । दक्षिण अफ्रिकाले २१ खेलबाट ९८ अंक बटुलेको छ ।

बंगलादेशसँग अंक बाँडेको आयरल्यान्डले २२ खेलबाट ७३ अंक बटुल्यो । आयरल्यान्ड ११औँ स्थानमा छ । सुपर लिगमा नवौँदेखि १३औँ स्थानमा रहेका राष्ट्रहरू आइसिसी ग्लोबल छनोटमा छनोट भएका छन् । यसमा वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छन् । 

 छनोटमा श्रीलंकाको वरीयता माथि
ग्लोबल छनोट प्रक्रियाबाट विश्वकप खेल्ने सपना बोकेको श्रीलंकाको वरीयता माथि रहेको छ । ग्लोबल छनोटमा रहेका १० राष्ट्रमध्ये श्रीलंकाको वरीयता माथि रहेको छ । मे महिनाको आइसिसी एकदिवसीय वरीयतामा श्रीलंका आठौँ स्थानमा रहेको छ । श्रीलंका एकपटकको विश्वकप विजेता हो । सन् १९९६ मा भारतमा भएको विश्वकप फाइनलमा श्रीलंकाले अस्ट्रेलियालाई पराजित गरेको थियो । श्रीलंकापछि वेस्ट इन्डिज दोस्रो स्थानमा छ । एकदिवसीय विश्वकपको पहिलो दुई संस्करणमा ब्याक टु ब्याक उपाधि जितेको वेस्ट इन्डिज पछिल्लो वरीयतामा नवौँ स्थानमा छ । त्यसपछि आयरल्यान्ड ११औँ स्थानमा रहेको छ । 

 ग्लोबल विश्वकप छनोट  खेल्ने १० राष्ट्र
वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, नेपाल, अमेरिका, युएई 

ad
ad