Skip This
नेपालमा खाद्यसंकटको चेतावनी, खाद्यान्न जोहो गर्न विज्ञको सुझाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २२ शुक्रबार १४:४२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा खाद्यसंकटको चेतावनी, खाद्यान्न जोहो गर्न विज्ञको सुझाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १४:४२:oo

विज्ञहरूले यो वर्ष नेपालमा खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

नेपालमा यस वर्षको बर्खायाममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन्। विज्ञहरूले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र बर्खायाममा पनि खडेरी पर्ने हुँदा भोकमरीलगायतका समस्या सिर्जना हुन सक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यसपटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाई पूर्वतयारी थाल्नुपर्ने बताए। उनले गहुँ, धान, मकैलगायतका बाली उत्पादनमा कमी आउने र खाद्यान्न पहिलेभन्दा बढी आयात गर्नुपर्ने स्थिति आउन सक्नेतर्फ सचेत गराए।

‘हिउँदे वर्षा हाम्रो २१ प्रतिशत मात्रै भयो। अत्यन्तै न्यून वर्षा हो। त्यसले ल्याउने भोकमरी, कृषि उत्पादनमा हुने कमी, मैले लिएको जानकारीअनुसार गहुँको मूल्य ह्वात्तै बढेको छ। किनभने यसपटक उत्पादन नहुने देखेपछि व्यापारीहरुले गहुँको मूल्य बढाइसकेका छन्। त्यसको सिधा असर गहुँ आयात गर्नुपर्ने देखियो,’ डा. उप्रेतीले भने।

यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण भएको भन्दै उनले आकाशे खेतीहरू घट्ने उल्लेख गरे। दक्षिण एसिया क्षेत्रमै यसपटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने उनले प्रस्ट पारे। 

यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरूको आकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सचेत रहेको जनाएको छ। बिहीबार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले मौसमविद्हरूको अनुमानलाई मध्यनजर गरेर सरकारले त्यसैअनुसार आवश्यक रणनीति बनाइरहेको बताए।